रौतहट — कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि जेलमुक्त भएको खुसियालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै विद्यालयमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।
उनी हेलिकप्टर चार्टर गरी शनिबार गृहनगर रौतहट पुगे । अदालतको सफाइले जेलबाट छुटेलगत्तै उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेका थिए । शनिबार भने उनी हेलिकप्टरबाट कटहरियास्थित जनता माविको प्रांगणमा उत्रिए । उनलाई नगरवासीले फूलमाला, खादा र दोसल्ला ओढाएर स्वागत गरे ।
उनका साथमा नेकपा नेता तथा सांसद प्रभु साह, प्रदेश सांसद कुन्दन कुशवाहालगायत नेता आएका थिए । त्यसपछि मेयर कुशवाहा कटहरिया डुमरिया र जमुनियामा राखिएको स्वागत सभामा पनि हेलिकप्टर लिएरै पुगेका थिए । उनलाई गाउँमा भव्य स्वागत गरिएको थियो ।
मेयर कुशवाहालाई सर्वोच्चले निर्दोष सावित गरेको खुसियालीमा आइतबार नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका विद्यालयमा सार्वजनिक बिदा हुनेबारे नगरपालिकाले शनिबार सूचना नै जारी गरेको छ ।

गत वैशाख २७ गते राजधानीबाट पक्राउ परेका कुशवाहालाई सर्वोच्चका न्यायाधीशद्वय शारदा घिमिरे र डम्बर शाहीको इजलासले सफाइ दिएको हो । उनी शुक्रबार ५ बजे डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
झन्डै ९ महिना लामो कारागार बसाइपछि रिहा भएका कुशवाहा शनिबार आफ्नो गाउँ कटहरिया आएका हुन् । ‘न्यायालयले ममाथि न्याय गरेको छ,’ उनले भने, ‘यो जनताको जित हो ।’ आफू निर्दोष भएको र राजनीतिको सिकार बनेको उनले दाबी गरे ।
विश्व हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशी तिवारीको वीरगन्जमा भएको हत्या मुद्दामा कुशवाहा जेल परेका हुन् । वीरगन्जको अशोकबाटिकास्थित शिव–पार्वती मन्दिर परिसरमा तिवारीलाई मोटरसाइकलमा आएकाले २०६७ असार १२ गते गोली हानी हत्या गरेका थिए ।
मोटरसाइकल चालक बाराको हरैयाका अमन कुशवाहा पक्राउ परेपछि उनकै बयान आधारमा कुशवाहाको संलग्नता खुलेको प्रहरीले जनाएको थियो । घटनापछि फरार कुशवाहालाई ३ वर्षपछि २०७० पुस १ गते चितवनको भण्डाराबाट पक्राउ गरी जिल्ला अदालत पर्सामा पेस गरिएको थियो ।
हत्यामा उनको संलग्नता नरहेको भन्दै अदालतले सफाइ दिएको थियो । जिल्ला अदालत बाराको फैसला उल्टाउँदै उच्च अदालत जनकपुरको इजलास वीरगन्जले कुशवाहलाई सर्वस्वसहित जन्मकैद सजाय सुनायो ।
न्यायाधीशद्वय नारायणप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले तिवारी हत्यामा दोषी ठहर गर्दै मेयर कुशवाहलाई गत फागुन २८ गते जन्मकैद फैसला गरेको हो । त्यतिबेला उनी मेयर भइसकेका थिए । स्थानीय तह निर्वाचनमा कांग्रेसका अजयप्रकाश जैसवाललाई ५ सय ५१ मतले पराजित गर्दै तत्कालीन माओवादी केन्द्रबाट कुशवाह कटहरिया नगरपालिकाको मेयरमा विजयी भएका थिए ।
फैसलापछि पनि कुशवाहा नगरपालिकाको गतिविधिमा सक्रिय हुँदै आएका थिए । फैसलाको झन्डै डेढ महिनापछि उनलाई पक्राउ गरी बुझाउन उच्च अदालतले प्रहरीलाई पत्राचार गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी सुटुक्क राजधानी गए । त्यही क्रममा प्रहरीको अनुसन्धान ब्युरोले काठमाडौंको शान्तिनगरबाट पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो