एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज (मंगलबार) ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । यस वर्ष पनि दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति रहनेछ ।
प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको छ । दिवसकै अवसरमा सञ्चार मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापा माध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसंवाद, अन्तक्र्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ ।
प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा गठित प्रचारप्रसार उपसमितिको सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाल टेलिभिजन र रेडियो नेपालबाट फागुन ७ गते सैनिक मञ्च, टँुडिखेलमा आयोजना हुने कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने र अन्य टेलिभिजनले त्यसलाई लिन सक्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।
प्रजातन्त्र जीवनपद्धति बनोस्, जनचाहना पूरा गर्न ऊर्जा मिलोस् : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका चाहना पूरा गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने बताएकी छन् । प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना पनि उनले गरेकी छन् ।
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाली जनताको चाहना हो । सम्पूर्ण नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा थप ऊर्जा दिने छ ।
उनले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसाथ गर्दै अघि बढ्ने उत्प्रेरणा प्रजातन्त्र दिवसले प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छन् ।
प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति भण्डारीले यस दिवसले प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
समृद्धिको नेपाली चाहना पूरा हुने विन्दुमा : प्रधानमन्त्री
दशकौंदेखिको विकास र समृद्धिको नेपाली चाहना पूरा हुने विन्दुमा आइपुगेको दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
मुलुक समृद्धिको यात्रामा अघि बढिसकेकाले नेपालीको दशकौंदेखिको विकास र समृद्धिको सपना पूरा हुने विन्दुमा पुगेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएकाले विश्वस्त हुन आग्रह गरे ।
‘निरंकुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरिबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौं’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।’
पूर्वराजा ज्ञानेन्द्र फेरि बोले, संघियताबारे चिन्ता
पूर्वराजा ज्ञानेन्द्र शाहले आम जनताले प्रजातन्त्रको अनुभूति गर्न नपाएको दाबी गरेका छन् । ६९ औं प्रजातान्त्रिक दिवसको अवसरमा सोमबार आम नेपालीप्रति शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहले जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र भएपनि केही समयदेखि आफुले गरेको देशदर्शनका क्रममा जनतामा त्यो नपाएको बताएका छन् ।
पूर्वराजा शाहले भनेका छन् ः ‘हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन ।’
शाहले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
उनले पछिल्लो समयमा मुलुकको राष्ट्रियता समेत निकै कमजोर स्थितिमा पुगेको दाबी गर्दै सनातनिक धर्म, संस्कृति र आफ्नै मौलिक आदर्श र मान्यता समेत धर्मान्तरको प्रक्रियाबाट आक्रान्त भएको कहालिलाग्दो दुःखद अवस्था देखापरेको बताएका छन् ।
त्यस्तो जनअसहमत कार्यप्रति राज्यको ध्यान जानुपर्ने आफ्नो दृढ धारणा रहेको समेत पूर्वराजा शाहले स्पष्ट पारेका छन् । उनले आफ्ना जिजुबुबा श्री ५ त्रिभुवनले प्रजातन्त्रका लागि गरेको त्याग, उत्सर्ग र योगदानको स्मरण समेत गरेका छन् ।
सम्बन्धित खबर
काभ्रेको महाभारत जंगलमा भीषण आगलागी
सुप्रिम सहकारी ठगीमा रविमाथि थुनछेक बहस सुरु
कञ्चनपुरमा प्रहरी जवानले आफैंलाई हाने गोली
गण्डकी सहित यी प्रदेशमा हिमपातको सम्भावना
रवि लामिछाने आज रूपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै
तराईमा हुस्सु, गण्डकीसहित यी प्रदेशमा हिमपातको सम्भावना
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए