विवेकशील साझा पार्टीबाट विवेकशील समूह बाहिरियो, पार्टीमा मिश्रको छायाँमा पर्ने डर

विवेकशील साझा पार्टीबाट विवेकशील समूह बाहिरियो, पार्टीमा मिश्रको छायाँमा पर्ने डर

Ravindra_vs_ujwal

काठमाण्डौ – आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी फुटेको छ । पार्टीका एक संयोजक उज्ज्वल थापालगायतले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम ‘विवेकशील नेपाली दल ‘प्रस्ताव गरिएको छ । यस्तै, केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन् । उज्जल थापासँगै रञ्जु दर्शना, मिलन पाण्डे, सुबुना बस्नेत, डाक्टर अनुषा थापालगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन्।

प्रदेश नम्बर ३ मा ३ सिट जितेको विवेकशील साझाका दुई सांसद नयाँ पार्टीतर्फ लागेका छन् । उज्ज्वल थापाको नेतृत्वमा निर्वाचन आयोगमा बुझाइएको सूचीमा प्रदेशसभा सदस्यद्वय रमेश पौडेल र विजयबाबु श्रेष्ठको पनि नाम छ ।

संयोजक रबिन्द्र मिश्र र थापाबीच पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएको थियो। पुस ३० गतेकालागि बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक अघि पार्टी सदस्यहरु स्पष्ट रुपमा मुलतः रबिन्द्र मिश्र र उज्वल थापा गुटमा विभाजित देखिएका थिए।

उज्वल थापाले नेतृत्व गरिरहेको विवेकशील नेपाली र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकिकरण भई गतवर्ष  चुनाव अघि विवेकशील साझा पार्टी निर्माण भएको थियो। विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो । तर, डेढ वर्षमा नै विवेकशील पक्ष अलग्गिएर पुरानै पार्टी ब्युउँताउन लागेका हुन् ।

वैकल्पिक राजनीतिमा उदाएर अबको चुनावमा परम्परागत दलहरुलाई चुनौति दिने आश गरेका जनता भने यस्तो हर्कतबाट निराश बनेका छन् । थापा नेतृत्वको विवेकशील नेपाली दलले धेरै वर्ष पहिलेदेखि समूह समूहमा गतिविधि गर्दै आएको थियो । सामाजिक सञ्जालमा चर्चा बटुल्ने काम बाहेक अन्य गतिविधिमा सक्रिय नहुँदा राजनीतिक दलभन्दा नागरिक समाजको अंग जस्तो थियो । विविसी नेपाली सेवाबाट राजिनामा दिएर ‘साझा पार्टी’ ‘निर्माण गरेका मिश्रसँग सो पार्टी एकीकरण भएपछि प्रदेशसभामा ३ सिट समेत जित्न सकेको थियो । मिश्र आफै काँग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए ।

कारण यस्तो

मूल्य मान्यताको राजनीति र सुसंस्कृत राजनीतिबाट पार्टी मोडिएको आरोप लगाउँदै उज्वल थापा समूह टुक्रिएको हो । पुस ३० गतेकालागि बाेलाइएको पार्टीको केन्द्रीय समितिको बैठक अघि पार्टी सदस्यहरु स्पष्ट रुपमा मुलतः रबिन्द्र मिश्र र उज्वल थापा गुटमा विभाजित देखिए। पार्टी नेताका अनुसार विवेकशील साझाका संयोजक मिश्र अर्का संयोजक थापाले हालै सार्वजनिक गरेको पार्टी समीक्षा प्रतिवेदनप्रति असन्तुष्ट छन्।

थापाको प्रतिवेदनमा गतवर्ष आमनिर्वाचनपछि पार्टीले लिएको कार्यनीति गलत रहेको उल्लेख गरिएको थियो। अर्कोतिर थापा पक्षले भने पार्टीभित्र मिश्रपक्ष हावी रहेको निष्कर्ष निकालेको छ। मिश्र र उनीपक्षका नेताहरुले मात्रै पार्टीमा शक्तिको प्रयोग गरिरहेका र विवेकशीलबाट आएकाहरुलाई कुनैपनि जिम्मेवारी नदिइएको थापा पक्षधरको आरोप छ।

विवादबीच पार्टी संयोजक मिश्रले ६ जना नयाँ केन्द्रीय सदस्य थप्न लागेको तथा पार्टीका विभागलाई निस्कृय वनाउन लागेको आरोप थापा पक्षको छ। वहुसंख्यक थापा निकट केन्द्रीय सदस्यहरु थापाले जारी गरेको प्रतिवेदन आगामी केन्द्रीय समितिमा छलफलको मुख्य बिषय हुनुपर्ने बताउँदै थिए । तर, आश्चर्यजनक रुपमा आज उनीहरु पार्टी फुटाउन अग्रसर बने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ