निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन अझै स्वीकृत हुन सकेको छैन । राष्ट्रिय गौरवको यो विमानस्थल निर्माण थालेको डेढ बर्ष पुरा भइसक्दा समेत डिजाइनमा अन्योल कायम छ ।
विमानस्थल निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङका आयोजना व्यवस्थापक जेरी याङले विमानस्थलको १७ प्रतिशत काम सकिँदा समेत डिजाइन स्वीकृत नभएको गुनासो गरेका छन् ।
डिजाइन स्वीकृत नहुँदा निर्माण कार्यलाई तीब्रता दिन नसकिएको उनको भनाइ छ । १८ साउनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले शिलान्यास गरेको टर्मिनल भवनको जग हाल्ने खाल्डो मात्र खनिएको छ ।
डिजाइन परिवर्तन हुन सक्ने भएकाले टर्मिनल भवन निर्माणको काम अघि नबढाएको आयोजनाका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले बताएका छन् । उनकाअनुसार परामर्शदाता कम्पनीले डिजाइन स्वीकृत गरेर नागरिक उड्डयन प्राधिकरणमा बुझाउनुपर्छ ।
यता, नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विनेश मुनकर्मी चिनियाँ कम्पनीसँग इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एण्ड फाइनान्स (ईपीसीएफ) मोडेलमा निर्माण सम्झौता भएकाले डिजाइन पुरा हुन नसकेको धारणा राख्छन् । उनी भन्छन् “ईपीसीएफ मोडेलमा निर्माण र डिजाइनको काम सँगसँगै अगाडि बढ्छ ।”

त्यस्तै, विमानस्थललाई थप जग्गा चाहिने भन्दै कार्यालयका प्रमुख विनेश मुनकर्मीले आवश्यक जग्गा अधिग्रहणमा समस्या रहेको बताएका छन् ।
विमानस्थलको अनुगमनपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दीर्घकालिन दृष्टिकोण राखेर जग्गा अधिग्रहण गर्नुपर्ने बताएका छन् ।

विमानस्थल बनिसकेपछि अधिग्रहण गर्न सकिँदैन,” उनले भने, “५० बर्षपछि कति पर्यटक आउँछन् अहिले नै आँकलन गरेर अधिग्रहण गर्नुहोस् ।”
प्राविधिकहरुले थप जग्गा अधिग्रहणका लागि सर्भे गर्दा स्थानीयबासीले अवरोध गरेपछि अहिले अधिग्रहणको काम रोकिएको छ ।
यसरी हुँदैछ काम
आयोजनाको निर्माण कम्पनीले तोकिएको समय १० जुलाई २०२१ भन्दा अघि विमानस्थल निर्माण गरिसक्ने दाबी गरेको छ ।
अहिले जमिन सम्याउने, काट्ने, भर्नेलगायत ‘अर्थ वर्क’को काम ७० प्रतिशत सकिएको छ, भने रनवे र ट्याक्सी वेको स्वरुप निर्माण गरिएको छ ।
यस्तै जहाज पार्किङ, टर्मिनल भवन लगायतका काम समेत थालिएको छ । आयोजना निर्माण गर्न २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा हालसम्म झण्डै २० प्रतिशत रकम भुक्तानी भइसकेको छ ।
भारतीय अवरोध
सीएएमसीईका याङले विमानस्थल निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ खरीद प्रक्रिया लामो भएको गुनासो राखेका छन् । “विमानस्थलको जमिनको काम ७० प्रतिशत सकियो,” याङले भने, “अब ३० प्रतिशत काम विष्फोटक पदार्थ नहुँदा रोकिएको छ ।”
भारतबाट विष्फोटक पदार्थ खरीदका लागि नागरिक उड्डयन प्राधिकरणमार्फत रक्षा मन्त्रालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृत पाएर फाइल काठमाडौंस्थित भारतीय दूतावासमा पुगेर रोकिएको छ ।
याङका अनुसार बाँकी ६५ प्रतिशत जमिनमा चट्टान छ । जहाँ विष्फोटक पदार्थ विना काम अघि बढ्न सक्दैन । विष्फोटक पदार्थ खरीदका लागि प्रक्रिया शुरु गरेको ६ महीनामा पनि नटुङगिएको उनको भनाइ छ ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो