केशव स्थापित मन्त्रीबाट बर्खास्त

केशव स्थापित मन्त्रीबाट बर्खास्त

keshav-sthapit

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् ।

बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो । त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेका थिए ।

मी टू अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारीबाट आरोप खेपिरहेका स्थापितले मन्त्रिपरिषद् बैठकमै अभद्र व्यवहार गरेपछि उनको पद संकटमा परेको थियो । केशव स्थापितले काम प्रभावकारी रुपमा नगरेको र आफूलाई अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई मन्त्री पदबाट हटाउनु पर्ने निश्कर्षमा प्रदेश तीनका मुख्यमन्त्री डोर मणि पौडेल पुगेका हुन् ।

बुधबारको मन्त्रीपरिषद् बैठकमा मुख्य मन्त्री पौडेलले सबैभन्दा धेरै बजेट छुट्याए पनि प्रभावकारीरुपमा काम किन हुन सकेन भन्ने प्रश्न गर्दा भौतिक पूर्वधार तथा विकास मन्त्री स्थापित मुख्यमन्त्री पौडेलसँग एकाएक आक्रोशित बनेका थिए।

बैठकमा सहभागि एक मन्त्रीका अनुसार मन्त्री स्थापितले मुखै छोडेर मुख्यमन्त्री पौडेललाई गालीगौलज गरेपछि पौडेल उनलाई आफ्नो मन्त्रीमन्डलमा नराख्ने निधोमा पुगे । त्यसका लागि पार्टी नेतृत्वसँग छलफल गर्न भोलीपल्टै अर्थात बिहीबार उनी काठमाडौँ पुगे।

सरकारी कामकारवाही, बजेट कार्यान्वयन, कार्यविधि लगायत समसामयीक ऐजण्डामाथि छलफल भइरहेका बेला मन्त्री स्थापित निकै उत्तेजित र अभद्ररुपमा प्रस्तुत भएको त्यहाँ सहभागि अन्य मन्त्रीहरुले समेत पुष्टि गरेका छन्।

बैठकमा सहभागि अर्का मन्त्रीका अनुसार मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई धम्की समेत दिएका छन्। मुख्यमन्त्री पौडेलले यति धेरै चुनौति देखिरहेका बेला तपाईको मन्त्रालको काम प्रभावकारी हुन सकेन । तपाई (स्थापित)को ध्यान काममा पटक्कै छैन भनेका थिए। त्यसको जवाफमा मन्त्री स्थापितले आफ्नो कामको मुल्याङकन व्यवहारिकढंगबाट नगरिएको बताएका थिए।

मुख्यमन्त्रीसँग विवाद भएपछि मन्त्री स्थापित पौडेलअघि नै प्रधानमन्त्री ओलीसँग भेट्ने कोसिसमा रहेका थिए। स्थापितले मुख्यमन्त्री पौडेलसँग विकासका अवधारणाको विषयमा फरक बुझाइ रहेको बताए। उनले काम नहुनुमा आफू मात्रै जिम्मेवार नभएको दाबी गरे।

‘मेरो स्वर नै ठूलो हो। बोल्दा चर्कोजस्तो भइहाल्छ। तर, मुख्यमन्त्री र मेरो विकाससम्बन्धी अवधारणा नै फरक रहेको छ,’ स्थापितले भने, ‘काम हुन नसकेकोमा मुख्यमन्त्रीलाई दबाब होला। काम नहुनुमा मेरो मात्रै कमजोरी रहेको छैन।’

प्रदेश ३ का अर्का एक मन्त्रीका अनुसार स्थापित पहिलेदेखि नै मन्त्रिपरिषदको बैठकमा अलि चर्को र असमान्य रुपमा प्रस्तुत हुन्थे। ‘तर बुधबारको बैठकमा स्थापित मुख्यमन्त्रीविरुद्ध गालीगलौजमै उत्रिए’, उनले भने, ‘विगतमा असहमति वा असन्तुष्टी हुन्छ तर त्यसलाई मर्यादित रुपमा राख्नुहोस् भनेर सम्झाउने गरको थियौं, हिजोको बैठकमा उनको प्रस्तुती सबैलाई छक्क पार्ने प्रकारका थियो।’ ‘मन्त्री स्थापितले मुख्यमन्त्रीलाई ठूलो अपमान गर्नु भएको छ । कुनै कुरा चित्त नबुझेको भए सभ्यरुपमा प्रस्तुत हुन पनि सकिन्थ्यो तर मन्त्री स्थापित त्यस्तो अवस्थामा हुनुहुन्थेन’, बैठकमा सहभागि अर्का मन्त्रीले भने।

स्थापितसँगको विवादपछि मुख्यमन्त्री पौडेलले एकै मन्त्रिपरिषदमा उनीसँग काम गर्न नसक्ने बताएका थिए । काठमाडौं महानगरपालिकामा पूर्व मेयरसमेत रहेका स्थापितले पहिले मुख्यमन्त्रीमा दाबी गर्दै आएका थिए। तर हेटौँडा नगरपालिकामा पूर्व मेयर रहेका पौडेलले मुख्यमन्त्रीमा बाजी मारेपछि दुबैका बीचमा टकराव देखिन थालेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ