विजयपुर पुल बनाउनेमाथि कारबाही माग, ११ वर्षमै पक्की पुल खत्तम हुन्छ ?

विजयपुर पुल बनाउनेमाथि कारबाही माग, ११ वर्षमै पक्की पुल खत्तम हुन्छ ?

Bijayapur-pul-ma-cm-gurung

पोखरा । साविक लेखनाथ नगरपालिकाबाट पोखरा भित्रने विजयपुरखोलाको पुल ११ वर्षमै जीर्ण बनेपछि त्यसको निर्माण कम्पनी र स्वीकृत गर्ने अधिकारीमाथि छानबिन हुनुपर्ने माग उठेको छ । गण्डकी प्रदेश सभाको आइतबारको बैठकमा अधिकांश सांसदले उक्त माग उठाए । अन्नपूर्ण आधार शिविरमा हिमपात र हावाहुरीबाट भएको क्षतिका पीडितलाई राहत उपलब्ध गराउन, हिमपातबाट उपल्लो मुस्ताङमा चौरी र याक तथा भेडाबाख्रा किसानलाई क्षति पुगेको हुँदा राहतका लागि प्रदेश सरकारसँग माग गरे ।

सभाको विशेष समयमा बोल्दै सांसद दीपक कोइरालाले कमसल सामग्री प्रयोग भएको भए उत्पादकलाई समेत कारबाही गरिनुपर्ने माग गरे । उनले भने, ‘पुल निर्माण गर्ने कम्पनी र स्वीकृत गर्ने अधिकारीलाई बोलाएर जवाफ माग्नुपर्छ ।’ उनले विजयपुर पुल ११ वर्षका लागि नबनेको पनि बताए । पोखराको लाइफ लाइन अवरुद्ध हुँदा थुप्रै भौतिक विकास निर्माणका सामग्री भित्रन नपाएको सुनाए । कोइरालाले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्माण सामग्री पनि रोकिएका छन्, त्यसको निर्माणमा पनि असर परिसकेको छ ।’

बर्खा लाग्नुअघि नै वैकल्पिक बेलिब्रिज निर्माण गर्न पनि सांसद कोइरालाले माग गरे । नेकपाकै सांसद मनबहादुर गुरुङले राजमार्गहरुमा बन्ने पुलहरुको आयु १ सय वर्ष हुनुपर्ने औंल्याए । उनले भने, ‘कोरियामा सय वर्षका लागि बनाएको पुल ६० वर्षमै बिग्रेपछि त्यो बनाउनेहरुमाथि कारबाही भएको थियो ।’

कांग्रेस सांसद बिन्दुकुमार थापाले पनि विजयपुर पुल बिग्रँदा पोखरालाई प्रभाव पारेको सुनाए । उनले भने, ‘दैनिक ६ हजार गाडी ओहोरदोहोर गर्ने पुलमा हेभी गाडी रोकिएपछि गाँडीको ताँती कोत्रेसम्मै लागिसकेको छ ।’

अर्का नेकपा सांसद राजीव पहारीले पुल निर्माणमा लापरबाही गरेका माथि कारबाही गर्न प्रदेश र संघ दुवै सरकारको ध्यानाकर्षण गराए । उनले स्वतन्त्र मधेस गठबन्धनका नेतालाई सरकारले मूलधारमा ल्याउनसक्नु सकारात्मक भएको बताए । उनले त्यसो भन्नुअघि कांग्रेस सांसद मेखलाल श्रेष्ठले सिके राउतसँग सरकारी सम्झौताले झस्काएको बताएका थिए । उनले जनमत संग्रह गरेर मधेसलाई अलग पार्न खोजिएको आरोप पनि लगाएका थिए । तर पहारीले भने, ‘गुट अलग भएकैले अरुका धारणा के आउँछन् म जान्दिनँ तर राउतसँगको सम्झौतालाई कांग्रेस सभापति देउवाले पनि स्वागत गरिसक्नुभएको छ ।’

पहारीले अन्नपूर्ण आधार शिविरमा हिमपात र हावाहुरीबाट भएको क्षतिका पीडितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग मागसमेत गरेका थिए । सांसद पहारीले प्रदेश सरकारबाट छुट्याइएको १० करोड रुपैयाँ खर्चेर बर्खाअघि नै फेवातालको मुहान क्षेत्रमा बाँधहरु बनाउनुपर्नेमा जोड दिए ।

कांग्रेस सांसद मेखलाल श्रेष्ठले महँगी, भ्रष्टाचार र अपराध बढ्दा पनि सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाए । नेकपा सांसद इन्द्रधारा विष्टले हिमपातबाट उपल्लो मुस्ताङमा चौरी र याक तथा भेडाबाख्रा किसानलाई क्षति पुगेको हुँदा राहतका लागि प्रदेश सरकारसँग माग गरे ।

प्रदेश सभाको आइतबारको बैठकले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ । विधेयक फागुन २३ गते प्रदेश सभामा प्रस्तुत भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव आइतबार पेस गरेका थिए । त्यसमाथि सामान्य छलफलसमेत भयो । सांसद मीनप्रसाद गुरुङ, डोबाटे विश्वकर्मा, मित्रकुमारी गुरुङ सुवेदी र धनमाया लामा पोखरेलले छलफलमा भाग लिए । त्यसपछि उक्त विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने प्रस्ताव पारित भएको थियो । प्रदेश सभाको अर्काे बैठक सोमबार अपराह्न २ बजे बस्दैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds