‘एउटा आतंककारी अमेरिका घुमिरहेको छ’ भन्दै प्रचण्डविरुद्ध अमेरिकामा उजुरी ! (यस्तो छ उजुरी)

‘एउटा आतंककारी अमेरिका घुमिरहेको छ’ भन्दै प्रचण्डविरुद्ध अमेरिकामा उजुरी ! (यस्तो छ उजुरी)

prachanda_sita_plane1

काठमाडौं । दुई दिन अघि अमेरिका उडेका पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डलाई पक्राउको माग गर्दै अमेरिकामा उजुरी परेको छ । पत्नी सीताको उपचारका लागि अमेरिका पुगेका दाहालविरुद्ध केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले उजुरी गरेका हुन्। उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका छन्।

‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएका छन्। उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए। उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए। पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको जोन होप्किन्स अस्पतालमा छन्’ डा‍ श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ।

जनयुद्ध पछि पक्राउ पर्ने डरले पटक पटक अमेरिका जान डराएका प्रचण्ड यस पटक भने निश्चिन्त भएर श्रीमती सीता दाहालको उपचारको लागि अमेरिका गएका थिए । उनी गएकै दिन अमेरिकाको गुप्तचर संस्थामा उनी विरुद्ध उजुरी परेको थियो । उजुरीमा प्रचण्डलाई परिचित आतंकवादी समेत भनिएको छ । उनले जनयुद्धको समयमा १७ हजार नेपालीको ज्यान लिएको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमा समेत रहेकोले उनलाई पक्राउ गरी कारबाही गर्नको लागि आग्रह गरिएको छ ।

यस्तो उजुरी परेपनि अमेरिकामा उनी पक्राउ पर्ने सम्भावना भने कम देखिएको छ । सामान्य अवस्थामा थियो भने प्रचण्ड पक्राउ पर्ने सम्भावना थियो । तर, प्रचण्डले यस पटक भने नेपाल स्थित अमेरिकी दूतावासबाट पूरा विश्वास लिएर गएकोले उनी यस पटक अमेरिकामा पक्राउ पर्ने सम्भावना कम रहेको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रचण्ड अमेरिका उड्नु अघि सानेपा स्थित एक होटलमा प्रचण्ड र अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको वार्तामा बेरीले दूतावासले नो इन्भेष्टिगेसन सर्कुलर जारी गरेपछि अमेरिकामा पक्राउ पर्ने सम्भावना नहुने स्पष्ट पारेका थिए । सो सर्कुलर अमेरिकाको गुप्तचर एजेन्सी, प्रहरी प्रशासन, अध्यागमन लगायत सबै सम्बन्धित निकायमा पठाईन्छ । सो सर्कुलर निश्चित समयको लागि हुन्छ र सो समय सकिएपछि भने ती निकायहरुले सो व्यक्तिलाई समाउन पनि सक्छ । त्यसैले प्रचण्ड यस पटक उजुरी परेपनि अमेरिकामा पक्राउ पर्ने सम्भावना नरहेको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको हो ।

यसअघि नेपाली सेनाका महा सेनानी कुमार लामालाई बेलायतमा यस्तै उजुरीका आधारमा पक्राउ गरिएकाे थियाे। महा सेनानी लामा राष्ट्रसंघीय मिसन अन्तर्गत सुडानमा कार्यरत थिए। आफ्ना परिवारका सदस्यलाई भेट गर्न बेलायत गएको अवस्थामा उनलाई सन् २०१३ मा पक्राउ गरिएकाे थियाे। पछि सरकारकाे पहलमा बेलायतले उनलाई थुनामुक्त गरेकाे थियाे।

यस्तै, द्वन्द्वकालमा मैना सुनारको हत्यामा संलग्न भएको आरोप लागेका सेनानी निरन्जन बस्नेत सन् २००९ मा संयुक्त राष्ट्रसंघीय मिसनबाट फर्काइएका थिए। द्वन्दग्रस्त अफ्रिकी मुलुक चाटमा शान्ति स्थापनाका लागि खटिएको टोलीमा परेका बस्नेत विरुद्ध बिभिन्न मानव अधिकारवादी संघसंस्थाहरुले १५ वर्षीया किशोरी सुनारको हत्यामा संलग्न भएको उल्लेख गर्दै बिरोध गरेपछि राष्ट्र संघको शान्ति स्थापना विभागले फिर्ता गरेको हो।

यस्तो छ प्रचण्डविरुद्ध परेकाे उजुरी पत्रः

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ