८ वर्षीय बालक जो हात टेकेरै विद्यालय जान्छन्

८ वर्षीय बालक जो हात टेकेरै विद्यालय जान्छन्

balak hat

एजेन्सी । इन्डोनेशियाको वेस्ट जाभास्थित सुकाबुमी नामक एउटा सानो गाउँमा बस्ने आठ वर्षीय बालक अहिले धेरैका निम्ति प्रेरणाका पात्र बनिरहेका छन् । जन्मदै शारीरिक रुपले अशक्त, अब्दुल होलिकका दुवै खुट्टा चल्दैनन् । तर यस कमजोरीलाई उनले कहिल्यै आफ्नो पढाइप्रतिको रुचीमा बाधा पुर्याउन दिएनन् ।

यसरी दुवै हातमा चप्पल लगाएका अब्दुल हात टेकेरै चट्टानयुयक्त भिरालो बाटो हुँदै ६ किलोमिटर टाढा रहेको विद्यालय सम्मको संघर्षपूर्ण यात्रा गर्ने गर्दछन् । यसैले विद्यालयभर उनको बहादुरीको अधिक चर्चा हुने गरेको छ । शारीरिक अशक्ततालाई कहिल्यै आफ्नो कमजोरी बन्न नदिएका अब्दुलले तीन वर्षको हुँदादेखि नै आफूलाई विद्यालय पठाउन बिन्ती गर्ने गरेको आमा पिपिन बताउँछिन् ।

उनले भनिन् , ‘अब्दुल पढ्न सिक्न चाहान्थ्यो र कसरी अरुजस्तै बन्ने भनेर सोध्ने गर्दथ्यो  । तर म आफ्नो अशक्त छोरालाई कहाँ पढाउने भन्नेबारे ठूलो द्विविधामा थिएँ । ’ उनका अनुसार यसै चिन्ताले उनी रातरातभर जाग्ने गर्थिन् । तर केही समयपछि उनले हप्तौँ लगाएर एक विद्यालयको खोजी गरिन् जो अब्दुललाई शारीरिक कमजोरीका बावजुद अपनाउन तयार थियो ।

तर सो स्कुल उनको घरबाट ६ किलोमिटर टाढा भएको हुँदा पहिले त पिपिनले अब्दुललाई स्कुल पठाउन सम्भव छैन भन्ने ठानेकी थिइन् । किनकी त्यो सानो गाउँमा बस लगायत सवारीको कुनै सुविधा थिएन । तरपनि अब्दुल र उनको परिवार यस विषयमा दृढ थिए ।

यसैले उनीहरुले अब्दुललाई बिस्तारै हातले हिँड्न सिकाए र पिपिनको सहायतामा अब्दुल स्कुल जान थाले । अहिले उनी एक्लै सबै भिरालो बाटो पार गर्न सक्षम भइसकेका छन् । अब्दुलका अनुसार उनलाई वर्षायाममा मात्र बाटोहरु चिप्लो र जोखिमयुक्त हुने गरेकाले कठिनाइ हुने गरेको छ ।

त्यसैले ती दिनहरुमा परिवारले उनलाई ट्याक्सी वा मोटरसाइकलमा राखेर लैजाने गरेका छन् । तर एक किलोमिटरको सवारी शुल्क (इन्डोनेशियाको मुद्रा) आइडिआर ७,००० लाग्ने हुँदा परिवारसँग अतिरिक्त पैसा भएका बेला मात्र उनले यस्तो सुविधा पाउने गरेका छन् । परिवारले नसकेको अवस्थामा उनी जोखिम मोलेर वर्षामा पनि हात टेकेरै स्कुल पुग्ने गरेका छन् ।

विद्यालयका प्रधान अध्यापक एपी मुल्यादिले अब्दुलको पहिलो कक्षा सम्झदै आफूले पहिलो दिनमै उनीमा अधिक क्षमता देखेको बताए । पढाइप्रति उनको उत्साह र लगनशीलताले नै आफ्नो मन जितेको हुँदा अब्दुललाई विद्यालयमा भर्ना दिलाउने निर्णय लिएको उनको भनाइ छ ।

उनले भने, ‘उनी भर्ना हुँदा उनकी आमा अत्यन्तै चिन्तित भएकाबारे मलाई राम्रो थाहा थियो । त्यसैले मैले नै उनलाई अब्दुल शारीरिक बाहेक अरु सबै ढङ्गमा सक्षम भएकाबारे सुनिश्चित गराएँ । उसलाई साथीहरुसँग घुलमिल हुनदेखि पढाइमा सबैसँग अगाडि बढ्नमा समेत कुनै समस्या नभएको हामीले देखेका छौँ ।’ त्यस्तै शारीरिक समस्या भएपनि उनी अतिरिक्त क्रियाकलाप र खेलकुदमा सक्रिय रहने गरेको एपिले बताए ।

यसैले पनि अहिले तीन कक्षामा पढ्ने अब्दुललाई सबै शिक्षकहरुले अत्यन्तै एक्टिभ र मिहिनेती विद्यार्थीका रुपमा व्याख्या गरेका छन् । अब्दुल भने विद्यालयमा राम्रो अङ्कले उत्तीण भइ ठूलो शहरको युनिभर्सिटीमा पढाइ पूरा गर्न चाहान्छन् । उनले भने, ‘ मेरो लक्ष्य एउटा आगो नियन्त्रक बन्ने हो किनकी म मानिसहरुको मद्दत गर्न चाहान्छु र मेरा बाबुआमालाई खुसी राख्न चाहान्छु । ’

यसबाहेक उनको चिकित्सक बन्ने सपना रहेको उनले बताए । डाक्टरले पनि दुःख र पीडामा भएकालाई मद्दत गर्ने भएकाले आफूलाई यसमा पनि अधिक रुची रहेको उनले बताएका हुन् । यसरी शारीरिक कमजोरीका बावजुद अब्दुल आफ्नो सपना पूरा गर्न निरन्तर संघर्ष गरिरहेका छन् र सबैका लागि प्रेरणा बनिरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds