पोखरा । पोखरा महानगरपालिकाले मापदण्ड मिचेर बनाएका जनप्रतिनिधिका घरमा डाेजर चलाएकाे छ। महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र वडा नम्बर ५ मै पर्ने बुलौंदी खोलाको मापदण्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो ।
महानगरपालिकाले सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले फिर्के खोलाको मापदण्ड बिपरित बनाएको फिर्केखोलाको घर डोजर लगाएर भत्काएको हो । डोजरसहित पुगेको महानगरपालिकाको टोलीले हालसालै ढलान गरेको एक तले घरको पिलरसहित घरको संरचना भत्काएको हो ।
पटकपटक सूचना पठाउँदा पनि अटेरी गरेकाले भत्काउनु परेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए। ‘सुरुबाटै हामीले नबनाउन आग्रह गर्दै आएका थियौं तर मान्नुभएन। हिजो (आइतबार) ढलान नै गर्नुभयो,’ उनले भने, ‘पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि मेयरसाबले भत्काउने आदेश दिनुभएको हो।’
नेपालीले पहिले पनि पटकपटक परियारको सामान जफत गर्दै लगेको जानकारी दिए। उनले भने, ‘पहिले जग बसाल्दा नै बेल्चा, घन, गैंचीलगायत सामान उठाएर लगेका थियौं। उहाँले अटेर गरिरहनुभयो।’ परियारले नेपाल स्काउट कास्की शाखासँगैको जग्गामा मापदन्ड विपरीत संरचना जेठ ४ बाट बनाउन सुरु गरेकी थिइन्।
डोजरले भत्काएको घर बस्न नमिल्ने भएको छ । घर भत्काउन नदिन वडा सदस्य परियारले डोजरलाई रोक्ने भरमग्दुर प्रयास गरेकी थिईन् । उनले डोजरको बकेटमासमेत बसेर भत्काउने कार्य रोक्नका लागि प्रयास गरेपनि उनको प्रयास सफल भएन । आफूलाई मारेर लासमाथीबाट डोजर चलाउन चेतावनी दिएकी उनलाई नेपाल प्रहरीको महिला सदस्य र नगरपालिकाको महिला नगर प्रहरीले समातेर नियन्त्रणमा लिएपछि घर भत्काइएको थियो ।
वडा सदस्य परियारले भने आफूले वडाध्यक्ष र मेयरसँग मौखिक सहमति गरेरमात्रै घर बनाएको दाबी गरिन्। उनले भनिन्, ‘मेयर साबसँग दशौंचोटी बैठक गरेर मात्रै घर बनाएको हुँ। अहिले आएर त्यसै भत्काउन पाइन्छ?’ उनकोे पुरानो घरमा फिर्के खोलाको बाढी आएर पस्ने भएकाले माथि घर सारेको दाबी छ।
‘गरिब र सुकुम्बासी खोलाको पानी कोठामा पसेर मर्दा आवाज उठाउन सक्दैन। अहिले घर बनाएको भन्दै डोजर लगाउन पाउँछ?’ परियारले प्रश्न गरिन्, ‘फिर्केको मापदन्ड मिचेर सयौंले घर बनाएका छन्। के गरिबको कहिले दिन नआउने हो?’ उनले सो जग्गा २०४८ सालदेखि नै भोगचलन गर्दै आएको दाबी गरिन्।
भत्काइएको घर सार्वजनिक जग्गा हो भने फिर्के खोलाको मापदण्ड बिपरित पनि छ । सो घरले नेपाल स्काउटको केहि अंश जग्गापनि हडपेको बताइन्छ । नेपाल स्काउटको जिल्ला कार्यालयले आफ्नो जग्गा मिचिएको भन्दै वडा कार्यालय, महानगरपालिका र अख्तियारमासमेत निवेदन दिएको बुझिएको छ ।
विष्णुलाई मापदण्ड बिपरित पटक÷पटक घर नबनाउन सचेत गराउँदापनि अटेर गरी बनाएकाले घर भत्काएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बरालले बताए । उनले भने,‘मापदण्ड बिपरित घर नबनाउनुस् भनेर महानगरपालिकाले पटक÷पटक सचेत गराएकै हो, चिठीसमेत लेखेर घर निर्माण कार्य रोक्न भनेकै हो, जग निर्माण गर्दादेखी सचेत गराउँदै आएको महानगरले घरमा ढलान नगर्न चेतावनीसमेत दिएपनि अटेर गरी बनाएकाले घर भत्काइएको हो ।’
घर निर्माणमा करीब ९ लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिईन् । उनले नमूना महिला समूहबाट १५ लाख रुपैयाँ ऋण लिएर घर बनाउन शुरु गरेको छिमेकी जमुना देवका कोइरालाले बताईन् ।
त्यस्तै महानगरपालिकाले सोमबारै पोखरा ५ धारापानीमा रहेको भरत लिगलको अवैध घर पनि भत्काएको छ । पर्ती जग्गामा महानगरपालिकाबाट अनुमति नलिई बनाएकाले घर भत्काएको पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । ३० वर्षदेखी भोगचलन गर्दै आएको दाबी गरेपनि लालपूर्जा नभएको ठाउँमा जबरजस्ती घर बनाएकाले डोजर लगाउनुपरेको उनको भनाई छ ।
यसैगरी महानगरपालिकाले सोमबारै पोखरा ५ बुलौंदी खोलाको मापदण्ड बिपरित घर बनाएपछि जमुना क्षेत्रीको घरपनि भत्काएको छ । लालपूर्जा भएको जग्गा हुँदाहुँदै पर्ती जग्गा हडपेर घर बनाएकाले डोजर लगाएर भत्काएको वडाध्यक्ष नेपालीले बताए ।
यसैबीच, महानगरले अतिक्रमित जग्गा भत्काउन थालेपछि केही महानगरबासीले ५ दिनभित्रमा आफैं भत्काउने प्रतिबद्धता गरेका छन्। पोखरा ५ सिमाना मार्गमा मापदण्ड बिपरित बनेको बासुदेव आचार्यको घर आफैले भत्काउन थालेपछि महानगरपालिकाले डोजर नलगाएको वडाध्यक्ष नेपालीले जानकारी दिए । प्रतिबद्धता गर्नेमा युवराज खतिवडाले प्रयोग गरेको रामचन्द्र भण्डारीको घर, वासुदेव आचार्यको ३ कोठे भवन, शान्त बतास १ कोठाको भवन छ। उनीहरुले सोमबार नै महानगरसँग ५ दिनभित्र घर भत्काउने लिखित सहमति गरेका छन्।
सम्बन्धित खबर
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
‘पोखरा एक्स्चेन्ज एण्ड टेस्ट ड्राइभ कार्निभल’ सम्पन्न, २ सय भन्दा बढीले गरे टेष्ट ड्राइभ
१२ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा ‘यूएनभी’
टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै
उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी