महानगरको आदेश वेवास्ता गर्दै प्याराग्लाईडिङ कम्पनी, अझै मानेनन् कर तिर्न

महानगरको आदेश वेवास्ता गर्दै प्याराग्लाईडिङ कम्पनी, अझै मानेनन् कर तिर्न

paraglyiding

पोखरा । पोखरामा सञ्चालित प्याराग्लाईडिङ कम्पनीले महानगरको आदेशलाई वेवास्ता गर्दै एक हप्तासम्म पनि कर बुझाउन अटेर गरेको छ ।

गत हप्ता महानगरले महानगरभित्र सञ्चालित सबै प्याराग्लाईडिङ कम्पनीलाई दर्ता नविकरण गर्न दिएको एक हप्ताको समय सकिएपनि कम्पनीहरुले अहिलेसम्म उक्त आदेशलाई अटेर गरेका हुन् ।

‘अधिकांस महानगरमा उपस्थीत भएका छैनन्’ महानगर बरिष्ठ आलेप अधिकृत रामनाथ उपाध्यायले भने, ‘कुनै कम्पनीहरु त सम्पर्कमै आएका छैनन् । सम्पर्कमा आएका कम्पनीहरुले कर तिछौँ भनेका छन् ।’

अधिकांस कम्पनीले २०७२ सालदेखि नै महानगरमा स्वीकृती बिना प्याराग्लाईडिङ उडाईरहेका छन् । प्रत्येक कम्पनीले ८६ हजारका दरले कर बुझाउन बाँकी रहेको अधिकृत उपाध्यायले बताए ।

गत हप्ताको मंगलबार महानगरले कर नतिर्ने र महानगरमा दर्ता नभएका कम्पनीलाई प्याराग्लाईडिङ उडान बन्द गर्ने चेतावनी सहित एकहप्ता भित्रै कर तिर्न भनेको म्याद सकिँदासम्म १० वटा कम्पनीले मात्रै कर तिरेका छन् ।

कर बुझाउने कम्पनी मध्यमा माउण्ट भ्यू प्याराग्लाईडिङ, मुनाल, ब्लु स्काई, हिमालय मिसन टु हिमालय, पिस हिमालय, फिनिक्स प्याराग्लाईडिङ एण्ड एडभेञ्चर, टिम फाईभ नेपाल, न्यू प्यारा प्रालि, अल्ट्रालाईट प्याराग्लाइडिङ र फ्लाई निर्वाणा प्याराग्लाईडिङ कम्पनीले मात्रै हालसम्म कर बुझाएको महानगरले जनाएको छ ।

‘हप्ता दिनमा १० वटा कम्पनीले मात्रै महानगरमा कर बुझाए । बाँकी केही कम्पनी सम्पर्कमा आएका छन्, वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले भने, ‘अझै पनि कर नतिर्ने धेरै कम्पनी बाँकी नै छन् । एक दिन म्याद थप्ने कुरा भैरहेको छ ।’

उनका अनुसार ५६ वटा कम्पनी दर्ता रहेको पोखरामा ४० हाराहारीमा मात्रै सक्रिय छन् ।
महानगरले दिएको समयमा कर नतिर्ने कम्पनीलाई म्याद थप गरी तिर्न लगाउने वा कारवाही गर्ने भन्ने बिषयमा बुधबार (आज) बसेको बैठकबाट मात्रै निर्णय हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ