१७ औं आहारारा गोल्डकप: थ्रीस्टार र आर्मी कसले जित्ला ? यस्तो छ इतिहास

१७ औं आहारारा गोल्डकप: थ्रीस्टार र आर्मी कसले जित्ला ? यस्तो छ इतिहास

army-three-star

पोखरा: मोफसलको उत्कृष्ठ गोल्डकपको उपमा पाएको आहा रारा गोल्डकपको १७ औं संस्करणको उपाधि छिनोफानोसँगै आज शनिबार विट मार्ने छ । उपाधिको लागि घरेलु फुटबलका दुई हस्ती रुस्लान थ्रीस्टार र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धा आफैंमा रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा फुटबलप्रेमीले गरेका छन् ।

आजको फाईनलमा इतिहास रच्ने र साख जोगाउने बीच प्रतिष्ठाको लडाईको रुपमा हेरिएको छ । पोखराको मैदानमा आर्मीले सहारा क्लबद्वारा आयोजित आहा देखि आहा रारा गोल्डकपको उपाधि उचालेको छैन् । यसअघि तीन पटक फाईनल प्रवेश गरेपनि उपविजेतामा चित्त बुझाएर फर्किएको छ । थ्रीस्टारले भने आफनो पोखरामा बनाएको साखलाई जोगाउँदै उपाधिमा नाम थप्ने योजनासहितको लक्ष्य लिएको छ ।

आर्मीले सातौं, आठौ र १४ औँ सस्करणको गोल्डकपको फाईनल यात्रा तय गरेको थियो । सातौं र आठौंमा नेपाल पुलिस क्लबसँग, १४ औँ मा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो । थ्रीस्टारले पाँचौ, नवौं, ११ औँ र तेह्रौं सस्करणको उपाधि उचाल्दा गत वर्ष भने नेपाल पुलिसक्लबसँग पराजित हुदैं उपविजेतामा सीमित भएको थियो । गतवर्ष उपाधिविहीनको अवस्थाको अन्त्य समेत गर्दै आहामा फेरी उपाधि उचाल्दै गतवर्षको पीडालाई भुल्ने योजना क्लबले लिएको छ ।

‘दुवै टिम उत्कृष्ठ छन् । केवल फाईट भनेकै १÷२ को लागि मात्रै हो । दर्शकले अपेक्षा गरेको फाईनल खेल हेर्न पाउँछन् । एकले अर्काको नराम्रो पक्ष केलाएर मैदानमा उत्रिने छौं ।’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रुस्लान थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने–‘गेम ५०÷५० को हुन्छ । सीमित अवसरको सृजना हुन्छ । जसले उपयोग गर्यो त्यसले नै उपाधि उचाल्ने हकदार बन्छ ।’

दुवै टोली यतिबेला निकै सन्तुलित देखिदैं आएको छ । डेढसाता अघिमात्रै भुटानबाट फर्किएको टोली सिधै पोखराको मैदानमा उत्रिएको हो । भुटानबाट उपाधि विहीनको यात्रालाई पोखराको मैदानमा उपाधि उचाल्ने धोको दुवैको छ । शसस्त्र प्रहरीलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको थ्रीस्टारले उपाधि जित्नेमा ढुक्क रहेको दावी गरिरहेको छ । आर्मीले पनि अफ्रिकन टिम दाउफिन्सको चुनौतिलाई पन्छाउँदै फाईनलसम्मको यात्रा तय गर्दा निकै उत्साहित देखिएको छ । उनले अनुशासनमा बसेर फुटबल खेल्नु नै उपाधिको लागि हकदार भईने विश्वास व्यक्त गरे । ‘अर्को एकपल्ट नाम लेखाउन सक्छ भन्ने विश्वास छ ।’ उनको भनाई थियो ।

‘हामीले पोखरामा उपाधि उचालेका छैनौ । फाईनल जितेर उपाधि उचाल्ने हाम्रो सपना र योजना छ । घरेलु फुटबलमा दुवै उत्कृष्ठ हुन् । हामीलाई इतिहास रच्ने अवसर जुरेको छ । खेलाडीहरुले त्यही अनुसार मेहेनत पक्कै गर्ने छन् ।’ त्रिभुवन आर्मीका प्रशिक्षक नविन न्यौपानेले भने–‘अवसरलाई जसले उपयोग गर्न सक्छ त्यसैले उपाधि उचाल्छ ।’ आर्मीले सिजनको दुई उपाधि उचालिसकेको छ । मदन भण्डारी गोल्डकप इटहरी र विरगन्जमा आयोजित गोल्डकप उचाल्दै सिजनको तेस्रो उपाधिको खोजीमा छ । पोखरामा भने इतिहास लेखाउन आतुर र उत्सुकता आर्मीमा प्रष्ट झल्किएको छ । प्रशिक्षक न्यौपानेले थ्रीस्टार र आर्मी बीचको प्रतिस्पर्धा रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने भएकोले यसलाई ‘नेपाल क्लासिको’ भन्न सकिने बताए ।

थ्रीस्टारका प्रशिक्षक केसीले घरेलु फुटबलको तीन वटा उपाधि उचालेको क्यामरुनी टोली दाउफिन्सलाई फाईटिङ खेलाडी भएको संकेत दिए । उनले थपे–‘अफ्रिकन फाईटिङ टिम हो । हिजोको सेमिफाईनलमा उनीहरुको प्रदर्शनले त्यस्तै संकेत गरेको थियो । अफ्रिकनलाई खेलाउने आयोजकको बाध्यता हो । उनीहरुको खेलेर नेपाली फुटबल माथि उठ्न सक्दैन् । उनीहरुको डराउँदा खेलाडीले रियल गेम खेल्नै सकेनन् ।’ उनले विदेशी क्लबसँग सिक्नुपर्ने भन्दै अनुशासित नहुने टिम जो फाईटिङ हो त्यसबाट के सिक्ने भन्दै प्रश्न गरे ।

आर्मी शारीरिक रुपमा फिट छ । अफ्रिकनसँग खेल्दा केही घाईते छन् । तर क्रिटिकल सिचुएसन भने नभएको प्रशिक्षक न्यौपाने बताउँछन् । कप्तान भरत खवासले पोखराको मैदानमा उपाधि जित्ने आफनो सपना भएको भन्दै त्यसलाई साकार रुप दिने टिमले कडा मेहनत गर्ने स्पष्ट पारे । ‘कम्पिटसन बढी हुन्छ । टिमलाई जिताउने मेरो लक्ष्य हुने छ ।’ उनले भने–‘लिगमा पाएको व्यक्तिगत उपाधि इतिहास भईसकेको छ । पोखरामा उत्कृष्ठ देखाउन कुनै कसर बाँकी राख्दिन् ।’

रुस्लान थ्रीस्टारका कप्तान विक्रम लामाले पोखरामा बनाएको साखलाई जोगाउन उद्दत हुने स्पष्ट पारे । ‘साख जोगाउने मात्रै ध्यान हुने छ । गेममा प्रेसर हुन्छ । फाईनल सीमित क्लबले मात्रै खेल्न पाउँछन् । थ्रीस्टार र आर्मी बीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने छ ।’ दुवै टोलीमा राष्ट्रियस्तरका खेलाडीको बाहुल्यता छ । तर बाजी कसले मार्छ त्यो भने शनिबार पोखरा रंगशाला नै पुग्नुपर्छ । आर्मी जिते इतिहास कोरिने छ भने थ्रीस्टारले जिते उपाधिमा विजेताको हकमा अर्को नाम थपिने छ ।

प्रतियोगिताको विजेतालाई ८ लाख १ हजार, उपविजेतालाई ४ लाख १ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर प्रदान गरिने क्लवले जनाएको छ । प्रतियोगितामा सर्बाधिक गोलकर्तालाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिनेछ भने उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगद १५-१५ हजारसहित ट्रफी प्रदान गरिने सहारा क्लबले छ । प्रतियोगितालाई डेढदशकदेखि हिमश्री फुड्सले मुख्य प्रायोजन गर्दै आएको छ ।

श्रोतः खेलाडी न्यूज डटकम

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds