सञ्चारिका समूह, गण्डकीमा स्मिता

सञ्चारिका समूह, गण्डकीमा स्मिता

Sancharika (2)

पोखरा । सञ्चारिका समूह, गण्डकी प्रदेशको पाँचौ अधिवेशनले स्मिता अधिकारीको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राधिका कँडेल, महासचिवमा कविता श्रेष्ठ, सचिवमा कञ्चन थापा र कोषाध्यक्षमा उमा आलेमगर चयन भए ।

प्रदेश समितिका सदस्यहरुमा रोशनी गुरुङ, तारा चापागाईं दुवे, पुनम मगर, दुर्गा रानामगर, कविता घर्तीमगर, सोनिया लामा, अनिशा श्रेष्ठ (जयन्ती) चयन भएका छन् । प्रदेश अन्तर्गतका जिल्लाहरु गोरखा, तनहुँ, लमजुङ, पर्वत र स्याङ्जाका अध्यक्षहरुलाई प्रदेश सदस्यमा राखिएको छ । नवनिर्वाचित अध्यक्ष अधिकारीले आफू सबैलाई समेटेर जान पहिल्यैदेखि तयार रहेको भन्दै पत्रकार महिलाको क्षमता अभिवृद्धि, हक हित संरक्षण गर्ने प्रतिवद्धता जनाईन् ।

केन्द्रले अभिभावकीय जिम्मेवारी पूरा गर्न नसकेको आरोप

सञ्चारिका समूह २०५२ सालमा स्थापित पूरानो र अग्रणी पत्रकार महिला आबद्ध संस्था हो भन्दै पत्रकार महिलाहरु मुक्तकण्ठले चर्चा गर्छन् । यहाँ सञ्चारिका समूह पञ्चिमाञ्चल क्रियाशील छ । सञ्चारिका समूह नेपालको यो अग्रणी शाखा हो । तर, पहिलो पटक संघीय संरचना अनुसार प्रदेशको अधिवेशन हुँदै गर्दा केन्द्रबाट एक जना प्रतिनिधि नआएको गुनासो सपथ ग्रहण समारोहमा गरियो । दुई दिनसम्म लम्बिएको अधिवेशनबाट जव नयाँ समिति घोषणा भयो, केन्द्रीय अध्यक्ष नीता पण्डित हस्ताक्षरित विज्ञप्ती मार्फत अधिवेशन स्थगित गर्न निर्देशन आयो । त्यसपछि, असन्तुष्ट समूहले विज्ञप्ती जारी गर्दै अमान्य हुने बतायो । तर, निर्वाचन मण्डलले भने प्रक्रियामा कुनै विवाद नभएको भन्दै खण्डन गरेको छ ।

सपथ कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले भनेः ‘यति पूरानो र ठूलो संस्थाको पहिलो प्रदेश समिति गठन हुँदै गर्दा एक जना पनि प्रतिनिधि नआएको साँच्चै हो भने दुःख लाग्ने विषय हो । यो त केन्द्रकै मुख्य शाखा हुनुपर्छ । अहिले सबै अधिवेशनका कार्यक्रम सकिएपछि समिति घोषणाका बेला केन्द्रबाटै रोक्न भन्नु अभिभावकीय दायित्व होईन । केन्द्रिय प्रतिनिधि नै आउनुपथ्र्यो । नआएपछि जसरी भयो, नाम घोषणा भएपनि रोक्नु झनै विवादित बनाउने काम भयो ।’

यसअघि, उद्घाटन समारोहमै निवर्तमान अध्यक्ष जमुना बर्षा शर्माले मंसिर मसान्त सम्म अधिवेशन गरिसक्नु भनेर एक हप्ता अघि मात्रै जानकारी आएकाले हतारमा गर्नुपरेको बताएकी थिईन् । उनले संस्थामा सबैलाई समेट्न नै जिल्ला अध्यक्षहरु सदस्यमा राखेको जनाईन् । अझै पनि सहमतिमा आउन साथीहरु तयार रहेको उनको भनाई छ ।

अधिवक्ता भगवती पहारीले सबै प्रक्रिया विधिसम्मत ढंगले भएको भन्दै अहिले आएर विवाद निकाल्नु पाच्य कुरा नभएको बताईन् । उनले आफूहरुले दिएको जिम्मेवारी निष्पक्ष ढंगले पूरा गरेको तर उम्मेदवारी दर्तामा असन्तुष्ट समूह नआएकाले जसले दर्ता गराए, उनीहरु चयन भएको स्पष्ट पारिन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले आफू भए ठीक, नभए हुन्न भन्ने प्रवृत्ति राम्रो नभएको भन्दै सबै मिलेर अघि बढ्न सुझाव दिए । आफू पत्रकार महासंघ कास्कीको सचिव भएका बेला स्मरण गर्दै उनले भने– ‘म पनि सचिव हुने बेला कत्ति रोक्ने प्रयास भयो ? म भएँ त । नेतृत्व लिने बेला यस्तै हो । अघि बढ्ने हो ।’

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पूण्य पौडेलले महिलाको हक अधिकारका लागि पत्रकार महिला अग्रसर हुनुपर्ने बताए । पूर्व अध्यक्ष सुष्मा पौडेल, प्रेस चौतारीका तर्फबाट अध्यक्ष माधव बराल, प्रेस सेण्टरका तर्फबाट माधव पनेरु लगायतले नेतृत्व चयन कहिल्यै विवादरहित बन्न नसक्ने भन्दै आँखा चिम्लेर अघि बढ्न सुझाए ।

शनिबार नेतृत्व चयन हुन नसकेपछि आईतवार सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचित पदाधिकारी सदस्यलाई निर्वाचन मण्डल संयोजक अधिवक्ता एवं संस्थापक अध्यक्ष दुर्गा भण्डारीले सोमबार सपथ गराइन् । भण्डारीले आफूहरुले दिएको जिम्मेवारी पूरा गरेको जनाउँदै दुःख गरे अघि बढाएको संस्था विवादमा रुमल्लिन नहुने बताईन् ।

असन्तुष्ट समूह भन्छन्ः पुनः निर्वाचन हुनुपर्छ

तर केही पत्रकारहरुले चाहीँ अधिवेशन नै अवैधानिक भएको भन्दै पुनः निर्वाचनको माग गरेका छन् । गण्डकी प्रदेशको यसअघिकी उपाध्यक्ष विमला भण्डारी सहित ४ जिल्लाका अध्यक्षहरुले पुनः निर्वाचनको माग गरेका छन् । केन्द्रिय कार्यसमितिले समेत अवैध भएको भन्दै अधिवेशन स्थगीत गर्न निर्देशन गरेकोले केन्द्रको निर्देशन अनुसार तत्कालै नयाँ प्रक्रिया सुरु गर्न उनीहरुको माग छ ।

‘गण्डकी प्रदेशको अधिवेशन स्थगीत गर्न केन्द्रिय समितिले दिएको निर्देशनलाई अवज्ञा गर्दै सो–घोषित रुपमा चयन गरिएको कार्यसमितिप्रति हाम्रो असहमति छ, विज्ञप्तीमा भनिएको छ–महिला हक हितको लागि कार्यरत संचारिका समूहको केन्द्रदेखि जिल्ला तहसम्म सबैलाई समेट्ने गरि नेतृत्व चयन गरेकोमा आफूखुशी कार्यसमिति गठन गरिएको प्रति हाम्रो गम्भीर आपत्ति छ । केन्द्रिय समितिले स्थगीत गरेको निर्देशनात्मक पत्रलाई लत्याई गठन गरिएको कार्यसमिति बैधानिक हुनै नसक्ने हाम्रो निष्कर्ष छ ।’

गण्डकी प्रदेश समिति भनिएपनि कास्की बाहेक अन्य जिल्लाका पत्रकारहरुको प्रतिनिधित्व नरहेको र सदस्यता वितरण तथा निर्वाचन कमिटी नै बैधानिक नभएकोले पुनः केन्द्रिय विधान अनुसार केन्द्रकै समन्वयमा पुनः निर्वाचनको प्रक्रिया अघि बढाउन उनीहरुको माग छ ।

उपाध्यक्ष भण्डारी सहित तनहूँ अध्यक्ष सन्तोषी श्रेष्ठ, लमजुङ अध्यक्ष शान्त कमली, स्याङजा अध्यक्ष भवानी अधिकारी र पर्वत अध्यक्ष माया अधिकारीले संयुक्त रुपमा हस्ताक्षर गरेर विज्ञप्ती जारी गरेका हुन् ।

महिला अधिकारका लागि पत्रकार महिला लाग्नुस्ः मन्त्री पुन

शनिबार भएको उद्घाटन सत्रमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकमा भएका राजनीतिक परिवर्तनमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको बताइन् । उनको अबको पत्रकारिता समाजको समृद्धितर्पm उन्मुख हुनुपर्नेमा जोड दिइन् । उनले महिला अधिकार स्थापित गर्न पत्रकार महिला लाग्नुपर्ने बताईन् ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङ र राजीव पहारीले महिला हक अधिकारसँगै उनीहरूले भोगेका दुःख र पीडालाई पत्रकारिता क्षेत्रले उजागर गर्नुपर्नेमा जोड दिए ।

सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष जमुना शर्मा वर्षाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, समूहका उपाध्यक्ष विमला भण्डारी, महासचिव कविता श्रेष्ठलगायतले पत्रकारिता क्षेत्रमा महिलाको निरन्तरता जरुरी भएको विचार राखे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ