पोखराको बिजयपुरको पुल जोखिममा

पोखराको बिजयपुरको पुल जोखिममा

bijayapur-ko-pull

साविक लेखनाथ नगरपालिकाबाट पोखराको मुख्य सहरी भाग जोड्ने विजयपुर खोलामाथिको पुल चर्किएको छ । पृथ्वी राजमार्गबाट मुख्य बजार प्रवेश गर्ने निर्विकल्प पुल धरापमा परेपछि भारबाहक गाडी आउजाउमा समस्या उत्पन्न भएको छ । पुल ७ ठाउँमा चर्किएको छ । पुलका बटमकड ७ ठाउँमा चर्किएको र क्रस मेम्बर १ वटा भाँच्चिने खतरा छ । पुल चर्किएर जोखिम बढेपछि सडक डिभिजन कार्यालयले १० टनभन्दा माथि भार बोकेका सवारी साधन आवतजावतमा रोक लगाएको छ । समाधान दैनिकका लागि विकास रोका मगरले लेखेका छन् ।

७४.२ मिटर लामो पुलको तत्काल मर्मत नगरे चाँडै भत्किने सम्भावना रहेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । ‘पुलमा खिया लाग्न र रङ खुइलिन थालेपछि रङ लगाउन थालेका थियौं । त्यहीबेला पुल जोखिममा भेट्यौं,’ कार्यालय प्रमुख हरिकुमार पोखरेलले भने, ‘बेलैमा पुननिर्माण नगर्ने हो भने पुल भत्किने सम्भावना छ ।’

कार्यालयले पुलमा टेको लगाएरै चर्किएका ठाउँमा मर्मत गरिरहेको भएपनि तत्काल स्थायी मर्मत भने गर्न नसकिने जनाएको छ । ‘आवतजावतका लागि अन्य वैकल्पिक पुल छैन । स्थायी पुल बनाउन लामो समय लाग्ने देखिन्छ,’ पोखरेलले भने, ‘हामीले अहिले कसरी छिटो हुन्छ, तत्काल अस्थायी तरिकाले बनाउने कोसिस गरिरहेका छौं ।’

पुलको पुननिर्माण र लागतबारे अध्ययन गर्न शुक्रबार १ टोली आएको थियो । टोलीले अध्ययन प्रतिवेदन बुझाउन पनि १ महिना लाग्ने देखिएको सडक डिभिजन कार्यालयले बताएको छ । ‘अध्ययन टोलीले रिपोर्ट दिन पनि लामो समय लगाउने देखियो । त्योभन्दा समस्या निम्तिन नदिन अस्थायी प्रक्रियामा लागेका हौं,’ पोखरेलले भने । पुलमाथि भार क्षमता कम बनाएर काम सक्न महिनादिन लाग्ने उनले जनाए ।

पुलको अध्ययन गर्न पुल महाशाखाको सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्य, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सिभिल इन्जिनियर प्रमुख भरत मण्डल, पुलमहाशाखा प्रमुख दीपक कुमार भट्टराईको टोली आएको थियो ।

पोखरा २६ वडाध्यक्ष नारायण बरालले पुलमा हेभी गाडी चलाउन नमिल्ने भएपछि खोलाबाटै वैकल्पिक बाटो बनाइन लागेको जानकारी दिए । ‘२,३ दिनमा खोलाबाटै डाइभर्सन भइसक्छ । त्यसपछि हेभी गाडी खोलाबाट र लाइट गाडी पुलबाटै आवतजावत गर्न सक्छन्,’ उनले भने, ‘वैकल्पिक बाटो निकाल्दा बीचमा व्यक्तिगत संचरना पनि परेको थियो । त्यसलाई सहमति अनुसार नै भत्काइने भएको छ ।’

स्टिल ब्रिज प्रविधिमा बनाइएको पुलमा दैनिक ६ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । २०५९ सालदेखि निर्माण सुरु भएको उक्त पुल २०६४ देखि सञ्चालनमा आएको थियो । २०६६ सालमा भगवती हाइड्रोपावरसँग ५ वर्षभित्र उक्त पुलको वैकल्पिक पुल बनाउन सहमति भएको थियो । तर, चासो नदिँदा अहिलेसम्म बन्न सकेको छैन ।

चर्किएको पक्की पुल नजिक पुरानो ट्रस्टपुलको आधा भाग छ । तर वर्षौंदेखि प्रयोगमा नआउँदा जीर्ण बनेको छ । पुरानो ट्रस्टपुल अन्य ठाउँमा पुल बनाउन प्रयोग गर्न सकिने भए पनि लामो समयदेखि प्रयोग नगरिँदा खिया लागेर काम नलाग्ने हुँदै गएको छ । ६४ सालमै नयाँ पक्की प्रयोगमा आएपछि उक्त ट्रस्ट पुलको आधाभाग साविक लेखनाथ २ र साविक भरतपोखरी गाविस ३ जोड्ने सेती नदीको पशुपति घाटमा लगिएको थियो । आधा पुलबारे सरोकारवाला निकायले चासो नदिँदा प्रयोगविहीन बनेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds