होलीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रदेश प्रमुखको शुभकामनाः ‘राष्ट्रिय एकता बलियो होस्’

होलीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रदेश प्रमुखको शुभकामनाः ‘राष्ट्रिय एकता बलियो होस्’

Bidya Devi Bhandari, KP Sharma Oli and Nanda Bahadur Pun

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश प्रमुख बाबुराम कुँवरले सबै नेपालीहरुमा होलीको शुभकामना दिएका छन् ।

छुट्टाछुट्टै सन्देश जारी गर्दै उनीहरुले आपसी सद्भाव र राष्ट्रिय एकतालाई होलीले अझै बलियो बनाओस् भन्ने कामना गरेका छन् ।

राष्ट्रपति भण्डारीले होली पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेकी छन् । सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै राष्ट्रपतिले सबैमा नयाँ उमंग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेकी छन् । होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरुको संरक्षण र प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले होलीको शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपालीमा सुख, शान्ति, सदभाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् । उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले सप्तरंगी जस्तै रंगीन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सदभाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास लिएको छु ।’ उपराष्ट्रपति पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक बनाउन होलीले सबै नेपालीलाई प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली अझ बढी एकतावद्ध हुन जरुरी रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न आग्रह पनि गरेका छन् । होलीको अवसरमा जारी गरिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘देशलाई द्रुत गतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्षमा हामी सम्पूर्ण नेपाली अझ बढी एकताबद्ध हुन जरुरी छ ।’

प्रधानमन्त्री ओलीले फागु पूर्णिमा (होली)ले विभिन्न मातृभाषाका विविध संस्कृति अंगीकार गर्ने सबै जातजातिका सम्पूर्ण नेपालीहरुबीचको सदभाव र सुसम्बन्ध अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्नेछ विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको सबैलाई स्मरण पनि गराएका छन् । उनले सन्देशमा लेखेका छन्ः ‘नेपालभरी र बाहिर पनि खुसीयाली प्रकट गर्दै होली अर्थात पानी र रंग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरि एकपटक हाम्रो राष्ट्रिय संकल्प समृद्ध नेपाल, सुखी नेपालीको स्मरण गर्न चाहन्छु ।’

गण्डकी प्रदेश प्रमुखद्वारा शुभकामना

यसैबीच, गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले रंगहरुको चाड ‘होली पर्व–२०७५’को अवसरमा समस्त गण्डकी प्रदेशवासीलाई शुभकामना दिएका छन् । प्रदेश प्रमुख कुँवरले होलीजस्ता राष्ट्रिय पर्वले भातृत्व, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको समेत बताएका छन् ।

प्रदेश प्रमुख कुँवरले यस्तो बताएका हुन् । शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद् अवसरमा खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने होली पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको प्रदेश प्रमुख कुँवरले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

‘होली पर्वलाई फागु, होली, फागु पूर्णे आदि नामले पुकारिन्छ। तेत्रा युगमा भगवान विष्णुका परमभक्त प्रह्लादसँग जोडेर पनि हेरिन्छ होलीलाई । हिरण्यकश्यपका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनका रुपमा होलि पर्व सुरु भएको इतिहास छ ।

हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ