पोखरा, ३ चैत । पोखरामा चल्ने सार्वजनिक यातायातमा अब ई–टिकट लागू गरिने भएको छ । दुई महिनापछि यहाँका सार्वजनिक बस तथा ट्याक्सीहरुमा समेत ट्राभल कार्डमार्फत भाडा तिर्ने गरी तयारी थालिएको हो । यसको प्राविधिक व्यवस्थापन गरेको एन.क्लाउड कम्पनी काठमाण्डौ, पोखरा महानगरपालिका र पोखरा स्थित सार्वजनिक यातायात सम्बन्धित संस्थाहरुबीच आइतबार सम्झौता भएको छ ।
पोखराका मेयर मानबहादुर जिसी, एन.क्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र नारायण श्रेष्ठ, पोखरामा क्रियाशील यातायात संघसंस्थाका प्रतिनिधिनले सम्झौतापत्रमा हस्ताक्षर गरे । पोखरामा रहेका पोखरा बस ब्यवसायी समिति सहित पृथ्वी बस व्यवसाय समिति, स्थानीय श्रृंगा यातायात, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस ब्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी ब्यवसायी समितिले ई–टिकेटिङ सिस्टममा जानेछन् ।
के हो ई टिकेटिङ सिष्टम ?
सम्झौता नयाँ वर्ष १ वैशाख, २०७६ बाटै लागू हुने भनिएपनि यसको प्राविधिक व्यवस्थापनका लागि कम्तिमा ६० दिन लाग्ने जनाइएको छ । कम्पनीका सिईओ श्रेष्ठका अनुसार यो प्रविधि सुरु भएपछि ब्यवसायीबाट प्रत्येक यात्रुलाई बिशेष प्रकारको यात्राकार्ड उपलब्ध गराईनेछ । यात्रुले बोकेको त्यही कार्ड गाडीका सहचालकले मेसिनमा ‘टच’ गराउनेछन् । लागेको भाडा कार्डबाट काटिनेछ । नेपाल बैंक लिमिटेडले यसमा सहकार्य गरेको छ । पहिलो चरणमा नगद नै लिएर सहचालकले इ-टिकट प्रदान गर्नेछ भने दोस्रो चरणदेखि यात्रुकार्ड उपलब्ध भइसकेकाहरुले कार्ड टच गरे पुग्छ । जिपिएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ । दोस्रो चरणमा , चढेको ठाउँमा टच गर्ने र झर्दा समेत टच गर्दा आफूले यात्रा गरेको दुरीबमोजिम पैसा काटिने श्रेष्ठले जनाए । तत्काललाई ८ सय सवारीमा यो सिष्टम जडान गरिनेछ ।
काठमाण्डौमा दिगो सार्वजनिक यातायात र साझा यातायातमा यो सिष्टम लागू भइसकेको उनले जानकारी दिए । कार्डलाई १ सय ५० रुपैयाँ पर्ने र एक पटकमा एक हजार रुपैयाँसम्म राख्न मिल्ने श्रेष्ठले जानकारी दिए । मेसिन चलाउने तालिम पनि कम्पनीले दिनेछ । टिकेटिङ सिस्टम जडान र नियमित सुचारु गर्नका लागि कम्पनीले पोखराका प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँका दरले खर्च असुल्नेछ । सबै बसमा लागू भए सेवा झनै प्रभावकारी हुने उनले सुनाए ।
के भन्छन् सरोकारवाला ?
कम्पनीका सिईओ श्रेष्ठ भन्छन् – ‘सबै बसमा सिस्टम भयो र यात्रुसँग कार्ड भयो भने निकै प्रभावकारी माध्यम बन्छ । हामी त्यसका लागि पहल गरिरहेका छौं ।’ पोखरा महानगरका मेयर मानबहादुर जिसीले घरघरमा हुने बस स्टेशन यो ब्यवस्थापछि हट्ने र निश्चित स्टेशन कायम हुने बताए । ‘अहिले घरको ढोका ढोकामा बस रोकिन्छन् । भाडामा ठगिएको गुनासो पनि दिनहुँ सुन्नुपरेको छ’ – उनले भने– ‘अव निश्चित स्टेशन राखिनेछन् । तोकिएको भन्दा बढी भाडा बुझाउनुपर्दैन । कार्ड बोकेर हिडेपछि पैसा हराउने डर पनि रहँदैन ।’
जिसीले पोखराको ट्राफिक ब्यवस्थापनको पहिलो चरणमा कार्ड सिस्टम लागू गर्न लागेको बताए । उनका अनुसार पोखरामा चल्ने गाडीहरुको स्तरवृद्धिमा पनि महानगरले जोड दिएको छ । ‘कालो धुवाँ फाल्ने गाडीलाई रोक्ने पक्षमा महानगर लागेको छ । युरो फोर मापदण्डका गाडी गुड्न थालिसके । हामी चाहिँ पूरानै जमानामा छौं’ – उनी भन्छन् –’ ब्यवसायीसँग समन्वय गरेर गाडीको स्तरीयता कायम गर्ने हो । पोखरालाई पोखराजस्तो बनाउन सडक पनि राम्रो हुनुपर्छ । सडकमा गुड्ने गाडी पनि स्तरीय हुनुपर्छ ।’ सम्झौता बमोजिम पोखरा महानगरले यस पद्धतिको सुरुवात गरिसकेपछि संचालकको अनुगमन तथा कार्यान्वयनका लागि प्रबन्ध मिलाउनेछ ।
तत्काल पोखरा नगरभित्रका गाडीमा जडान गर्ने र पछि लामो दुरीका गाडीमा पनि यो सिस्टम चलाउने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए । ‘यात्रु ठगिने सम्भावना पनि छैन । मालिक नोक्सानमा पनि जाँदैन । गाडीमा काम गर्ने सहयोगीलाई पनि भाडा उठाईरहने झण्झट पर्दैन’ साईले भने–यो सिस्टम निकै प्रभावकारी छ । हामी सबैतिर लागू गर्न पहल गर्नेछौं । यसबाट सबैलाई फाईदा छ ।’
प्रभावकारी कार्यान्वयनमा चुनौती
हाललाई सार्वजनिक सवारीमा लागू गरिने यो सिष्टम सफल भएको खण्डमा महानगरका सम्पूर्ण कामकारबाहीमा समेत प्रयोग गर्न मिल्ने गरी ‘मेट्रो कार्ड’ का रुपमा विस्तार गरिने योजना छ । तर, सवारीसाधनमै प्रभावकारी कार्यान्वयन गर्न ठूलो चुनौति छ । यो कार्ड सबै यात्रुले लिनुप¥यो, सम्पूर्ण सवारीमा कार्ड रिडेबल मेसिन राख्नुप¥यो, यात्रु तथा सहचालकलाई यस सम्बन्धमा ज्ञान हुनुप¥यो । यस्तै, तत्कालको अवस्थामा यो कार्ड हरायो भने यसलाई अरुले प्रयोग गर्न मिल्छ । छिटो भन्दा छिटो बन्द गर्नतर्फ लाग्नुपर्छ । टपअपका लागि पनि अहिले झण्झटिलो छ । बैंकबाट रकम ट्रान्सफर गर्न मिल्ने बनाउन केही समय लाग्ने प्राविधिक कम्पनीले जनाएको छ । मोबाइल एप समेत अहिले बनिसकेको छैन । सम्झौता ४ वर्षसम्मका लागि आइतबार गरिएको छ ।

पोखराका माइक्रोबसमा जीपीएस प्रविधि समेत जडान गरिएको थियो । अहिले यसको प्रयोग र प्रभावकारिता कति छ ? केहि थाहा छैन ।
https://www.mazzakonews.com/pokhara-bus/
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो