देशभर दर्जनौं स्थानमा एनसेलको टावरमा आक्रमण, अरबौं लाभकर नतिरेको पर्चा भेटियो

देशभर दर्जनौं स्थानमा एनसेलको टावरमा आक्रमण, अरबौं लाभकर नतिरेको पर्चा भेटियो

ncell-towers

पोखरा, ११ फागुन । सरकारलाई अर्बौ कर नतिरेको आरोप खेपिरहेको निजी लगानीको मोबाइल प्रदायक कम्पनी एनसेलमाथि ठाउँठाँउमा आक्रमण भएको छ। राजधानीमै रहेको मुख्यालयमा समेत बम बिस्फोट गराइएको छ। एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको छ । एनसेलले नेपाल सरकारलाई लाभकर नतिरेको भन्दै जनस्तरबाटै विरोध भइरहेको समयमा विस्फोट गराइएको हो।

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गरेकै शैलीमा दर्जन भन्दा बढी जिल्लामा रहेकाा एनसेलका टावरमा आगजनी र बम आक्रमण भएको छ । यस पटकको आक्रमणमा पनि विप्लव नेतृत्वको नेकपाकै हात रहेको आशंका गरिए पनि उसले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन ।

पोखरामा आगजनी

शुक्रबार राति करिब १० बजे पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ ।

प्रहरी कार्याल सिशुवाका अनुसार डाडाँमा रहेकाले दमकल आउँदा आउँदै टावर जलेर नष्ट भएको हो । एनसेलको टावर जलेपछि लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको थियो ।

यस्तै, धादिङको चन्डिस्थानमा पनि एनसेलको टावरमाथि आक्रमण भएको विवरण प्राप्त भएको छ।

बागलुङमा पनि क्षति

शुक्रबार राति नै बागलुङका विभिन्न स्थानमा रहेकाा एनसेलका टावरमा आगजनी भएको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो । टावरमा आगलागी भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मध्यविन्दुमा पनि आक्रमण

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

नवलपुर प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको छ । स्थानीयका अनुसार सुरुमा विस्फोट गराएर आगो लगाइएको हो । आगजनीपछि नवलपुर क्षेत्रमा एनसेलको नेट्वर्कले काम गर्न छाडेको छ ।

रुपन्देहीको गैडहवामा टावर जल्यो

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी गरिएको छ । यो घटनाको पुष्टि रुपन्देहीका एसपी हृदय थापाले गरेका छन् ।

अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको उनले बताए । आगजनीले टावरका तार जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरी तत्काल पुग्दा मानवीय र अन्य ठूलो क्षति हुन नपाएको थापाले बताए ।

रौतहटमा पनि

प्राप्त समाचार अनुसार रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । त्यहाँ भएको आगजानीपछिका क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

काभ्रेमा पनि

काठमाडौँ नजिकैको काभ्रेमा पनि एनसेलको टावरमा आगजनी गरिएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको हो । तर क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

कञ्चनपुरको एनसेल टावरमा आगजनी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ। टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारवाही गर्नुपरेको कुरा उल्लेख गरेको पर्चासमेत प्रहरीले फेला पारेको छ।

घाईते मध्ये एकको मृत्यु

ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएका तीनमध्ये एक जनाको मृत्यु भएको छ । बिष्फोटमा घाइते सिंहप्रताप श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । श्रेष्ठलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।

शुक्रबार राति बम बिष्फोट हुँदा श्रेष्ठसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । प्रतिक्षा र अनुषाको उपचार जारी छ । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर छ ।

सुरक्षा गार्डको भूमिका शंकास्पद, केही पक्राउ

विस्फोटको घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले पक्राउ परेका दुई जनाको नाम भने गोप्य राखेको छ। स्रोतका अनुसार पक्राउ परेका दुवै जना एनसेल टावरको सुरक्षाका लागि खटिएका व्यक्ति भएको बताइन्छ।

प्रहरीका अनुसार बम बिस्फोट हुनुभन्दा केही समय अघि तीन चार जनाको समूहमा केही व्यक्ति एनसेल टावर अघि आएका थिए। उनीहरूले एनसेलेको सुरक्षा गार्डसँग केही कुरा गरेर बाहिरिएको सिसी टिभी फुटेजमा समेत देखिएको प्रहरी स्रोतले जानकारी दियो। उनीहरू त्यहाँबाट बाहिरिएको केही समयपछि प्रेसर कुकुर बम विस्फोट भएको थियो। विष्फोटमा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ ।

शुक्रबार राति नै कमलपोखरीको आँगन मिठाई पसल अगाडि भेटिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

बम विस्फोटपछि राजधानीको सुरक्षा अवस्था कडा गरिएको छ। विभिन्न नाका र सडकहरुमा चेकजाँचलाई कडा पारिएको छ। प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी इकाइहरुलाई अलर्ट रहन निर्देशन दिएको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds