दिवगंत मन्त्री अधिकारीको अन्त्यष्टी भोलि पोखराको रामघाटमा गरिने, मुलुक शोकमा

दिवगंत मन्त्री अधिकारीको अन्त्यष्टी भोलि पोखराको रामघाटमा गरिने, मुलुक शोकमा

Rabindra

पोखरा, १६ फागुन  । हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टी पोखरामै गरिने भएको छ । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनको अन्त्यष्टी शुक्रबार पोखरामै गर्न लागिएको हो । उनको शव काठमाण्डौं आएपछि टिचिङ अस्पतालमा पोष्टमार्टम गरिनेछ ।

त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने कार्यक्रम छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाण्डौंमा श्रद्धाञ्जलीका लागि राखिनेछ । पार्टी कार्यालयमा केहीबेर श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि खुला मञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्यष्टी गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । आज सार्वजनिक बिदा पनि दिएको छ ।

सकेसम्म आजै (विहिबार) नभए भोलि (शुक्रबार) विहान अधिकारीको शव पोखरा ल्याउने तयारी भैरहेको छ । पोखरामा शव ल्याएपछि अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । उनको अन्त्यष्टी पोखराको रामघाटमा गरिनेछ ।

नेपाल कम्युनिष्ट पार्टी, (नेकपा) गण्डकीले यस्तो सूचना जारी गरेको छ ।

मिती २०७५ ।११ ।१७ गते मानानीय कमरेड रबिन्द्र अधिकारीको अन्त्यस्टी हुने भएका ले निम्न अनुसार सुचना जारी गरिएको छ ।

(१) पोखरा प्रदर्शानी केन्द्र नयाँवजारमा अन्तिम सम्मान सहित श्रध्दाञ्जलि अर्पण गर्ने। त्यस पश्चात शवयात्रा हुनेछ। शवयात्राको प्रस्ताबित बाटो नया बजार – महेन्द्रपुल – रानी पौवा – हस्पिटलचोक हुँदै रामघाटमा राजकिय सम्मान साथ अन्त्यस्टी गरिने ।

(२ ) १९ गते प्रदेशका सबै जिल्लाहरुले शोकसभाको अायोजना गर्ने। १३ दिन भित्र गाँउपालिकाहरुमा शोक सभा गर्ने।

(३) ३ दिन सबै पार्टी कार्यलयको झन्डा आधा झुकाउने।

(४) कास्कीमा उपरोक्त कामहरुको ब्यबस्थापन कास्की जिल्ला पार्टीले प्रदेश कमिटी/ प्रदेश सरकार संग समन्बय गर्दै गर्ने।

नोट – समय निर्धरण पश्चात जानकारी गराईनेछ। साथै मौसम को कारणले तालिका तल माथि पनि हुन सक्नेछ।
स्रोत: नेपाल कम्युनिष्ट पार्टी, (नेकपा) गण्डकी।

अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा, बिहीबार सार्वजनिक विदा

सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा विहीबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । विहीबार देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको सरकारले बताएको छ । नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ’ निर्णयमा भनिएको छ ।

हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन

सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन हुने गरी भएको हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकमिस्क बैठकले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको हो । समितिमा सहायक रथी दिपक बास्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । समितिले सम्भव भएसम्म छिटो प्रतिवेदन बुझाउन भनिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

रवीन्द्रको निधनले पोखरा स्तब्ध

हिजो दिन जति धमिलो रह्यो, त्यति नै धमिलो बन्यो पोखरेलीका मन। आफ्ना प्रिय नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको खबरले मर्माहत भएका पोखरेलीहरुको कामना भगवानको कानसम्म पुग्नै सकेन। अन्ततः उनी सबैलाई रुवाउँदै बिदा भए ्। उनको निधनले पोखरावासी शोकाकुल र स्तब्ध बनेका छन् भने सिंगो देश नै शोकमा छ।

‘हामीले एक होनाहार, उम्दा र इमान्दार नेता गुमाएका छौँ’, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गण्डकी इन्चार्ज पृथ्वीसुब्बा गुरुङले भने, ‘यसले पार्टी, सरकार र गण्डकी प्रदेशलाई ठूलो क्षति पु¥याएको छ।’ शोकको यो घडीमा परिवारजनलाई समवेदना दिनबाहेक आफूसँग कुनै शब्द नभएको बताउँदै उनले हवाई सुरक्षाबारे भने अब सोच्नुपर्ने बताए।

आर्थिक मामला तथा योजना मन्त्री किरण गुरुङले अत्यन्त दुखित तुल्याएको बताएका छन् । पूर्व मन्त्री खगराज अधिकारीले स्वर्गीय अधिकारीलाई हिरोको संज्ञा दिँदै अपुरणीय क्षति भएको बताएका छन् । मन्त्री अधिकारी चढेको हेलिकप्टर सम्पर्क्विहीन भएको खबर देशभर फैलँदा बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारी पोखरा मालेपाटनस्थित निवासमै थिए ।

मन्त्री अधिकारीको निधन भएको खबरलगत्तै नेकपाका युवा नेता एवं प्रदेश सांसद् राजीव पहारीसहितको टोली अधिकारी निवासमा पुग्यो ।छोराको निधनको खबर सुनेर विक्षिप्त बनेका बुवाआमा सम्हालिन सकेनन् । बुवा इन्द्रलाई पोखरा विमानस्थलमा बुइमा बोकेर विमानसम्म लगिएको थियो ।

उनी सम्हालिन सकिरहेका थिएनन् । उनकी अर्धा्ङ्गिनी विद्या भट्टराई प्राध्यापन पेशामा रहेकी छन्। उनी प्रेमी तथा पतिको निधनको खबरले मन्त्री क्वार्टरमै बेहोस बन्न पुगिन्। रवीन्द्रका बिराज र स्वराज गरी दुई छोरा छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds