लमही । पढाइलाई उमेर र कामले पनि छेक्दैन । दाङ गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी भएको कुराले यही भनाइलाई पुष्टि गर्छ ।
वडा नं ६ निवासी चौधरी जनता उच्च माध्यमिक विद्यालयबाट यस वर्षको कक्षा ८ को परीक्षामा संलग्न भएकी हुन् । कक्षा ५ मा पढ्दापढ्दै विसं २०५३ मा पढाइ छाडेका उनी यसै वर्ष कक्षा ८ मा भर्ना भउकी हुन् ।
‘पढाइलाई उमेरले छेक्दैन भन्ने मान्यतालाई आत्मसात् गर्दैै परीक्षामा सहभागी भएको हुँ’, उनले भनिन् । सानोमा पढ्दापढ्दै छोडेको भए पनि हरेक क्षेत्रमा अगाडि बढ्न पढाइ महत्वपूर्ण हुने भएकाले पुनःपढाइ शुरु गरेको उनको भनाइ थियो ।
‘सानो उमेरमा बुबाले पढ भन्दा भन्दै पनि पढ्न छोडेँ । त्यतिबेला पढेको भए, अहिले धेरै सजिलो हुन्थ्यो’, उनले भनिन् । चार भाइ र चार बहिनीले उच्च शिक्षा अध्ययन गरेपनि आफूले बीचमै पढाइ छोडेको उनको भनाइ थियो । ‘जेठो भाइ मेटमनी चौधरी सांसद हुनुभएको छ’, उनले भनिन् । जनप्रतिनिधि भइसकेपछि पढाइको महत्व बुझेर निरन्तरता दिन लागेको उनले सुनाइन् ।
उ्रनका एक छोरा र दुई छोरीले पनि उच्च शिक्षा अध्ययन गरिरहेका छन् । ‘जेठो छोेराले सब इञ्जिनीयर पढ्छ’, उनले भनिन् , ‘जेठी छोरीले कम्प्युटरमा स्नातक गर्दैछ भने कान्छी छोरीले ल्याब पढिरहेकी छ ।’ उपाध्यक्ष भएर न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा पढाइ नहुँदा धेरै कमजोर बनाउने महसुस गरेकोले यसलाई निरन्तरता दिएको उपाध्यक्ष चौधरीले बताइन् ।
‘राजनीति गर्दा पनि शिक्षा महत्वपूर्ण हुने रहेछ’, उनले भनिन्, ‘त्यसैले राजनीतिक हिसाबले पनि अगाडि बढ्न पढाइलाई निरन्तरता दिएकी हुँ ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले पढेको सुनेपछि आफूलाई पनि पढ्नुपर्छ भन्ने थप भावना पैदा भएको उनको भनाइ थियो ।
धेरै ऐन, नियम, कानून, राजनीतिक दलका विभिन्न पुस्तक तथा व्यवहारिक ज्ञान सिकेकी उनलाई गणित, विज्ञान र अङ्ग्रेजी केही अप्ठ्यारो लागेको छ । अन्य विषय भने सजिलै लागेको छ । गाउँपालिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्नुपर्दा विद्यालय जान नपाए पनि घरमै अध्ययन गरेर परीक्षा दिएको उनको भनाइ थियो । चौधरी तत्कालीन एमालेबाट निर्वाचित भएकी थिइन् ।
१० बजे गाउँपालिका साढे १२ बजे स्कुल
परीक्षा अवधिभर पनि उनले गाउँपालिकाको काम र परीक्षालाई सँगै अगाडि बढाएकी छन् । दश बज्नेबित्तिकै गाउँपालिका पुग्ने उनी दुई घण्टासम्म गाउँपालिकाको काम गर्छिन् भने १२ बजे परीक्षा दिन परीक्षा केन्द्र जान्छिन् ।
एकदेखि ४ बजेसम्म हुने परीक्षा सकेर पुनःगाउँपालिकामा पुगेर काम सकेर घर फर्कने गर्छिन् । ‘परीक्षा अवधिभर परीक्षा र गाउँपालिकाको कामलाई सँगै अगाडि बढाएकी छु’, उनले भनिन् । यो समाचार रातोपाटीबाट साभार गरिएको हो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो