नेकपा धादिङ-पोखरा जनसम्पर्क मञ्चमा किचलो

नेकपा धादिङ-पोखरा जनसम्पर्क मञ्चमा किचलो

manch

रञ्जन अधिकारी, पोखरा । माऊ पार्टी एकीकरण हुने बित्तिकै नेकपा एमाले धादिङ-पोखरा सम्पर्क मञ्च र नेकपा माओवादी केन्द्र धादिङ-पोखरा समन्वय समितिबीच एकता भयो । मुलुकभरका सम्पर्क कमिटिमध्ये सबैभन्दा पहिले एकीकरण भएको त्यही नेकपा धादिङ जनसम्पर्क मञ्च, पोखरा अहिले विभाजित बनेको छ । एकीकरणमा असन्तुष्ट भएर दुई पार्टी छिन्नभिन्न भएको भने होइन, एक हुने बेला नेतृत्वका आकांक्षीहरु तदर्थ कमिटिबाट बाहिरिएका हुन् । दुवैतिर तत्कालिन एमाले र माओवादी समर्थकहरु बाँडिएका छन् ।

गत भदौ १६ गते सात सय बढी धादिङेहरु भेला भएर एकीकरण भएको थियो । तदर्थ समितिको संयोजकमा वीरबहादुर थापा चयन भएका थिए । यस्तै, रेशमबहादुर सिंखडा (गोपाल) सह–संयोजक, कृष्ण प्रसाद धरेल सचिव एवं प्रवक्ता र सरोज सिंह कुँवर आर्थिक विभाग प्रमुखमा चयन भएका थिए । थापा एमाले मञ्चका अध्यक्ष, सिंखडा माओवादी समन्वय समितिका अध्यक्ष, धरेल सचिवका साथै कुँवर एमाले मञ्चका कोषाध्यक्ष थिए । दुवै संगठनमा रहेका अन्य सबै नेतालाई तदर्थ समितिको सदस्य बनाइएको थियो । जसमा कूल ७९ सदस्य रहेको मञ्चले जनाएको छ ।

संगठन एकताका लागि दुवै पार्टीका उच्च तहका नेताहरूको पटक–पटक प्रयास भएको थियो । मुख्यतः एमाले मञ्चमै पूर्व सचिव तथा तत्कालिन सल्लाहकार गोकर्ण अधिकारी आकांक्षी थिए । उनले एकीकरणपछि नेतृत्वमा दाबी गरेका थिए तर सम्भव भएन । सहसंयोजक एमाले समूहले पाएको खण्डमा जाने गरी सहमति समेत भएको बताईन्छ । माओवादी समन्वय समितिका सल्लाहकार युवराज खतिवडा पनि सुरुदेखि नै थापा नेतृत्वमा हुने एकीकरणमा असहमति प्रकट गर्दै आएका थिए । धादिङबाट एमाले र माओवादीका नेताहरू गुरु बुर्लाकोटी, रामबहादुर भण्डारी, शिव कंडेल, मनराज भण्डारी सहभागी भएको भेलाले निर्विरोध थापाको संयोजकत्वमा जनसम्पर्क मञ्च गठन गरेको थियो । तदर्थ समिति बनाएर १ वर्षभित्र महाधिवेशन गर्ने गरी एकता घोषणा भएको थियो ।

नेतृत्वसंग शुरुवातीकालदेखि नै असन्तुष्ट रहेकाहरूले यही चैत १ गते एक भेला गरी विधान मस्यौदा निर्देशिका कमिटि गठन गरेको जनाएका छन् । अध्यक्षमा गोकर्ण अधिकारी र सचिवमा युगमराज अगस्थी छन् । अगस्थी एकता हुने बेला पनि सचिवको आकांक्षी थिए । उनीहरूले नेकपा धादिङको निर्देशन बमोजिम संगठन निर्माण गरेको उल्लेख गरेका छन् । लेटरप्याड र आधिकारिक छाप समेत नभएको पत्रमा एमाले र माओवादी नेताहरु भूमि प्रसाद त्रिपाठी र शालिकराम जम्मरकट्टेलको नाम छ । पत्रमा संगठित विधान मस्यौदा प्रस्ताव गर्न अनुरोध गरिएको छ ।

अधिकारी र अगस्थीले सोहि पत्रानुसार जिम्मेवारी लिएपछि कमिटीको उपसंयोजकमा तेज बस्याल र उपसचिवमा लक्ष्मी बस्नेत चयन गरे भने आर्थिक विभाग प्रमुखमा सुरेन्द्र विक चयन गरे । कमिटीको कार्यसमितिमा बुद्धराज बस्याल, राजेन्द्र बस्नेत, भगवती खतिवडा छन् । यस्तै, सल्लाहकारमा युवराज खतिवडा, शम्भु अधिकारी, गोपाल नेपाली र प्रेम नेपाली छन् । तर, आर्थिक विभाग प्रमुख सुरेन्द्र बिक, उपसचिव लक्ष्मी बस्नेत र सदस्य राजेन्द्र बस्नेतले आफूहरुलाई भेला भनेर बोलाएको र समानान्तर कमिटि गठन गरी मनोननयन गरेको भन्दै भोलिपल्टै मूल मञ्चको बैठकमा फर्किएर दस्तखत गरेका छन् ।

यसैबीच, नेकपा धादिङ–पोखरा जनसम्पर्क मञ्चका अध्यक्ष बीरबहादुर थापाले पद नपाएकै कारण असन्तुष्टहरु बखेडा झिकेर घुर्की लगाएको बताए । उनले पार्टीको विधान नै मूल विधान रहेकाले विधानको निहुँ बनाएर आफूखुशी अघि बढेकाले सो कमिटिको कुनै मान्यता नरहने उल्लेख गरे । विधान निर्माणका लागि संगठनले कमिटी बनाएर अघि बढ्ने उनले बताए । थापाका अनुसार तत्काल बैठक बसी ३ जना सदस्यलाई कार्वाही गरेको छ । संगठनका सदस्य गोकर्ण अधिकारी, युगमराज अगस्ती र युवराज खतिवडालाई ६ महिना मञ्चको सदस्य नरहने गरी निलम्वन गरेको जनाएको छ । अध्यक्ष थापाले पार्टीको कास्की र धादिङ जिल्ला कमिटिलाई जानकारी गराइसकिएको बताए ।

यस विषयमा नवगठित कमिटिका संयोजक गोकर्ण अधिकारीले समानान्तर कमिटि गठन गरेको नभई विधान मस्यौदा निर्देशिका कमिटि गठन गरेको प्रतिक्रिया दिए । दिएको जिम्मेवारी पूरा नगरी समय कटाउने मात्र काम भएकाले विधान मस्यौदा निर्देशिका बनाएर संस्थागत हिसाबले अघि बढ्न खोजेको उनको भनाई छ । कमिटिले प्रस्तावित खाका ल्याउने र जिल्ला कमिटि फर्मेशन भएपछिमात्र आधिकारिक मञ्च बन्ने अधिकारीको जिकिर छ । सार्वजनिक भएजस्तो आर्थिक अनियमितताबारे प्रश्न नउठाएको उनको प्रष्टोक्ति छ । यद्यपी, लेखापरीक्षण हुनुपर्नेमा आफूहरुको जोड रहेको अधिकारीले जनाए । उनले सात महिनासम्म पनि विधान मस्यौदा निर्देशिका बनाउन कुनै पहल नभएको, आफूहरुले पहल गर्दा पनि बेवास्ता गरेको आरोप लगाए ।

भेलाका क्रममा आर्थिक समितिको संयोजन गरेका गोकर्ण लम्सालले एकीकृत मञ्च घोषणा सभामा एक लाख ९९ हजार दुई सय पाँच रुपैंया मौखिक रुपमा उठेपनि ८४ हजार दुई सय पाँच रुपैंया मात्र उठेको र दुई लाख ५६ हजार खर्च भएकाले यसमा आर्थिक अनियमितता हुनै नसक्ने बताए । उनले भेलामै अधिकारीले ५ हजार र अगस्थीले १५ सय दिएको जानकारी दिँदै सबैलाई रसिद नै उपलब्ध गराएको जनाए । मञ्चका आर्थिक विभाग प्रमुख सरोज सिंह कुँवरले संकलित रकम भन्दा खर्च रकम बढी भएर पैसा नभएको बेला के को आर्थिक अनियमितता ? भनेर प्रश्न गरे ।

धादिङका चार नेताको समुपस्थितिमा थापा नेतृत्वमा मञ्च गठन भएको र यसलाई कास्की जिल्ला कमिटिबाट पनि सदासयता प्राप्त भईसकेको अवस्थामा यसै कमिटिलाई विधान मस्यौदा निर्देशिकाका लागि पार्टीले दबाब दिनुपर्ने थियो । तर, धादिङका दुई नेताले लेटर प्याड र आधिकारिक छाप विना पठाएको पत्रका कारण कास्कीमा किचलो भएको हो । गठन ताका नै असन्तुष्ट खेमा अहिले विधान मस्यौदा निर्देशिका बनाउन नसकेको कमजोरी अठ्याउँदै अघि बढेको छ । यसलाई नेकपा धादिङ र नेकपा कास्की पार्टीले समयमै पहलकदमी लिन जरुरी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ