सरकारको निर्णयले विप्लव नेतृत्वको नेकपालाई घाटा नहुने दावी, भन्छन् : ‘सरकारले फासीवादी चरित्र देखायो’

सरकारको निर्णयले विप्लव नेतृत्वको नेकपालाई घाटा नहुने दावी, भन्छन् : ‘सरकारले फासीवादी चरित्र देखायो’

biplop mahobadi

काठमाडौं– विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएर सरकारले फाँसीवादी चरित्र देखाएको नेकपाले प्रतिक्रिया दिएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठक आपराधिक संगठनको रुपमा रहेको भन्दै विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णय सार्वजनिक भएसँगै विप्लव नेतृत्वको नेकपाका स्थायी समितिका एक जना सदस्यले नाम नबताउने सर्तमा भने,‘सरकारले फासीवादी चरित्र देखाएको छ, यसमा हामी आश्चर्यमा परेका छैनौं ।’

उनले गत माघ महिनामा बसेको पार्टीको केन्द्रीय समितिले केपी ओली नेतृत्वको सरकार फासीवादी सरकार भएको र यसले आफ्नो चरित्र देखाउने विषयमा छलफल भएको बताए ।

उनले सरकारले नेकपामाथि लगाएको प्रतिवन्धको सशक्त प्रतिकार गर्ने बताए । ‘यसको सशक्त प्रतिरोध हुन्छ, यसअघि सार्वजनिक भएका आन्दोलनका कार्यक्रमहरु यथावत रहन्छन्’ उनले भने,‘पार्टीमा छलफल गरेर नयाँ धारणा सार्वजनिक हुन्छ र नयाँ कार्यक्रम पनि चाँडै घोषणा हुन्छ ।’

सरकारको निर्णयले विप्लव नेतृत्वको नेकपालाई कुनै घाटा नपुग्ने उनले दावी गरे । उनले भने,‘सरकारको यो निर्णयले हामीलाई कुनै घाटा पुग्दैन बरु सरकारकै चरित्र उदांगो भयो ।’

उनले आन्तरिक जनसरकार बनाउने काम भइरहेको र अव जनसत्ता बनाउँदै जाने बताए ।

प्रतिवन्ध लगाउने सरकारको निर्णय 

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूह आपराधिक संगठनको रुपमा रहेको भन्दै प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

विप्लव नेतृत्वको नेकपाको पछिल्ला गतिविधि हिंसात्मक भएको, शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै मन्त्रिपरिषद् बैठकले प्रतिवन्ध लगाएको एक मन्त्रीले भने ।

‘विप्लव समूहको पछिल्लो गतिविधि हिंसात्मक भएको र शान्तिसुरक्षा अमन चयनमा समेत असर पर्ने खालका भएका कारण मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वमा रहेको नेकपा भन्ने समूहमाथि प्रतिवन्ध लगाइउने निर्णय भएको छ’ उनले भने ।

पछिल्ला केही दिन यता विप्लव नेतृत्वको नेकपाले राजधानी केन्द्रित विस्फोट गराएको थियो ।

एनसेलको कार्यलयमा भएको बम विस्फोट नेकपाले गराएको थियो भने शुक्रवार राति वैदेशिक रोजगार विभागका अध्यक्ष रोहन गुरुङको सामाखुसीस्थित निवासमा बम विस्फोट गराएको थियो ।

त्यस्तै विभिन्न जिल्लाका स्थानीय सरकारका जनप्रतिनिधिलाई राजीनामा दिन धम्की दिएको समाचारहरु सार्वजनिक भएपछि सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएको हो ।

यो समाचार khabarhub बाट साभार गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ