तनहुँ । आज बडा दशैंको सातौँ दिन तनहुँको दमौलीस्थित कालिका मन्दिरमा बाजागाजाका साथ फूलपाती भित्र्याइएको छ । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघर तथा देवालयहरुमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।

तनहुँको दमौलीमा पनि श्रीकृष्ण दल गण चापाघाट, जिल्ला प्रहरी कार्यालय, व्यास नगरपालिका, कालिका शहिद शान्ति पार्क व्यवस्थापन समिति लगायतको संयुक्त सहभागितामा बाजागाजा सहित फूलपाती भित्र्याएको हो ।
नेपाली सेना र प्रहरी कार्यालयबाट ल्याइएको फूलको डोली बाजागाजा सहित दमौली बजारको परिक्रमा तथा व्यास-३ को विपि वनवाटीकामा रहेको वेलको फेदमा विधिपूर्वक पूूजा अर्चना गरी व्यास-४ को कालिका शहिद शान्ति पार्कको कालिका मन्दिरमा लगि फूलपाती भित्र्याइएको हो ।

विहान मन्दिरबाट उपासेहरु चोखो भएर कसैलाई नछोइ खाली खुट्टा हिँड्दै अशोकको फूल र बेलको बोटलाई निम्तो दिदै दरौँदी नदिमा गएर नुहाउने गर्दछन् । नुहाएपछि नदिबाट देउता उठाउने गरिन्छ । देउता उठाइसकेपछि फूलपाती मन्दिरमा नभित्र्याएसम्म कसैसँग पनि छुनु र बोल्न पाइँदैन । यतिसम्म कि पशुपन्छीलाई पनि छुन दिन नहुने परम्परा छ ।

नुहाइसकेपछि झोली बनाइन्छ, त्यस झोलीमा विहान निम्तो दिएको बेलको फूल, बेल पत्र, अशोकको फूल, अयन्ती, जयन्ती, आलती, मालती, पारिजातको फूल, कुभिण्डो, अदुवा, जनैलहरा विभिन्न जातका फलफूल टिपेर आफ्नो झोलीमा हालिन्छ । फलफूल हालेको झोली भुइँमा बिसाउन पनि नहुने परम्परा छ ।

अरुको बारीको फलफूल टिप्दा कसैलाई नसोधी टिप्ने गरिन्छ । कसैले थाहा नपाएर सोध्यो भने एक पटक उपासे भन्ने चलन छ । झोली भरिसकेपछि फूलपाती डाँडामा पुगेर जेठो, महिलो, साहिलो र कान्छो चार जना उपासे आराम गर्दछन् । मन्दिरबाट पठाएको डोली सझाउँछन् र पोशाक, माला, चन्दन लगाएर उपासेहरु पनि सझिन्छन् ।

बीच बाटोमा बाजागाजा सहित मन्दिरबाट पण्डित, मुलपुजारी, द्वारे र अन्य मानिस हरु लिन आउँछन् । विभिन्न पूजा विधि गरेर मन्दिरमा फूलपाती भित्र्याइन्छ । आज भित्र्याएको फूलपाती दशमीको दिनमा बाजागबजाका साथ विसर्जन गरिन्छ ।







सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते