आजदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

आजदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

rin

काठमाडौं । अब शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । आज (आइतबार) देखि लागू हुने गरेर अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएको हो ।

मन्त्रालयले आज सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन पाइन्छ।

१. शिक्षित यूवा स्वरोजगार कर्जा

यसमा शिक्षित यूवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर ऋण लिनसक्ने छन्। कम्तिमा स्नातक पास गरेकाले ऋणका लागि आवेदन दिन सक्छन्। ऋण लिनेको उमेर ४० वर्षभन्दा कम हुनुपर्छ।

ऋण लिनेले घरेलु तथा साना उद्योग कार्यलय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तिमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको हुनु पर्नेछ। यसको लागि प्रमाणपत्र पनि पेस गर्नुपर्छ।

२. उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा

माध्यामिक वा सो सरह उत्तिर्ण भएका र २५ वर्ष नकटेका यूवाले यो कर्जा लिनको लागि आवेदन दिनसक्ने छन्। उच्च शिक्षा अध्ययनका लागि यस्तो कर्जा लिन पाउनेछन्।

यस्तो कर्जा लिने विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनु पर्नेछ। उनीहरू कलेज अध्ययन गरिरहेको हुनु पर्नेछ।

यसरी कर्जाको लागि योग्यहरूले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनु पर्नेछ। आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र र प्राविधिक शिक्षा कर्जाको लागि विपन्न, लक्षित वर्गको सिफारिस पनि राख्नु पर्नेछ।

यसरी आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनइसक्नुपर्छ। यदि दिन नमिल्ने अवस्था भए कारणसहित आवेदकलाई जानकारी दिनु पर्छ। यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुनेछ। जसमध्ये सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने छ। यदि १५ प्रतिशत ब्याज भएमा ऋणीले १० प्रतिशतमात्र तिरे पुग्छ।

कुन कर्जाकमा के सुविधा

ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा ऋण लिनेले सामूहिक जमानीको कागजात पेश गर्नुपर्छ । यसमा ५ करोडसम्मको ऋण ५ प्रतिशत ब्याज अनुदानमा पाइनेछ । त्यो भन्दा बढी लिँदा सरकारले २ प्रतिशत मात्रै ब्याज अनुदान दिनेछ ।

स्वरोजगार बन्न चाहाने स्नातक उत्तीर्ण भएकालाई पनि सरकारले ऋण दिनेछ । यसका लागि ४० वर्षको उमेर हद तोकिएको छ । आफ्नो परियोजना सञ्चालनका लागि शैक्षिक प्रमाणपत्र धितोमा राख्नुपर्छ । र,कम्तिमा परियोजनाबारे एक हप्ताको सरकारी मान्यताप्राप्त संस्थाबाट तालिम लिएको पनि हुनुपर्छ । यस्ता युवाले ७ लाख रुपैयाँसम्मको ऋण ५ प्रतिशतको ब्याज अनुदानमा पाउनेछन् ।

विदेशबाट फर्किएकाले परियोजना नै धितोमा राखेर १० लाखसम्म ऋण लिन पाउनेछन् । त्यसका लागि परियोजना नै धितोमा राख्नुपर्छ । विदेशमा कम्तिमा ६ महिना काम गरेर फर्केकाहरुले पनि सहुलियत ब्याजदरको ऋण प्राप्त गर्नेछन् । तर, विदेशबाट फर्किएको ३ वर्ष नाघेकालाई यस्तो ऋण दिइने छैन । यसका पनि सरकारले ५ प्रतिशत ब्याज अनुदान दिनेछ ।

उच्च शिक्षाका लागि पनि यस्तो ५ लाखसम्म कर्जा पाइनेछ । तर, माध्यमिक शिक्षा पास गरेर २५ वर्ष ननाघेकालाई मात्रै यो ऋण उपलब्ध हुनेछ । महिलाको उद्यमशीलताका लागि दिइने कर्जाका लागि भने ६ प्रतिशत ब्याज अनुदान दिइनेछ ।

ऋण नतिरे कारवाही

कार्यविधिमा १० लाखभन्दा कम ऋण दिँदा अनिवार्य निक्षेप सुरक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । कर्जा सुरक्षण गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत सरकारले नै तिर्नेछ भने बैंकले २५ प्रतिशत ब्यहोर्नेछन् । तोकिएको अवधिसम्म ऋण नतिरिए बैंकले सुरक्षण कोषबाट रकम लिन सक्छ ।

यदि लिएको ऋण नतिरेमा ऋणीलाई कालोसूचीमा राखिनेछ । सरकारले राहदानी पनि रोक्का गर्ने र ऋणीको चल/अचल सम्पत्तिको विक्री वितरणमा रोक लगाउनेछ । बैंक खाताहरु रोक्का गरेर सरकारी सेवा सुविधा खोस्ने व्यवस्था कार्यविधिमै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ