निर्मला काण्डः नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्ट बर्खास्त

निर्मला काण्डः नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्ट बर्खास्त

Bist

काठमाडौँ — निर्मला पन्त हत्याको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ ।

गृह मन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।

निर्मला पन्तको बलत्कार पछि हत्या घटनामा प्रारम्भिक अनुसन्धानमा चरम लापरवाही गरेको, पीडितका आफन्त र सरोकारवालाहरुबाट प्राप्त गुनासोको सम्बोधन नगरेको, प्रमाण लोप गरेको र संदिग्ध भूमिका देखाएको ठहर गरिएको छ ।

घटनाको तीन महिनापछि गृह मन्त्रालयले अनुसन्धानको जिम्मेवारीमा रहेको प्रहरी अधिकारीकै त्रुटीका कारण घटनाको सत्य तथ्य बाहिर नआएको निष्कर्ष सहित कारबाही गरेको हो । दुवैलाई अयोग्य नहुने गरी बर्खास्त गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा गम्भीर लापरवाहीको आरोप खेपिरहेका एसपी विष्ट र इन्सपेक्टर भट्टलाई गृह मन्त्रालयले बुधबार दोस्रो पत्र काटेको थियो। गृह मन्त्रालयले ‘तपाईंलाई कारबाही किन नगर्ने?’ भन्दै मागेको स्पष्टीकरणको लिखित जवाफ एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टले दिएका थिए।

दुवैले आफूलाई कारबाही गर्नु नपर्नाका कारण सहितको जवाफ प्रहरी प्रधान कार्यालयको सचिवालयमा बुझाएका थिए। तर मन्त्रालयले उनीहरुको जवाफ चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।

एसपी र इन्सपेक्टरमाथि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको छानबिनमा गम्भीर लापरवाही गरेको आरोप छ।

कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिले उनीहरुले पदीय जिम्मेवारी अनुरुप भूमिका निर्वाह नगरेको र घटनापछिको अनुसन्धानका क्रममा श्रृंखलावद्ध त्रुटी गरेको र प्रमाणहरु नष्ट गरेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेको थियो।

गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको बलात्कार पछि हत्या भएपनि उक्त घटनाका मुख्य अभियुक्त अहिलेसम पक्राउ पर्न सकेका छैनन्। उक्त घटनामा संग्लनहरुको पहिचान गर्ने भन्दै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयल फरक–फरक टोली बनाएपनि घटनाको सत्यतथ्य खुल्न सकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ