पालिखेचोकको घरहरुमा यसरी डोजर चल्यो, अब फराकिलो हुने (तस्विरमा हेर्नुहोस्)

पालिखेचोकको घरहरुमा यसरी डोजर चल्यो, अब फराकिलो हुने (तस्विरमा हेर्नुहोस्)

Palikhechowk (1)

पोखरा । अब पालिखेचोक फराकिलो हुने भएको छ । चार दशक अघिदेखि विवादमा रहेका पालिखेचोकका घरहरु भत्काउन सुरु गरिएको छ । बिहीबार वसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको घरमा डोजर लगाइएको छ ।

४ जग्गाधनीमध्ये २ जनाले मुआब्जा बुझिसकेका छन् भने बाँकी २ जनाले पनि मुआब्जा बुझ्न सहमत भइसकेका छन् । बाँकी ३ घर पनि हप्तादिनभित्रै भत्काउने गरी योजना अगाडि बढिरहेको पोखरा ४ का अध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

वसन्त परिवारसँगै प्रदीपशंकर पालिखेले पनि घर भत्काउनका लागि मुआब्जा बुझिसकेका छन् । बसन्त उदासको नाममा सूचना जारी भएपनि सोही कित्तामा ३ जनाको संयुक्त लालपुर्जा रहेकोले तीनैजनाको नाममा रकम निकासा गरिएको महानगरपालिकाले जनाएको छ । मुआब्जा दिनुपर्ने जग्गाको मूल्य प्रतिबर्ग मिटर १ लाख २० हजार रुपैयाँका दरले तोकेको छ । पालिखेचोकको १ सय ९९ वर्गमिटर जग्गा अधिग्रहण गरिएको छ ।

वसन्त परिवारले ७६ लाख १६ हजार ५ सय ९७ रुपैयाँ मुआब्जा बुझिसकेका थिए । घरको क्षतिपूर्ति ४ लाख ११ हजार ५० र जग्गाको क्षतिपूर्ति ७२ लाख ७२ हजार रुपैयाँसहितको मुआब्जा उनीहरुले बुझेपछि घर भत्काइएको हो ।

यस्तै किशोरीदेवी श्रेष्ठ, प्रदीप शंकर पालिखे र कृष्णमान श्रेष्ठको घर पनि भत्काउन मुआब्जा निर्धारण भइसकेको छ । किशोरीदेवीले ७३ लाख १६ हजार ५ सय ९७ रुपैयाँ मुआब्जामा सहमति गरिसकेकी छन् भने प्रदीपशंकरले पनि ४४ लाख ६२ हजार ८ सय ९१ रुपैयाँ मुआब्जा लिने सहमति जनाइसकेका छन् । कृष्णमान श्रेष्ठको नाममा रहेको घर भत्काउन ६४ लाख २१ हजार ७ सय ५२ रुपैयाँ मुआब्जा लिएर घर भत्काउने सहमति भएको वडाध्यक्ष बास्तोलाले जानकारी दिए ।

पहिलो चरणमा उदास परिवारको घर भत्काईएको र बाँकी रहेका घरहरु पनि १५ दिनभित्रै भत्काईसक्ने वडाध्यक्ष बास्तोलाले जानकारी दिए । ‘टेलिकमको बाक्सा सार्नुपर्नेछ । एउटा घर भत्काएपछि बाक्सा सार्न मिल्छ, उनले भने–त्यो सारिसकेपछि बाँकी रहेका घरहरुपनि भत्काउँछौं ।’

वडा नम्बर ३ अन्तर्गत पालिखेचोक अन्तर्गत सडक मापदण्डभित्र परेका र नयाँ घर बनाउनसमेत नमिल्ने जग्गामा रहेको घर भत्काउन यसअघि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमै मुआब्जा निर्धारण समितिले गरेको निर्णयअनुसार काम अगाडि बढाइएको हो । लामो समयदेखि विवादित रहेको पालिखेचोकका घर भत्काउन प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।

यी घर भत्काइएसँगै अब पालिखेचोक पनि फराकिलो हुने भएको छ । साँघुरो चोक भएकाले पालिखेचोकमा गाडी जामको समस्यासमेत बढ्दै गइरहेको थियो । ४ दशकअघि नै तत्कालीन अञ्चलाधीश शंकर पाठकले पनि ती घर भत्काएर सडक फराकिलो बनाउन खोजेको जानकार बताउँछन् । स्थानीयको बिरोधका कारण सम्भव भएको थिएन । त्यसपछि पोखरा उपत्यका नगर विकास समितिले पटकपटक यी घर भत्काउने प्रयास गरेका थिए ।

पोखरा नगरपालिकादेखि उपमहानगरका जनप्रतिनिधीको प्रयास पनि सफल भएन । तर अहिले भने जनप्रतिनिधीको काममा स्थानीयले पनि सहयोग गरे । नयाँ संरचनामा जनप्रतिनिधी निर्वाचित भएकै वर्षदिनभित्र मापदण्डभित्रका घर भत्काउन सफल भएको हो । विहिबार बसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको जग्गाभित्रको दुईतले घर भत्काईएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds