मधेशमा प्रचण्ड र माधवलाई फूलको माला, ओलीको गला रित्तै

मधेशमा प्रचण्ड र माधवलाई फूलको माला, ओलीको गला रित्तै

kp oli vs parchanda

सत्तारुढ नेकपाको वरियतामा पहिलो, दोस्रो र तेस्रो नम्बरमा रहेका तीन शीर्ष नेताहरु क्रमश अध्यक्षद्वय केपी शर्मा ओली–प्रचण्ड र माधव नेपाल शनिबार दिउँसो रौतहटको गरुडा पुगे।

नेकपाको प्रदेश–२ कमिटीले आयोजना गरेको आमसभाका लागि उनीहरु गरुडा पुगेका थिए। नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेर तीनै नेताहरु गरुडाको आमसभाका लागि ओर्लेका थिए।

एमाले–माओवादी केन्द्रबीच एकताअघि पार्टीका शीर्ष नेताहरु एउटै सवारी साधनमा यात्रा गर्दैनथे। त्यो परम्परा एमाले–माओवादी केन्द्रबीच एकता भएपछि तोडिएको छ।

नेकपा बनेपछि तोडिएको त्यो परम्परा नेता नेपालको गृहजिल्ला रौतहटमा आयोजित आमसभाका लागि शीर्ष नेताहरु जाने क्रममा थप विस्तार भयो। तीनै नेताहरुले एउटा हेलिकोप्टर प्रयोग गरे।

३ जेठ २०५० भएको दासढुङ्गा दुर्घटनामा तत्कालिन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएपछि एमालेका शीर्ष नेताहरु कतै जाँदा एउटै सवारी साधन प्रयोग गर्दैनथे।

दुर्घटना भइहाल्यो भने दासढुङ्गामा जस्तो शीर्ष नेताहरु एकै घानमा नपरुन् भनेर यस्तो सतर्कता अपनाइने गरिन्थ्यो। र, कुनै कार्यक्रममा जाँदा नेताहरुले फरक फरक सवारी साधन प्रयोग गर्थे।

तर, एमाले–माओवादी केन्द्रबीच चुनावी गठबन्धन र पार्टी एकता भएपछि शीर्ष नेताहरुले एउटै सवारी साधन प्रयोग गर्न थाले। निर्वाचनका क्रममा शीर्ष नेताहरुले एउटै सवारी साधनमा यात्रा गर्न थाले।

एउटै साधनमा सवार भएर यस्तो यात्रा अध्यक्षद्वय ओली र प्रचण्डले गरे। यसैगरी प्रचण्ड र नेपाल पनि यसैगरी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालले पनि एउटै सवारी साधनमा यात्रा गरेका छन्।

सुरक्षा सतर्कता अपनाउँदै शीर्ष नेताहरुले एउटै हेलिकोप्टर प्रयोग गरेको मात्र होइन, रौतहटमा अर्काे एउटा ‘अनौठो’ दृष्य पनि देखियो। त्यो थियो, प्रम समेत रहेका अध्यक्ष ओलीलाई भन्दा अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालले अलिक बढी सम्मान पाएजस्तो दृष्य।

सभास्थलको मञ्चमा ओली, प्रचण्ड र नेपाल क्रमशः बायाँबाट दायाँ हुँदै ‘विराजमान’ थिए। यी तीन शीर्ष नेतामध्ये प्रचण्ड र नेपालको गलामा पूर्णरुपमा फक्रिएका सयपत्री फूलको माला थियो।

अझ कार्यक्रममा उपस्थित जनसमूहको स्वागतका लागि नेतात्रयले उठेर हात हल्लाउँदा प्रचण्ड र नेपालको गलामा मात्र होइन, हातमा समेत सयपत्री फूलका माला झुण्ड्याएका थिए।

यसका विपरित ओलीको न गलामा माला थियो, न त हातमा नै। उनको गलामा आयोजकहरुले खादाको रुपमा पहिराइदिएको गम्छामात्र थियो। यस्तो गम्छा प्रचण्ड र नेपाललाई पनि पहिराइएको थियो।

कुनै जिल्ला वा कार्यक्रममा जाँदा नेताहरुलाई गह्रौँ खालका माला लगाएर ‘चाकडी’ गर्ने नेपाली परम्परा नै बनिसकेको छ। जति आलोचना भएपनि न आयोजकहरुले यस्ता माला लगाइदिन छाडेका छन्, न त नेताहरुले नै ‘यस्तो नगर्नुस्’ भनेर सुझाव दिने गरेका छन्।

गह्रौँ खालका फूलको माला लगाएर ‘चाकडी’ गर्न पाउँदा आयोजकहरु र मालाबाट ‘सम्मानित’ हुन पाउँदा नेताहरु दुबै मख्ख पर्ने गरेका छन्।

ओली यो परम्पराबाट मुक्त हुन खोजेकाले प्रचण्ड र नेपालले फूलको माला लगाउँदा उनले नलगाएका हुन्? वा अपेक्षाकृत बढी ‘मधेशमैत्री’ मानिएका प्रचण्ड र नेपाललाई बढी सम्मान गरेर ‘मधेश विरोधी’ का रुपमा प्रचारित ओलीलाई चाहिँ सयपत्रीको मालाले स्वागत नगरिएको हो?

जानकारी अनुसार, प्रचण्ड र नेपालले जस्तै ओलीले पनि कार्यक्रमस्थलमा हेलिकोप्टर झर्नासाथ फूलको मालाबाट स्वागत पाएका थिए। तर, उनले लामो समय ती माला घाँटीमा लगाएनन्।

फूलको मालामा विभिन्न खालका किटाणु हुन सक्ने र कमजोर स्वास्थ्यस्थितिका ओलीलाई संक्रमण हुनसक्ने भयका कारण सत्रपत्रीको माला पाउनासाथ उनले त्यसलाई घाँटीबाट निकाले। गम्छा चाहिँ अन्तिम अवस्थासम्म उनको गलामा झुण्डिरह्यो।

तर, प्रचण्ड र ओलीलाई त्यो समस्या नरहेकाले उनीहरुको गलामा चाहिँ गम्छाका साथ सयपत्रीको माला अन्तिम अवस्थासम्म रहिरह्यो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ