संखुवासभा चिचिला गाउँपालिका वडा नं. ४ मत्स्यपोखरीका जंगवीर गुरुङ सन् २०१६ को जनवरीमा कतार गएका थिए । कतार गएको करिब दुई वर्ष भएको थियो, उनलाई करेन्ट लाग्यो । त्यही करेन्टले उनलाई कोमामा पुर्यायो । करिब १९ महिना कतारबाट कोमामै रहेको अवस्थामा गत माघ १ गते नेपाल ल्याइयो र काठमाडौं वसुन्धरास्थित ग्रिनसिटी हस्पिटलमा भर्ना गरियो ।
केही दिन आइसियूमा राखेपछि उनलाई पोस्ट वार्डमा सारियो । अहिले भने जनरल वार्डमा सारिएको छ । तर, उनको अवस्थामा खासै सुधार आएको छैन । उनकी ठूलीआमाका छोरा भीम गुरुङका अनुसार डाक्टरले थप सुधारको सम्भावना अत्यन्तै न्यून रहेको बताएका छन् ।
‘सास रहुन्जेल आस त हुन्छ नै,’ भीमले भने, ‘घरको अवस्था पनि कमजोर छ, घरखेत बेचेर र चिनेजानेका साथीभाइबाट आएको अलि–अलि सहयोगले जेनतेन धानिरहेका छौँ ।’ नयाँ पत्रिका दैनिकका लागि गाेपाल साउदले खबर लेखेका छन् ।
वैदेशिक रोजगार बोर्डले विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगको सहयोगमा संकलन गरेको तथ्यांकअनुसार विभिन्न ८ देशका अस्पतालका कोमामा ३ महिला र २१ पुरुष गरी २४ जना छन् । कोमामा सबैभन्दा बढी नौजना नेपाली कामदार कतारका अस्पतालमा रहेका छन् । उनीहरू सबै पुरुष रहेका छन् ।
त्यस्तै साउदी अरेबियामा १ जना महिला र ४ जना पुरुष गरी ५ जना, कुवेतमा १ महिला र ३ पुरुष गरी ४ जना, बहराइनमा ४ जना, युएई र ओमनमा १–१ जना कोमामा छन् । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार कोमामा रहेकालाई स्वदेश फिर्ता गरी उपचारको व्यवस्था मिलाउन सम्बन्धित मुलुकस्थित नियोग, परिवारका सदस्यहरू र सरकारी अस्पतालहरूमा समन्वय गर्ने कार्य भइरहेको छ ।
अंगभंग र गम्भीर बिरामी २०१ जना
चालू आवको ८ महिनामा वैदेशिक रोजगारीमा गएका २ सय १ जना नेपाली कामदारको अंगभंग भएको तथा गम्भीर बिरामी परेका छन् । जसमा ६ जना महिला छन् । उनीहरूलाई क्षतिपूर्ति र राहतस्वरूप ४ करोड ३८ लाख ६६ हजार ५० रुपैयाँ उपलब्ध गराइसकिएको बोर्डले जनाएको छ ।
वैदेशिक रोजगारीमा गएका कामदारका परिवारलाई स्वास्थ्य उपचारस्वरूप ८ लाख १५ हजार रुपैयाँ दिइएको छ । त्यस्तै बोर्डले विभिन्न देशमा गएका ४ जना महिलासहित ८९ जनाको खोजतलास गरी उद्धारसमेत गरेको छ । जसमा २५ लाख रुपैयाँ खर्च भएको छ ।
८ महिनामै भित्रिए ५०४ शव
बोर्डको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ८ महिनाको अवधिमा वैदेशिक रोजगारीमा विभिन्न मुलुक गएका ५ सय २४ कामदारको मृत्यु भएको छ । जसमध्ये ५ सय ८ जना पुरुष र १६ जना महिला रहेका छन् । मृतकका आफन्त तथा हकवालालाई बोर्डले ३४ करोड २५ लाख ८० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।
त्यस अवधिमा बोर्डले विभिन्न मुलुकबाट ५७ जनाको शव आफ्नै खर्चमा झिकाएको छ । जसमा ६९ लाख ४९ हजार ७ सय ६ रुपैयाँ खर्च भएको छ । त्यसबाहेक ९ जना महिला र ५ सय १० जना पुरुष कामदारको गरी ५ सय १९ शव सम्बन्धित परिवारको घरसम्म पुर्याउन १ करोड २ लाख १३ हजार ६ सय ६७ रुपैयाँ लागेको बोर्डले जनाएको छ । गत आवमा वैदेशिक रोजगारमा गएका १४ महिलासहित ६ सय ८६ जनाको मृत्यु भएको थियो ।
१९ महिलासहित ५४५ जेलमा
बोर्डको तथ्यांकअनुसार विभिन्न देशका जेलमा रहेका नेपालीको संख्या ५ सय ४५ रहेको छ । जसमा १९ जना महिला र ५ सय २६ जना पुरुष रहेका छन् । मलेसियाका मात्रै २ जना महिलासहित २ सय ५ जना नेपाली जेलमा छन् । त्यसपछि क्रमशः युएईमा १२ महिलासहित १ सय ८५ जना, कुवेतमा ३ महिलासहित ५८ जना, साउदी अरेबियामा ५४ जना, कतारमा ३५ जना, बहराइनमा ५ जना र ओमनमा २ महिलासहित ३ जना जेलमा छन् ।
बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जेलमा परेकाहरूका लागि कानुनी सहायता उपलब्ध गराउने कार्यका लागि प्रयास भइरहेको बताए । बोर्डले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा, राहत तथा उद्धारलगायतका विषयमा काम गर्दै आएको छ ।
सेवाग्राहीलाई थप चोट नपुर्याउन मन्त्री विष्टको निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कामदार तथा कामदारका परिवारलाई थप मानसिक चोट नपुग्ने गरी सेवा प्रदान गर्न वैदेशिक रोजगार बोर्डका कर्मचारीलाई निर्देशन दिएका छन् । शुक्रबार बोर्डको बबरमहलस्थित नयाँ कार्यालयको निरीक्षणमा गएका मन्त्री विष्टले कार्यालयको ठेगाना मात्रै परिवर्तन भएर नपुग्ने भन्दै सेवा प्रवाहको तरिकामा पनि उल्लेखनीय सुधार आवश्यक रहेको बताए ।
वैदेशिक रोजगारमा जाने कामदारलाई दिइएको अभिमुखीकरण तालिम प्रभावकारी नभएकोतर्फ संकेत गर्दै उनले भने, ‘गर्मीमा काम गर्दा बढी पानी पिउनुपर्छ भन्ने सामान्य चेतना दिन नसक्दा वैदेशिक रोजगारमा गएका धेरै श्रमिकमा मिर्गौलाको समस्या देखिएको छ, यस्ता स–साना विषयमा ध्यान दिँदा पनि धेरै मानवीय जोखिम कम गर्न सकिन्छ ।’
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी