‘गण्डकी मेडिकल कलेजलाई सरकारले कारवाही गर्नुको साटो उसैको संरक्षण?, किन प्रहरी हस्तक्षेप?’: विवेकशील साझा

‘गण्डकी मेडिकल कलेजलाई सरकारले कारवाही गर्नुको साटो उसैको संरक्षण?, किन प्रहरी हस्तक्षेप?’: विवेकशील साझा

Bibekshil

पोखरा । झण्डै एक महिनादेखि गण्डकी मेडिकल कलेजका विद्यार्थी अवैध शुल्क अशुलीका विरुद्धमा आन्दोलनमा छन् । कलेज सहित अस्पताल नै बन्द गरेर अनसन बस्दा समेत कलेज प्रशासनले माग पूरा गरेको छैन । प्रहरी र कास्की प्रशासनको सहयोग लिएर उल्टै विद्यार्थीमाथि दमनमा उत्रेको छ ।

गण्डकी मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुमाथि भएको प्रहरी हस्तक्षेपको विषयमा विवेकशील साझा गण्डकी प्रदेशले ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले एक विज्ञप्ती जारी गर्दै सरकार नै विद्यार्थीमाथि जाइलाग्नु लाजमर्दो भएको बताएका छन् ।

सरकारले अध्ययनका लागि लाग्ने शुल्कको मापदण्ड तोकेको अवस्थामा मेडिकल कलेजहरुले सो मापदण्डभन्दा बढि शुल्क विद्यार्थीसँग लिँदा सरकार मुकदर्शक बनिरहेको उल्लेख गर्दै उनले सरकारले कलेजलाई कारवाही गर्नुको साटो उसैको संरक्षण गरिरहेकोमा दुःख प्रकट गरेका छन् ।

२७ औँ दिनसम्म विरोध कार्यक्रम र १७ औँ दिनसम्म रिले अनशन चल्दा पनि कलेज प्रशासन शक्तिको आडमा डेग नचली उल्टै विद्यार्थीहरुमाथि प्रशासन लगाएर ५ जना घाईते हुनु दुःखद घटना भएको विवेकशील साझाको ठहर छ ।

विद्यार्थीले उठाएका मागहरु जायज रहेकाले पार्टी विद्यार्थीहरुको साथमै रहेको भन्दै उनले कलेज र विद्यार्थीहरुबीच देखिएको मतभेद चाँडो भन्दा चाँडो मिलाएर पढाईको वातावरण सरकारले तयार पार्न र अन्यथा, पार्टीको तर्फबाट अन्य आन्दोलनका कार्यक्रमहरु अगाडि बढाईने चेतावनी समेत दिइएको छ ।

हेर्नुहोस्, प्रेस विज्ञप्तीः

प्रेस विज्ञप्ती

सरकारले एउटा नियम बनाउँछ। र, त्यहि नियमलाई पहुँचवालाहरुले मिच्छन्। सरकारले आफैले बनाएको कानुन मिचिँदा पनि कानुन पालना गराउन बसेकाहरु उल्टै नियम मिच्नेकै संरक्षणमा आफूलाई उभ्याउँछन्।

यो देशमा नियम कानुन मिच्नेहरुकै बोलवाला देखिन्छ। जसको शक्ति, उसैको भक्ति गर्ने प्रचलन मौलाउँदै जाँदा वास्तवमै जनताले दुख पाएका छन्। जनताको दुख हटाउने भन्दै सरकारको नेतृत्वमा पुगेकाहरुलाई यो कुराको मतलब हुनुपर्ने हो। तर झन्, उल्टै समस्यामा परेकाहरुमाथि सरकार जाईलाग्छ। यो निकै लाजमर्दो कुरा हो। यस्तो हुँदा जनताले को सँग आशा राख्ने? कसलाई आफ्नो दुख सुनाउने?

अहिले देशमा देखिएको यस्तो शैलीप्रति विवेकशील साझा गण्डकी प्रदेशको ध्यानाकर्षण भएको छ। कुरा पोखरास्थित गण्डकी मेडिकल कलेजको हो। सरकारले मेडिकल कलेज अध्ययनका लागि लाग्ने शुल्कको मापदण्ड तोकेको छ। मेडिकल कलेजहरुले सो मापदण्डभन्दा बढि शुल्क विद्यार्थीसँग लिन नपाउने नियम बनेकै निकै समय भैसक्यो। तर पोखरास्थित गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग तोकिएको मूल्यभन्दा ७ लाख बढि शुल्क लिईरहँदा पनि सरकार मुकदर्शक बनिरहेको छ। अझै त्यसमाथि कलेजले विद्यार्थीसँग लिएको रकमको बिल भरपाई पनि दिँदैन। खुलेआम कलेजले कर छलि गर्ने उद्देश्यसहित यसो गरिरहँदा पनि सरकारले कलेजलाई कारवाही गर्नुको साटो उसैको संरक्षण गरिरहेको छ।

तोकिएको भन्दा बढि शुल्क नलिईयोस् भन्दै विद्यार्थीहरु आन्दोलित हुन परिरहेको छ। २७ औँ दिनसम्म विरोध कार्यक्रम र १७ औँ दिनसम्म रिले अनशन चल्दा पनि कलेज प्रशासन शक्तिको आडमा डेग चल्दैन। उल्टै विद्यार्थीहरुमाथि प्रशासन लगाउँछ। प्रहरी आउँछन्, विद्यार्थीहरुमाथि मुक्का र बुट बजार्छन्। जसबाट ५ जना विद्यार्थीहरु घाईते भएका छन्। विद्यार्थीहरुले तोकिएको शुल्कभन्दा बढि रकम असुलेको भन्दै कलेज विरुद्ध आन्दोलन गर्दा प्रहरी प्रशासन उल्टै विद्यार्थीमाथि जाईलाग्नु निकै दुखद् कुरा हो। प्रशासनमा पटकपटक यो विषयमा जानकारी गराउँदा पनि पीडित विद्यार्थीहरु माथि नै प्रशासन जाईलाग्दा ती विद्यार्थीले को सँग न्याय माग्ने ?

सरकारले विधिको शासनलाई मान्छ भने यो समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्नुपर्छ। विद्यार्थीले उठाएका मागहरु जायज छन्, त्यसैले हामी विद्यार्थीहरुको साथमै छौँ। कलेज र विद्यार्थीहरुबीच देखिएको मतभेद चाँडो भन्दा चाँडो मिलाएर पढाईको वातावरण सरकारले तयार पारोस्। अन्यथा, हाम्रो पार्टीको तर्फबाट अन्य आन्दोलनका कार्यक्रमहरु अगाडि बढाईने चेतावनी दिन चाहन्छौँ ।

महेश भण्डारी 
संयोजक 
विवेकशील साझा गण्डकी प्रदेश
मिती: २०७५ फाल्गुण १४ मंगलबार

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds