रञ्जन अधिकारी, पोखरा ११ चैत । जन्म दिने आमाले माया गरिनन्, छाडिन् । तर, झनै बढी माया गर्ने आमा भेटिइन् । दुःख सुख ४ वर्ष उमेर पुग्यो । उनले माया गर्ने आमा बा मात्र होइन, नाम पाइन्, थर पाइन् । उनको नाम सन्ध्या थापा । अब पढ्ने सहारा पनि मिलेको छ । पोखरा १५ स्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीले १२ वर्षसम्म उनलाई पढाउँछ । १० कक्षासम्म शैक्षिक सामाग्री जुटाउने पिरलो पनि हुनेछैन । पाेखरा, फिर्के अवस्थित राेजिना स्टेशनरीले शैक्षिक सामग्री उपलब्ध गराउनेछ ।
विद्यालयका प्रिन्सिपल राजेन्द्रकुमार श्रेष्ठ, भाइस प्रिन्सिपलद्वय चुडामणि सुवेदी र किरण सापकोटा तथा एसओएस बालग्राम गण्डकी योजना निर्देशक भगतकुमार श्रेष्ठले सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी पढाउने जिम्मा लिएका छन् । बालग्राममै राखेर पढाउन भने आमा विभा बिक तयार भइनन् । उनले नै तीन वर्ष अघि २०७३ जेठदेखि छोरी झैं हुकाईराखेकी छिन् । विभा आफै जिल्ला खेलकुद विकास समितिको कार्यालयमा २५ वर्षदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत छिन् । बच्चा हातमा आएपछि पालनपोषणका लागि उनले सहयोगको याचना समेत गरेकी थिईन् ।
सो बारेमा २०७३ मंसिर २३ मा समाचार प्रकाशित भएको थियो । सोहि समाचार हेरेरै विद्यालयले पढ्ने भएपछि जिम्मा लिने सोच बनाएको खुलासा भयो । भाइस प्रिन्सिपल चुडामणि सुवेदीले आर्थिक अवस्था समेत नाजुक रहेको परिवारको संरक्षणमा पुगेकी बालिकालाई पढ्ने वातावरण तयार गर्न विद्यालय अग्रसर भएको बताए । ‘अब १० कक्षासम्म पढाउने जिम्मा विद्यालयले लिन्छ । शैक्षिक सामाग्रीहरु निःशुल्क उपलब्ध गराउनेछौं वैशाखबाट नर्सरी कक्षा सुरु हुनेछ । अहिले डे केयरमा छिन् ।’ सुवेदीले भने ।
(तीन वर्ष अघिको समाचारमा आधारित)
२०७३ जेठमा पोखरा रंगशाला छिर्ने मुल सडक कालोपत्रे गर्ने काम भईरहेको थियो । मजदुरको समूहमा एउटी भर्खरकी युवती छोरी लिएर आएकी थिईन् । जेठको अन्तिमतिर दिउँसोपख ति युवती नजिकै जिल्ला खेलकूद विकास समिति कार्यालय पछाडी पुगिन् र कार्यालय सहयोगी विभा बिकलाई छोरी समाईदिन आग्रह गरिन् । युवती छोरी लिन फर्किनन् ।
विभाले बेलुकीसम्मै युवतीले जहाँ नानी छाडेकी थिईन्, त्यहाँ बसेर बाटो हेरिरहिन् । अहँ, युवती आईनन् । बालवालिका सम्बन्धी ऐन, २०४८ को दफा ४ र ५ ले बालबालिका बाबु आमा वा संरक्षकबाट पालित पोषित हुने अधिकार राख्नेछन् भनिएको छ । तर जिम्मेवारीबाट पन्छिदैं आमाबाट फालिएकी ति नानीको संरक्षकको भूमिका बाध्यताले आईलागेको विभाको पनि आर्थिक अवस्था कमजोर बनेपछि उनको भविष्य अनिश्चित थियो ।
‘पातली पातली भर्खरकी बहिनी छोरी लिएर यहाँ आईरहन्छिन् । एकछिन हेर्नु न दिदी म आईहाल्छु भनेर छोरी थमाएर गईन्’– तीन वर्ष अघि विभाले भनेकी थिइन््– ‘मेरो त गाडी भाडा पनि छैन भनेर ५० रुपैंया समेत लिएर गएकी हो । झोला समेत छाडेर गएकी छिन् । जस्ताको तस्तै राखेको छु ।’ झोलामा भएको अस्पतालको कागजअनुसार नानी जेठमै एक वर्ष पुरा भएकी रहिछन् तर उमेर अनुसार ह्ष्टपुष्ट थिईनन् ।
‘म सँग टाँसिहाली नानी । दुई वटा विस्कुट र पानी सर्लकै खाईन् । आमाचाहिँ आउला भनेर कुरेँ, कुरेँ अहँ आउँदै आईनन् ।’– बिकले त्यो दिन सम्झिईन् – ‘नआएपछि घर लानैप¥यो । नातिनी उमेरकी माया लागिहाल्यो ।’ विभा रंगशाला परिसरमै बस्छिन् । आमाको प्रतिक्षामा रहेपनि हरेक दिन निराश भएपछि वडा प्रहरी कार्यालय रामबजार पनि गईन् । ‘पुलिसले त अर्काको बच्चा अरुलाई नै देउ भन्यो । अब आमाले नै फालेर गईन् त म कता खोज्दै जाउँ ?’ आर्थिक अवस्थाले छोरी पाल्न बिकलाई समस्या भयो ।
दिन बित्दै गयो । स्याहारसुसार गरेसँगै माया बढ्दै गयो । नानीले अहिले बिकलाई एकछिन् छाड्दिनन् । बिकका श्रीमानले नानीलाई झनै माया गर्छन् । ‘चुरोटले पोलेजस्तो कुहिएको टाउको थियो । औषधोपचार गरेँ । दिशापिशाव सुकिसकेको बच्चालाई नुहाईधुवाई गरेँ’– उनले सम्झिन् – ‘म भन्दा बढि स्याहार श्रीमान्ले गर्नुभयो । केहि कुरामा घिन मान्नुभएन । अब त यो नानी कसलाई दिनु ?’ यसो भनिरहँदा युवतीले नानीलाई टाँसो लगाएको ठाउँमै विभा थिईन् । ति नानी भने दुवो ओच्छाईएको भुईंमा खेलिरहेकी थिईन् । धेरैले बच्चा लिन खोजेको भएपनि आफूले नदिएको उनले सुनाईन् । ‘कति जनाले लिएन आए, मैले दिईनँ । उसकी आमा आए त अब मलाई कति गाह्रो होला । कहाँ विक्री गर्छु र ? कुकुरको बच्चा त एक रात राखेसी माया लाग्छ ।’ विभा भक्कानिन् – ‘मेरो श्रीमान मजदुर हो । ठ्याक्कै चार महिना त यही नानी हेर्न पर्दा काममा जान पाउनुभएन । मेरो काम सबै मुन्द्राले भरिएको थियो । बेचेर यत्रो बनाएँ । अब मलाई बच्चा दिन होईन बच्चा पाल्नका लागि कसैले केहि सहयोग गर्छ कि भन्ने आश हो ।’
जिल्ला खेलकूद विकास समिति कार्यालयमा सहयोगी भएर उनले २०५१ सालदेखि काम गरेको कार्यालय प्रमुख प्रकाश बरालले जनाए । विभालाई अब आमा फर्किन्छिन् भन्ने आश छैन । ‘एक दिन पृथ्वीचोकमा देखेँ । छोरी लैजाऊ भनेँ तर होईन भनिन् । बाईकमा पछाडी चढेर हुँईकिन् ।’ विकले भनिन् । अब विक दम्पती पनि नानी नभई नबाँच्ने र नानीले पनि आमा नै ठान्न थालेपछि अरुको जिम्मा लगाउने अवस्था छैन ।
थाहा हुनेले केहि पैसा दिने गरेको जनाउँदै विकले छिमेकीले पनि मनलाग्दी भन्ने गरेको दुःखेसो पोखिन् । ‘पाल्न मन लागेर पालेको भनेको छ । कसैले आर्थिक सहयोग गर्न खोजे पनि कोहिकोहिले अनेक झुट्टा आरोप लगाएर भाँड्दो रहिछन् ।’ फेरि रुँदै उनले थपिन्– ‘आफू पनि सहयोग नगर्ने अनि सहयोग गर्नेलाई पनि व्यक्तिगत लाञ्छना लगाएर भाँड्ने गरेका छन् । यो नानीको भविष्य बनाउन पाए हुन्थ्यो ।’ कोहि मनकारीको सहयोगले नानीलाई आफ्नै संरक्षणमा हुर्काउने उनको ठूलो धोको छ ।
तत्कालिन समय केन्द्रिय बाल कल्याण समितिका बालअधिकार श्रोत व्यक्ति बद्री वाग्लेले यसरी अर्काको बच्चा प्रक्रिया पूरा नगरी राख्नु गैह्रकानुनी भएको बताएका थिए । उनले भने– ‘यो विषयलाई गम्भिर रुपमा हेर्नुपर्छ । बाल कल्याण अधिकारीले संरक्षक तोकेर दिन सक्छ । यसको लागि निश्चित कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । कसैकसैले कानुनलाई छलेर राखेका छन् ।’ बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा २१ मा एकाघरमा कोहि नहुने बालबालिकाको संरक्षणको विषय रहेको र त्यसमा संरक्षक नियुक्ति गर्न सक्ने, यसका लागि विभिन्न शर्त तोकेको वाग्लेले बताए ।
यस्तै, महिला तथा बालबालिका कार्यालयकी बाल संरक्षण अधिकृत बिन्दु भण्डारीले कानुनी प्रक्रिया पुरा गरेर लिन सकिने बताउँदै नत्र राज्यले नै संरक्षण गर्ने बताईन् । ‘संरक्षक हुन सक्ने क्षमता छ भने प्रक्रिया पुरा गर्न सकिन्छ । राज्यको के सहयोग चाहिन्छ हामी तयार छौं । यदि सक्नुहुन्न भने हामीले लिनुपर्ने हुन्छ । अभिभावक खोज्छौं ।’ उनले भनिन्– ‘उसका बाबुआमा फेला नपरेको जानकारी कार्यालयमा दिन र त्यसपछि संरक्षककै आग्रह अनुसार अघि बढ्ने हुँदा नानी पाल्न पाईदैंन कि भनेर नडराउन आग्रह गर्छौं ।’ उनका अनुसार बाबुआमाको टुंगो नलागेका अधिकांशको घटना यस्तै रहने गरेको छ ।
धर्मपुत्रपुत्री राख्ने र धर्मपुत्रपुत्री बस्ने बिचको सम्बन्ध जैविक वा प्राकृतिक सम्बन्ध नभई कानूनबाट स्थापित सम्बन्ध हो । दुई पक्ष बीचमा कानूनले तोकेको सर्तको अधीनमा रहि हुने आपसी सहमतिका आधारमा कानूनबमोजिमको लिखत भएपछिमात्र धर्मपुत्र तथा धर्मपुत्रीको हक र दायित्व सिर्जना हुने गर्दछ ।
http://gandaknews.com/bibha-bk/
सम्बन्धित खबर
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
‘पोखरा एक्स्चेन्ज एण्ड टेस्ट ड्राइभ कार्निभल’ सम्पन्न, २ सय भन्दा बढीले गरे टेष्ट ड्राइभ
१२ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा ‘यूएनभी’
टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै
उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी