पाेखरा अन्तराष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण हुँदैनः मन्त्री अधिकारी

पाेखरा अन्तराष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण हुँदैनः मन्त्री अधिकारी

FB_IMG_1534943447916

पोखरा । अब थप जग्गा अधिग्रहण गर्न दिन्नाैं भनेर अान्दाेलित जग्गाधनीलाई राहत मिलेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण नगरिने स्पष्ट पारेका छन् ।

जग्गा अपुग देखिएको भनि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)इकाइ शाखाले पोखरा–१४ वडालाई पत्र पठाएपछि आन्दोलित भएका स्थानीयलाई नआत्तिन उनले आग्रह गरे । मन्त्रालयबाट थप जग्गा अधिग्रहणका लागि कुनै पनि निर्णय नभएको स्पष्ट समेत उनले पारे ।

मन्त्री अधिकारीले थप जग्गा अधिग्रहण गर्नुपरेको खण्डमा स्थानीयलाई चित्त बुझाएर मात्र अधिग्रहण गरिने उनकाे भनाई छ।

नयाँ संरचनाका लागि अहिलेकै जग्गामा व्यवस्थापन गरिने भन्दै उनले थप जग्गा आवश्यक परेमा सम्बन्धित जग्गाधनीसँग सहमतिबाटै प्रक्रिया अघि बढाइने बताए । क्यानको बैठकमा थप जग्गा चाहिने भन्दै प्रस्ताव आएपनि आफूले हाल भइरहेको जग्गा मै आवश्यक संरचना व्यवस्थापन गर्न निर्देशन दिएको उनले जनाए ।

यसैबीच, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य टर्मिनल भवनको बुधबार शिलान्यास गरिएको छ ।

टर्मिनल भवनको पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार पूजापाठसहित शिलान्यास गरे। निर्माणको शिलान्यास भएको करीब डेढ बर्षपछि टर्मिनल भवनको डिजाईन पूरा भएको हो। २०७३ साल वैशाख १ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एयरपोर्टको शिलान्यास गरेका थिए।

सो टर्मिनल भवन जुलाई २०२० सम्ममा निर्माण पूरा गरिने जनाईएको छ। निर्माण कम्पनीका अनुसार कुल १४ हजार वर्ग मिटरको टर्मिनल भवन बन्‍नेछ।
त्यस्तै, आगामी असोज महिनादेखि विमानस्थलको रनवे पनि निर्माण गर्न सुरु गरिने भएको छ।निर्माणाधीन पोखरा विमानस्थलको रन वे २०१९ को जुलाई सम्ममा कार्य सम्पन्‍न गरिने जनाइएको छ।

सन् २०१९ बाटै यो रनवे आकस्मिक अवतरणको लागि सञ्‍चालनमा ल्याइने मन्त्री अधिकारीले जानकारी दिए।उनले पोखरा विमानस्थलको काम तीब्र गतिमा अगागि बढिरहेकोले सम्झौताअनुसार नै २०२१ सम्ममा पूर्ण रुपमा सञ्चालनमा आउने बताए।

सन् २०२० जुलाई सम्ममा काम सक्ने लक्ष्य लिइएको एयरपोर्ट निर्माणको काम विभिन्‍न कारण देखाउँदै एक बर्ष थप गरिएको छ । सन् २०२१ को जुलाई पहिलो तारिखमा निर्माण कम्पनीले सरकारलाई एयरपोर्ट हस्तान्तरण गर्ने र सोही दिनदेखि विमानबाट उडान भर्ने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ