आज महानवमी पर्व, जङ्गी निसानपूजा तथा कोतपूजा: वर्ष दिनमा खुल्ने तलेजु भवानीको मन्दिर आज खुला

आज महानवमी पर्व, जङ्गी निसानपूजा तथा कोतपूजा: वर्ष दिनमा खुल्ने तलेजु भवानीको मन्दिर आज खुला

durga_mata

काठमाडौँ । आज देशभर नेपालीहरूको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । आजै सवारी साधनहरूलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।

प्यागोडा शैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्छन् । मन्दिरमा लिपपोत तथा सरसफाइ सम्पन्न भएको छ भने सुरक्षाको व्यवस्था चुस्त बनाइएको अड्डाले जनाएको छ । अड्डाका अनुसार नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लाइनदेखि अन्य व्यवस्थापन गर्ने छन् ।

नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन् । मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ ।

सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ । सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् ।

राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ । वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ ।

राजा रत्न मल्लले सबैभन्दा पहिले भवानीको मन्दिर बनाएको भए पनि पछि विसं १६२० मा महिन्द्र मल्लले अहिलेको यो मन्दिर बनाएका हुन् । यही मन्दिरको माथिल्लो तलाबाट राजा महिन्द्र मल्लले जनताको घरमा धुरीबाट धुवाँ निस्किएको हेरेपछि मात्र खाना खाने गरेको किम्वदन्ती छ । यो मन्दिरमा दर्शन गरे रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख–समृद्धि मिल्ने जनविश्वास छ ।

काठमाडौँ उपत्यकाका तीन शहरबाहेक नुवाकोट, काभ्रे, दोलखा, नालालगायतका स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर छ । विसं २०७२ को विनाशकारी भूकम्पपछि तलेजु भवानी मन्दिर वरपर क्षति पुगे पनि पुनःनिर्माण भइरहेको छ । भूकम्प गएको वर्षमा पनि मन्दिर दर्शनका लागि सर्वसाधारणलाई रोकिएको थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ