रहेनन् बुढाबुढीलाई भत्ता दिने नेता, अलबिदा ! भरतमोहन अधिकारी

रहेनन् बुढाबुढीलाई भत्ता दिने नेता, अलबिदा ! भरतमोहन अधिकारी

Bharatmohan

काठमाडौं, १८ फागुन । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार निधन भएको छ । अधिकारी तीनै हुन्, जसले ०५२ सालमा पहिलो कम्युनिस्ट सरकार हुँदा बुढाबुढीलाई भत्ता दिन सुरु गरेका थिए । त्यसबेला १०० रुपैयाँबाट सुरु भएको थियो ।

०५१ मंसिर १४ गते तत्कालीन एमाले नेता मनमोहन अधिकारीको नेतत्वमा अल्पमतको सरकार बनेको थियो । अधिकारी प्रधानमन्त्री बनेको भोलिपल्ट भरतमोहन अर्थमन्त्री भए । ११ गते बजेट ल्याए, जसमा आफ्नो गाउँ आफैं बनाउँ भनेर हरेक गाविसलाई ३ लाख बजेट छुट्याइएको थियो । २०५२ असारमा अधिकारीले अर्को बजेट ल्याए, जसमा बृद्धभत्ताको शुरुवात गरिएको थियो ।

अहिले दुई हजार छ । २०७४ को चुनावमा वाम गठबन्धनले ५ हजार पुर्‍याउने प्रतिवद्धता जनाएको थियो । तर, केपी शर्मा ओली सरकारले पहिलो वर्षको बजेटमा बृद्धभत्ता नबढाएको भन्दै आलोचना समेत हुन गरेको थियो । अधिकारी स्वयंमले समेत बृद्धबृद्धालाई ढाँटेको भन्दै असन्तुष्टि जनाएका थिए ।

अधिकारीले आफ्नो गाउँ आफैं बनाऔं अभियानका लागि २०५१ मा बजेट छुट्याएका थिए । अर्थतन्त्रको सबै स्वामित्व राज्यले लिनु पर्छ भन्ने एकथरी र सबै बजारलाई नै छाडिदिनु पर्छ भन्ने अर्काेथरी विचारधारको बीचबाट अधिकारीले राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थनीति अंगिकार गर्नुपर्ने मत अघि सारेका थिए ।

त्यसपछि एमालेले पटकपटक सरकारमा जाने मौका पाउँदा भरतमोहन प्रायः छुटेनन् । उनी उपप्रधानमन्त्रीसहित चारपटक अर्थमन्त्री भए । एक पटक भौतिक पूर्वाधारमन्त्री भए । तत्कालिन एमालेमा सधैं उनी प्रभावशाली नेताका रुपमा रहे । २०७१ सालको एमालेको नवौं महाधिवेशनले ७० वर्षे उमेरहद कायम गरेपछि उनी सक्रिय राजनीतिबाट अवकाश लिएका थिए ।

अधिकारीको जन्म विक्रम सम्वत १९९३ साल बैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा भएको थियो । उनी पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ हुन् । विराटनगरको आर्दश माद्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका उनले भारतको इलाहावादबाट प्रविणता प्रमाणपत्र तह, बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्र र दर्शनशास्त्रमा स्नातक तथा त्रिभुवन विश्व विद्यालयबाट अर्थ शास्त्रमा एमए र कानुनमा स्नातक गरेका थिए ।

अधिकारीले सन् १९५२ मा १६ बर्षको उमेरमै भारतको बनारसमा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीति सुरु गरेका थिए । २००८ सालमा गठन भएको आर्दश विद्यालयको छात्र संघका अध्यक्ष बनेका अधिकारीकै नेतृत्वमा २००७ सालमा विराटनगरको जुद्ध स्कुलको बोर्ड परिवर्तन गरेर आर्दश स्कुलको बोर्ड राखिएको थियो । २०१७ सालमा तत्कालिन राजा महेन्ऽले कू गरेपछि सोभियत संघमा पीएचडी पढ्न पाएको छात्रबृत्ति त्यागेर सक्रिय राजनीतिमा आए ।

अधिकारीले २०१८ सालदेखि कोशी प्रान्तीय कमिटीको सचिव बनेर पूर्वमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गरे । साइकल चढेर गाउँ-गाउँमा कम्युनिस्ट पार्टीको पर्चा वितरण गर्थे । तत्कालीन नेकपाका महासचिव केशरजंग रायमाझीले राजाको सेवा गर्न थालेपछि २०१९ मा नेकपाको तेस्रो महाधिवेशन गराउन पहल गरे । अधिकारी त्यही महाधिवेशनबाट पोलिटब्युरो सदस्य निर्वाचित भए ।

तत्कालिन माले र मार्क्सवादीबीच २०४७ मा पार्टी एकिकरण गराएर एमाले बनाउन पनि उनको महत्वपूर्ण भूमिका छ । उनकै पहलमा २०४६ सालमा सात वाम घटक एक भएर संयुक्त वाम मोर्चा निर्माण भएपछि पञ्चायतबिरुद्ध आन्दोलन सशक्त भएको थियो । २०६२/०६३ को आन्दोलनमा पनि सक्रिय भए । २०६१ सालमा राजा ज्ञानेन्ऽले कू गरेर सत्ता हातमा लिँदा उपप्रधानमन्त्री रहेका अधिकारीलाई तीन महिना घरमै नजरबन्दमा राखिएको थियो ।

उनी २०४८, ०५१ र ०५६ मा मोरङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । बिराटनगरमा केहि समय अध्यापन समेत गरेका अधिकारीले वकालात समेत गरे ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको छैठौं, सातौं र आठौं महाधिवेशनबाट उहाँ लगातार स्थायी समितिमा निवार्चित भए ।

अधिकारीले २०१५ सालमा कम्युनिस्ट पार्टीको मुखपत्र नवयुगको सम्पादकको भूमिका निर्बाह गरेका थिए । नेपालमा औद्योगकरणको समस्या, मेरो जीवन यात्रा भाग-२ प्रकाशित छन् भने जनताको बहुदलीय जनवादको अर्थशास्त्र प्रकाशोन्मुख छ । पञ्चायत विरोधी संघर्षका क्रममा अधिकारी पटक पटक जेल परेका थिए ।

  • अनलाइनखबर

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds