‘फेसबुक, ट्वीटरहरु नेपालमा दर्ता हुनैपर्छ’ : मन्त्री बास्कोटा, प्रधानमन्त्रीको आलोचना गर्नेलाई दण्ड ?: गगन थापा

‘फेसबुक, ट्वीटरहरु नेपालमा दर्ता हुनैपर्छ’ : मन्त्री बास्कोटा, प्रधानमन्त्रीको आलोचना गर्नेलाई दण्ड ?: गगन थापा

Social media icons on smartphone

१० फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताएका छन् । सूचना प्रविधिमा अब्बल र प्रजातान्त्रिक मुलुकहरुमा यस्तो व्यवस्था रहेको भन्दै मन्त्री बास्कोटाले नेपालमा पनि यो व्यवस्था गर्न लागेको बताए ।

‘चाहे फेसबुक होस्, चाहे ट्वीटर होस्, चाहे वीच्याट, किमोको होस्, चाहे गुगलको होस् । अन्त खोल्न हुन्छ, हामीकहाँ खोल्न हुँदैन ?’ उनले भने ‘स्वतन्त्रताका नाममा एउटा शब्दाबलीभित्र जे गरे पनि हुन्छ भन्ने हुन्न । हाम्रो पनि स्वाभिमान छ, हाम्र्रो देश हो, हाम्रो जनता हुन्, त्यसैले हामीले यो व्यवस्था गरेको हो ।’

उनले अगाडि भने ‘‘राष्ट्रिय सुरक्षामा चुनौती दिएर केही कुरा राख्यो भने त्यसको कम्प्लेन गर्ने ?’ सरकारले हालै संसदमा दर्ता गरेको सूचनाप्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले कहिँ नभएको कुरा नेपालमा मात्र ब्यवस्था गर्न लागेको नभई अन्य देशले गरेको व्यवस्था नेपालमा पनि अनुकरण गरिएको बताए ।

‘कहिँ नभएको कुरा यहाँ गर्न खोजिएको भन्ने होइन, यसले आलोचकलाई दण्डित गर्दैन । तर पशुको ज्यानमा चिनिएको मान्छेको टाउको राखेर पनि अपमानित गर्ने कुरा संस्कार र संस्कृतिलाई छुट नदिने नै हो ।’ मन्त्री बास्कोटाले भने । उनले कसैप्रति पूर्वाग्रह साँध्नका लागि विधेयक नल्याइएको प्रष्टीकरण दिए । ‘हाम्रो सामाजिक हिसाबले हो, छिमेकी देशले पनि यस्ता ऐन कानून लेराएकै छन्’ उनले भने ।

मन्त्री बास्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यक्तिगत रुपमा दर्ता गर्ने नभई सामाजिक सञ्जाल सञ्चालक दर्ता हुने व्यवस्था गरिएको पनि बताए ।  सूचना प्रविधि ऐनले प्रेस स्वतन्त्रतालाई कहिँ पनि खण्डित र संकुचित नगर्ने मन्त्री बास्कोटाले बताए । ‘प्रेस मेन स्ट्रिम जर्नलिजम भित्र पर्छ । सामाजिक सञ्जाल नागरिक अधिकारभित्र पर्छ’ उनले भने ।

प्रधानमन्त्रीको आलोचना गर्नेले दण्ड पाउनेवाला छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको आलोचना गर्नेलाई सरकारले कारबाही गर्न खोजेको बताएका छन् ।

संसदमा शुक्रबार सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीका आलोचकलाई दण्ड दिने गरी कानूनी व्यवस्था गर्न लागेको आरोप लगाएका हुन् । ‘सम्माननीय प्रधानमन्त्रीले प्रत्येक दिन अरुलाई होच्याउन मिल्ने, जिस्क्याउन र भन्न मिल्ने’ उनले भने ‘तर त्यसका बारेमा आलोचना गर्‍यो भने त्यही होच्याएको नाममा कसैले दण्ड पाउनेवाला छ ।’

सरकारले नियत नै खराब राखेर सूचना प्रविधिसम्बन्धी विधेयक ल्याउन लागेको थापाले आरोप लगाए । सरकारले कानून बनाउँदा संविधानमा भएको वाक स्वतन्त्रताको विषयलाई ध्यान नदिएको पनि बताए ।

‘यहाँ विषय दफाको होइन, धाराको होइन, नियतको हो’ उनले भने ‘यो सदनमा सफल गरेर मात्र सच्याउन सकिने प्रस्तावित ऐन होइन ।’ थापाले कानूनका धारा र दफा छलफल गरेर सच्याउन सकिए पनि नियतलाई जनताको बलमा मात्र सच्याउन सकिने बताए ।

कांग्रेस सांसद थापाले विधेयकमा भएको व्यवस्थाअनुसार सामाजिक सञ्जालहरु दर्ता गर्न नआएमा सरकारले गर्न चाहेको के हो ? भनी प्रश्न गरे । ‘दर्ता हुन आएन भने बन्द गर्ने सरकारको चाहना हो ?’ थापाले सोधे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ