नेपालाँ ऐन नियम कानुन !

नेपालाँ ऐन नियम कानुन !

Cover 1
  • सालको पात टपरी प्रकरण
  • उपराष्ट्रपतिबाटै अवैधानिक होटल उद्घाटन प्रकरण
  • ट्याक्सीको रिसले टुटलको प्रोमोट
  • पार्टीको नाममा जे पनि ठीक ?
  • दर्ता नगरेपनि हुने अनलाइन, किन बोक्ने झण्झट ?
  • रविबारे बोल्दा ईशाको हालत

रविहरुका फ्यानको एम्बुसमा सालको पातका सर्जक

अमेरिकी राष्ट्रपति ट्रम्पले ‘ओलीजी नेपालमा के चलिराछ?’ ओलीले भने– ‘सालको पात टपरी ।’ फेसबुकमा यस्तो ट्रोल चलिराछ अचेल । युट्युबमा रेकर्ड ब्रेक त गरेकै छ, सर्जक र आइडल प्रकरणले फेरि अर्को रेडर्क ब्रेक गर्न लागेको छ । यतिबेला बसन्त थापाले अवैधानिक तबरले गाए भनेर लेख्नु नै हुन्थेन । यी दुई कारणले रवि ओडले अत्यन्त सहानुभूति बटुलेका छन् ।

१) झुपडीबाट उठेको केटो, म्यादी प्रहरी, भारतमा मजदुरी गर्ने ओड नेपाल आइडल हुनुहुन्न, बिक्रम बराल हुनुपर्छ पो भन्ने को ?
२) खुशी मनाउन नपाउँदै आफ्नी आमा भन्दा बढी माया गर्ने आमाको निधन ।

रबिहरुले केहि पनि बिगार्दैनन्, गल्ती भएपनि केहि भन्न हुन्न भनेर फेसबुकमा कमेन्ट गर्ने उग्र फ्यानको जमात् पनि रविहरुकै छन् । त्यसैले, बसन्त थापाले सोध्दै नसोधी गाए, अवैधानिक हो भनेर भन्नु नै गल्ती भयो । कमेन्ट पढ्न नसकेर स्टाटस नै डिलिट गरिरहनुपरेको छ ।

अर्को पक्ष, रबि ओडले दर्शक समर्थकको अनुरोधका कारण गाउन बाध्य भएँ, मेरो सम्मान छ, अपमान होईन भनेर स्पष्ट पारिसकेको अवस्थामा सुपरहिट गीतलाई अपमान गर्ने नियत नभएकाले अब यसलाई सामान्य सोच्नुपर्छ । बसन्त थापाले पनि आइडल जस्तो व्यक्तिले सामान्य मान्छेले समेत गाउन सक्ने गीत गाउन सकेन भनेर चित्त दुखाएको हुनुपर्छ, नत्र सरस्वती लामाले जसरी गाए पनि उनको बारेमा टिप्पणी गरेनन् । रवि आइडल भएर गरेका हुन् । सकारात्मक रुपमा लिऔं ।

उपराष्ट्रपतिबाटै अवैधानिक होटल उद्घाटन !

मापदण्ड विपरित त पोखराका सयौं भवन छन् । १० तले होटल टास्क राष्ट्रिय मिडियामा समेत छायो । कारण – उपराष्ट्रपतिबाट उद्घाटन । अब होटलवालाको त अवैधानिक ठडाएर समेत देशकै दोस्रो ओहोदाका सम्मानित उपराष्ट्रपति बोलाएर शान बढ्यो । बदनामै भएपनि व्यवसायिक फाइदा मिल्यो । न होटललाई पोखरा महानगरले कारबाहीको दायरामा ल्याउन सक्छ, न त ग्राहकले अवैधानिक हो भनेर नकार्छन् । सेवा राम्रो भएपछि गईहाल्छ । समाचारले झन् फाइदा मिल्यो भन्दै होलान् ।

ट्याक्सीको रिसले टुटलको प्रोमोट !

टुटल र पठाओ जस्ता ट्याक्सी मोटरसाइकलबारे यस्तो चर्चा नै थिएन । ट्राफिक प्रहरीले कारबाही थाल्ने भनेपछि एकाएक मार्केट लियो । ऐनकानुनको दायरामा नआएको अवैधानिक कारण्ले गर्दा नै यसलाई उल्टै फाइदा भयो । प्रधानमन्त्रीले पनि चल्न दिनु भनेर ठाडो आदेश दिए । बैधानिकताको गुनासो अब रह्यो त ? मिडियाले पनि ट्याक्सीवालको रिस फेर्दा टुटलप्रति सहानुभूति जनाए, कालो नम्बर प्लेटले यात्रु बोक्दा ऐन विपरित भएको र यात्रु सुरक्षाबारे जानाजान चटक्कै भूले । सुरक्षाको हिसाबले, यात्रुलाई बस्ने सहजताको हिसाबले, आकारको हिसाबले त प्राइभेट नम्बरका मोटरसाइकल भन्दा त ट्याक्सी नै गतिलो हैन र ? तर ट्याक्सी चालकसँगको दिक्दारीले अवैधलाई कति प्रमोट गरिरह्यौं हामी ?

पार्टीको नाममा जे पनि ठीक ?

प्रजातन्त्रवादी पार्टीका विद्यार्थीहरु भूमिगत क्रान्तिकारी भन्नेहरुकै शैलीमा नागरिकको करले किनेका गाडी दिनदहाडै जलाउँछन् । सार्वजनिक बिदामा त चाबी खोसिदिने हो । तर उल्टै भन्छन्ः ‘१७००० मार्नेहरु, सबै सम्पति जलाउनेहरु एउटा गाडीको हिसाब माग्छन् ।’ अरुले गरे पो कानुन विपरित । पार्टीको नाममा मान्छे मारेपनि, गाडी जलाएपनि के भो ?

दर्ता नगरेपनि हुने अनलाइन, किन बोक्ने झण्झट ?

एउटा भोजको पार्टीमा खाना खाने लाइन छ, सयौं लाइनमा उभिएका छन् । अर्कोतिरबाट खाने प्लेट लिने ठाउँमा जो पनि घुसेर खान पाउँछ । अब लाइनमा को बस्छ ? ब्लगहरु छाडौं, जति पनि समाचारवाला अनलाइन छन्, विधिवत् दर्ता छन् त ? दर्ता गर्न कम्पनी चाहियो, बार्षिक नविकरण चाहियो, नविकरण गर्न कर चुक्ता चाहियो, करचुक्ता लिन अडिट चाहियो, घर भाडा कर तिर्नुपर्छ, घर भाडाका लागि वडा, महानगरमा दर्ता चाहियो, अनि मात्र प्रेस काउन्सिल, सूचना विभाग । त्यहाँ पनि वार्षिक रुपमा कर्मचारी विवरण, दरबन्दी अब त बैंक स्टेटमेन्ट रे । सूचना विभागमा दर्ता गरेपनि नगरेपनि चल्न पाउने भए यस्तो तनाव किन लिनु ? त्यसैले दर्ता नभएका अवैधानिक अनलाइन बन्द गरे पो बैधानिक हुन बाध्य हुन्छन् । दर्तावालहरु पनि कम्पनी खारेज गरेर यसै चलाए भैगो नि ! अवैधानिक नै चल्न पाउने भए यो झण्झट किन ?

रविबारे बोल्दा ईशाको हालत !

रवि लामिछानेकी पूर्व पत्नी ईशा लामिछानेले जब विगत कोट्याइन्, के बसिखानु ? ईशाले फेसबुकका सबै पोष्टहरु पब्लिकबाट प्राइभेट गर्न बाध्य बनिन् । अरु कुरामा इशा नै गलत थिइन् भन्ने मानिदिऔं रे । तर, डिभोर्स नै नगरी अर्की महिलाबाट बच्चा नै पाउनु त गलत नै थियो नि । रविको काममा कसैले खोट लगाउन सक्दैन तर यहाँ गलत भयो है भन्न सक्ने आँट पनि गर्ने वातावरण हाम्रै कारण नसक्ने अवस्था छ । रविले पत्रकारितामा जे गरेका छन्, वाहवाही लायक गरेका छन् । तर, उनका जीवनका सबैथोक आँखा चिम्लेर छुट दिनुपर्छ भन्ने होइन । बैधानिक अबैधानिकको कुरा यस प्रकरणमा पनि पाच्य भएन ।

  • रञ्जन अधिकारी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ