श्रीया हत्याकाण्डः कुकुर अर्कै बाटो लागेपछि ढुक्कै थिए हत्यारा

श्रीया हत्याकाण्डः कुकुर अर्कै बाटो लागेपछि ढुक्कै थिए हत्यारा

shreeya Facebook

पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रीया सुनार सोमबार साँझदेखि हराइन् । मंगलबार बिहानै क्षतविक्षत शव भेटियो । परिवार र गावै रनाहामा पर्‍यो । कास्की प्रहरी पनि झस्क्यो ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका बलात्कारी र हत्यारा पत्ता लाग्न नसक्दा सिंगो प्रहरी प्रशासन र सरकार जनआक्रोशको तारो बनेको बेला कास्कीमै बालिका बलात्कृत भएर मारिँदा अपराधी कसरी खोज्ने भन्ने चुनौतीले प्रहरीलाई घोचिहाल्यो ।

कञ्चनपुरमा प्रहरीले नै बदनियतपूर्वक प्रमाण नष्ट गरेको समाचार सुनेका स्थानीयले यहाँ पनि प्रहरीको विश्वास नमानेर सुरुमा श्रीयाको शव लैजान दिनसमेत मानेका थिएनन् । तर कास्की प्रहरीले उनको शव भेटिएको १२ घन्टाभित्र हत्याको आरोपमा श्रीयाकै छिमेकी २७ वर्षे कुसुम पौडेललाई समातेर बुधबार सार्वजनिक गरेको छ ।

कसरी समात्यो त प्रहरीले श्रीयाका हत्यारा ?

शव उठाएपछि सादा पोसाकका प्रहरीको ४ जनाको टोली पुम्दीभुम्दी कोदी गाउँमा खटियो । टोलीले कोदी र त्यस वरपर गाउँमा गाँजा, रक्सी लगायत लागुऔषध प्रयोग गर्ने व्यक्तिमा अनुसन्धान केन्द्रित ग¥यो । त्यहाँ वरिपरि लागुऔषधि प्रयोगकर्ता भेटेन ।

टोली पुम्दीभुम्दीको माथिल्लो भाग स्तूपतिर लाग्यो । ग्राहकको भेषमा रेस्टुरेन्टतिर पसेर चाउचाउ खायो । त्यसबेला पनि टोलील लागुऔषध प्रयोगकर्ता खोजिरहेको थियो । लागुऔषध प्रयोकर्ता नभेटेपछि अनुसन्धान टोली विकको मामाघरतर्फ लाग्यो । टोलीले श्रीयाकी हजुरआमा र माइजुसँग सम्पूर्ण विवरण माग्यो । त्यसपछि अनुसन्धान टोलीको ध्यान बालिकाको घरतिर मोडियो । घरमा आमा रुँदै थिइन् । टोलीले बालिकाको हजुरआमा र हजुरबासँग सोधपुछ गर्‍यो ।

मंगलबार साँझ ६ बजेको थियो प्रहरीको अनुसन्धानमा केही सुधार आएको थिएन । ६ बजेपछि बालिकाको पोस्टमार्टम रिपोर्ट आयो । टोलीलाई पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले ‘योनीमा सानो अंग छिरेको’ भन्ने खबर दिए ।

सोही अनुसार प्रहरीले १२ देखि १६ वर्ष उमेरमा केटाहरुको खोजी सुरु गर्‍यो । पहिलोपटकमा अनुसन्धान गरेको जसरी नै प्रहरीले किशोर उमेरका लागुऔषध प्रयोग गर्ने केटालाई खोजी गरे । तर नतिजा भने शून्य निस्कियो ।

अनुसन्धान र सोधखोजकै समयमा प्रहरीले एक व्यक्ति भेट्टयो जसले दिएको क्लुकै आधारमा कुसुम पक्राउ परे । तिनले प्रहरी भनेका थिए, ‘हिजो बेलुका म घरतिर आउँदा कुसुमले तल कुवामा कपडा धोइरहेको थियो । म माथि उक्लँदै थिएँ, उसले अपर्झट रोक्न खोज्दै भन्यो—तपाईं माथि नजानोस्, माथि हामीले मान्छे मारेर फालेका छौं, तपाईं पनि पर्नुहोला ।’

ती व्यक्तिले जनाऊ दिएका व्यक्ति कुसुमै थिए । गाउँ डुल्ने बहाना बनाउँदै टोली कुसुमको घरतिर लम्कियो । कुसुम घरमै भेटिए । ४ जना अपरिचित देख्नासाथ कुमुमको अनुहारको रङ बदलियो । कालोनीलो भइहाले । तर सिभिल पुलिस टोलीले आफूहरुलाई केही थाहा नभएको भान पार्‍यो । कुसुमले चिया पकाएरै खुवाए । टोलीले तुरुन्तै पक्रेन, मनोविज्ञान बुझ्योमात्रै ।

४ जनाको टोलीले थप प्रहरी झिकाए । अँध्यारो भइसकेपछि पनि कुसुमलाई तुरुन्तै पक्राउ गरेन । राति ११ बजेपछि मात्रै घरभित्रै बाटै उठाएर बाहिर ल्यायो । बाटोतिर ल्याइसकेपछि कुसुमसँग सामान्य सोधपुछ गर्दा उनका रक्सी पार्टनरहरुको नाम आयो । ती सबै घरघरबाटै एकएक समातिए । सबै एककट्ठा गरी सोधपुछ गर्दा कुसुमले अपराध ओकलिहाले । अरु छाडिए र कुसुम जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा थुनिए ।

प्रहरीसँग कुसुमले श्रीयामाथि जबरजस्तीको प्रयास गरेकोदेखि हत्यासम्मको घटना ओकलिसकेका छन् । बिस्कुट किन्न पसलतिर आइरहेकी बालिकालाई बाटोमा पौडेलले बाटोमा देखे । उनले ५ रुपैयाँ दिए । फेरि १० रुपैयाँको लोभ देखाए । पैसा देखाउँदै आफूतिर डाके ।

जब उनी नजिक आइन्, पैसा दिएनन्, बरु जबरजस्ती समात्न खोजे । बालिका चिच्च्याइन् । कुसुमले हुत्याइदिए । उनी लडिन् । पौडेल जबरजस्तीमा उत्रिए । एउटा हातले घाँटी थिच्दै अर्काेले कपडा खोल्न थाले । गुप्तांगमा औंला प्रवेश गराए । बालिका बेहोश भइन् । बालिका बेहोश भएको भेउ पाएपछि टाउकामा ढुंगाले हाने ।

कुसुमले अगाडि र पछाटि गरी ३ पटक ढुंगाले हानेको प्रहरीलाई बताएका छन् । प्राण गइसकेकी बालिकालाई झाडीतिर मिल्काइसकेपछि उनले फेरि ढुंगा प्रहार गरेको स्वीकारेका छन् ।

बालिका मारेपछि कुसुम मुन्तिर कुवा गए । फोहोर भएको आफ्नो कपडा कुवाको पानीले पुछपाछ गरे । त्यही बेला एक प्रौढ उकालो लाग्दै थिए । तिनै व्यक्तिलाई कुसुमले माथि नजान भनेका थिए । हाकाहाका बोले, ‘माथि नजानोस्, हामीले मान्छे मारेर फालेका छौं, तपाईं पनि पर्नुहोला ।’

भोलिपल्ट श्रीयाको शव गाउँलेले देखे । कोलाहल मच्चियो । मान्छे जम्मा हुन थाले । हल्लीखल्ली भयो । कुसुम घरमै थिए । श्रीमतीले भनिन्, ‘गाउँमा यत्रो घटना भा’छ तपाईं किन नजानुभाको जानोस् ।’ कुसुम गए । प्रहरी कुकुर सहित आएको देखे । उनी डराए । ‘अब यहीं भन्दिन प¥यो मैले मारेको हुम् भन्ने भयो,’ प्रहरीसँग कुसुमले भनेका छन्, ‘कुकुर मैतिर आउला भन्ठान्याथें, तर आएन । कुकुर अघिल्लो दिन म गएको बाटोतिर गयो । अनि ढुक्क भएर घर फर्केर बसें ।’


श्रीया सुनारको शवको पोस्टमार्टम रिपोर्टअनुसार टाउकोमा चोट लागेको कारण उनको मृत्यु भएको देखिएको छ । योनांगमा पनि केही प्रवेश गरेको देखिएको छ । तर पुरुष वीर्य भेटिएको छैन । प्रहरीका अनुसार पौडेलले औंला प्रवेश गराएका बयान दिएका छन् । त्यस अनुसार पोस्र्टमाटम् रिपोर्टले भनेजस्तै केही प्रवेश गरेको भन्ने तथ्य मिलेको छ ।

प्रहरीले बालिकाका कपडा परीक्षणका लागि सुरक्षित राखेको छ । पौडेलका कपडा पनि ल्याएर राखेको छ । बालिकाको हत्या गरेपछि उनले आफूले लगाएको कपडा धोएका थिए । पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोस्टमास्र्टम परीक्षणको पूर्ण रिपोर्ट आएपछि सबै कपडा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडाै पठाउने प्रहरीले जनाएको छ ।

पौडेललाई अनुसन्धानका लागि थुनामा राख्न अदालतको अनुमति प्रहरीले लिइसकेको छ । प्रहरीले उनीमाथि बलात्कार र हत्या आरोपमा मुद्दा चलाउनेछ ।

सुरेशराज अधिकारी/समाधान

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ