काठमाडौं, २९ असोज । शाहवंशको विरासतका रूपमा रहेको शक्तिको प्रतिक श्रीपेच र राजदण्ड सोमबारदेखि सर्वसाधारणले हेर्न पाएका छन् । श्रीपेचलाई राजसंस्थाको सबैभन्दा ठूलो प्रतिकका रुपमा लिने गरिन्छ । नारायणहिटी दरबार संग्रहालयमा उक्त श्रीपेच र राजदण्ड प्रदर्शनीमा राखिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनीको शुभारम्भ गरे । उद्घाटनपछि नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले श्रीपेच अवलोकन गर्न पाएका छन् ।

सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री राखिएका छन् । पुरातत्व विभागले सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिएको जनाएको छ । बुलेट प्रुफ सिसासहितको सोकेसमा श्रीपेच राखिएको छ ।

२०६५ साल जेठ २९ गते पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्ने बेलामा श्रीपेच तत्कालिन गृहमन्त्री कृष्ण सिटौलाको जिम्मा लगाएका थिए । २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नारायणहिटी संग्रहालयको उद्घाटन गरेका थिए। पछि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सर्वसाधारणको लागि संग्रहालय खुला गरिएको थियो।

२०६५ साल फागुन १५ गते नारायणहिटी दरवार संग्रहालय भित्रका ५२ मध्ये १९ वटा कोठालाई सर्वसाधारणको लागि खुला गरिएको थियो । तर, श्रीपेच र राजदण्डलाई भने सुरक्षाको कारण देखाएर प्रदर्शनीमा राखिएको थिएन ।

दरबारभित्रकै शैलुङ कक्षमा सुरक्षित राखिएको थियो । आर्थिक वर्ष २०६८÷०६९ मा क्याविनेटको निर्णयलेनै यसलाई दरबार संग्रहालयको प्रदर्शनी कक्षमा राख्ने निर्णय गरेको थियो। झण्डै सात वर्षपछि यो निर्णय कार्यान्वयनमा आयो ।

जनआन्दोलनको बलबाट स्थापित संविधान सभाले मुलुकलाई गणतन्त्र घोषणा गरेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्डसहित राजकीय अवसरमा प्रयोग गर्ने सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेर दरबार छाडेका थिए ।

श्रीपेच र राजदण्ड सार्वजनिक समारोहमा प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबार संग्रहालयलाई दरबार इतिहास संग्रहालयको रुपमा विकास गरिने घोषणा गरे । त्यसमा हालसम्मका शासकहरुको इतिहासलाई समेटिने उनको भनाई थियो ।

संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विशेष सुरक्षा व्यवस्थाका साथ प्रदर्शनीमा राखिएको बताए । उनले स्वदेशी र विदेशी पर्यटकका साथै अध्ययताहरुका लागि पनि यो महत्वपूर्ण हुने बताए ।

श्रीपेचमा के छ ?
तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रन छन् ।
श्रीपेच बहुमूल्य रत्न र धातुबाट बनाइएको छ । श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज (हुमायो) नामक चराको पुच्छर हो । हुमायो चरा संसारबाटै लोप हुन लागेकाले श्रीपेचको पुनःनिर्माण असम्भव जस्तै छ ।

श्रीपेचको कथा
यो श्रीपेच कुन राजाको पालामा निर्माण भएको हो र यसको डिजाइन कसले गरेको भन्ने भन्ने बारेमा कुनै कागजात छैन । यो श्रीपेच त्रिभुवनको पालामा निर्माण भएको अनुमान छ । तर, त्यसपछि प्रत्येक नयाँ राजाले आफू राजा बनेपछि यसमा बहुमूल्य धातु थप्दै आकार आफू अनुकूल बनाउँदै गएका थिए । अहिलेको श्रीपेच तत्कालिन श्री ५ वीरेन्द्रले तीन पटकसम्म बनाउन लगाएका हुन् ।

काठमाण्डौका प्रेमलाल श्रेष्ठले श्रीपेचको नयाँ स्वरुप बनाएका हुन् । पहिले त्यो श्रीपेच कहिले बनेको थियो, उनलाई पनि थाहा छैन । उनलाई यत्ति थाहा छ, राजा वीरेन्द्रले शुभराज्यभिषेकमा उनले बनाएको श्रीपेच पहिरिएका थिए। त्यही श्रीपेच पछि ज्ञानेन्द्रले पनि पहिरिए ।
२०२८ सालमा राजा महेन्द्रको निधनपछि वीरेन्द्रको राज्यारोहरण भयो। हनुमानढोका भित्रको नासल चोकमा उनले श्रीपेच पहिरिए। श्रीपेचले उनको टाउको च्यापेछ। तत्काललाई त्यही श्रीपेचले काम चलाएपनि अब ठूलो आकारको नयाँ श्रीपेच बनाउनुपर्ने कुरा चल्यो। दरबारमा चलेको कुरा प्रेमलालसम्म पुग्यो। उनले नै श्रीपेच ठूलो बनाउन सकिने सुझाए।
दुई जना कालिगढ लिएर दरबार गए। दरबारका प्रतिनिधिको रोहबरमा एक कोठामा उनीहरू श्रीपेच ठूलो बनाउने काममा जुटे। पहिलोचोटी बनाएर राजालाई दिए। तर त्यो राम्रो भएन।
‘लेफ्ट राइट गर्दा फेल भयो’, श्रेष्ठले भने। त्यसपछि राजा वीरेन्द्रले यहाँ नसकिने भयो अब इंग्लयाण्डमा बनाउन पठाउनु र्पयो भने। यता श्रेष्ठको निद चैनहराम भयो। उनले बेलायत पठाउनुभन्दा फेरि एक पटक मौका पाए राम्रो बनाउन सकिने जाहेर गरे।

‘बाहिर लगे सक्कली निकालेर नक्कली हालिदेला भन्ने पनि डर’ श्रेष्ठले आशंका पनि जाहेर गरे। वीरेन्द्रलाई कुरा चित्त बुझ्यो। फेरि बनाउनू भन्ने आदेश दिए। दोस्रो चोटी बनाएको श्रीपेच पहिलेको भन्दा राम्रो भयो तर राजालाई चित्त बुझेन। फेरि बनाउन भने।
उनीहरुको तेस्रो प्रयास भने सफल भयो। करिब डेढ महिनासम्म मेहनत गरी बनाएको श्रीपेच राजा वीरेन्द्रले शुभराज्यभिषेकको दिन पहिरिए।
नेपालका राजाहरुले कहिलेदेखि श्रीपेचको प्रयोग गर्न थाले भन्ने कुराको प्रमाणिक दस्तावेज नभएपनि राजेन्द्रबिक्रम शाहको पालादेखि राजाहरुले र माथवरसिंह थापाको पालादेखि प्रधानमन्त्रीले प्रयोग गर्न थालेको बताइन्छ ।
राजा पृथ्वीनारायण शाह आफैंले बनाउन लगाएको नुवाकोटमा रहेको उनको शालिकमा श्रीपेच लगाइएको छैन। नेपालमा कुन बेलादेखि यसको सुरूवात भयो भन्ने बारेृमा समेत इतिहासविदहरू एकमत देखिदैनन्। श्रीपेच लगाउने रोमन संस्कृति कहिले नेपाल भित्रियो भन्ने बारेमा पनि यकिन छैन।


तस्विरहरुः कान्तिपुर, सेतोपाटी, देशसञ्चार, रातोपाटी
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो