छात्राहरुलाई यौन अपराध गरेको अभियोगमा प्रधानाध्यापक शर्मा पक्राउ

छात्राहरुलाई यौन अपराध गरेको अभियोगमा प्रधानाध्यापक शर्मा पक्राउ

Sharma

महेन्द्र जिसी, पर्वत । विद्यालयमा अध्ययनरत बालिकाहरुलाई अप्राकृतिक यौन अपराध गरेको अभियोगमा एक प्रधानाध्यापक पक्राउ परेका छन् ।

पर्वतको फलेवास नगरपालिका–६, देवीस्थानमा सञ्चालित माझीगाउँ आधरभुत विद्यालयका प्रधानाध्यापक खिमप्रसाद शर्मालाई प्रहरी चौकी देवीस्थानले आइतबार गिरफ्तार गरेको हो ।

५० वर्षका प्रधानाध्यापक खिमप्रसाद शर्माले विद्यालयमा पढाउने क्रममा ७ वर्षदेखि १२ वर्षसम्मका ४ बालिकालाई अप्राकृतिक यौन हिंसा गरेको आरोप लागेको छ । शिक्षक शर्माले करिब १ वर्षदेखि विद्यालयमा अध्ययनरत बालिकालाई यौनाङ्ग खेलाउन लगाउने, खेलाइदिने गरेको पीडित बालिकाहरुले प्रहरी र अभिभावक समक्ष बताएका छन् ।

छोरी टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि चिकित्सकले समेत फोबिया भएको बताएपछि छोरीलाई सोध्दा शिक्षकले हिंसा गर्दै आएको थाहा भएको अभिभावकले बताएका छन् ।

बालिकाहरुले अभिभावकसँग शिक्षकले हिंसा गरेको कुरा बताएपछि आइतबार विद्यालयमा अभिभावक, शिक्षक र विद्यार्थीसहित छलफल आयोजना गरिएको थियो । छलफलका क्रममा पीडित बालिकाहरु प्रधानाध्यापकले आफूहरुलाई गर्ने व्यवहार खुलस्त रुपमा बताएपछि अभिभावकहरुले प्रधानध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका थिए ।

कालोमोसो र जुत्ताको मालासहित देवीस्थान प्रहरी चौकी फलेवासले प्रधानध्यापकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्वतमा साउन ६ गते नै बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतले साउन ७ गते पीडित ४ जना बालिकाका अभिभावकको छुट्टाछुट्टै जाहेरी दर्ता गरी सोमबार नै पर्वत जिल्ला अदालतमा जबरजस्ती करणी र अप्राकृतिक यौन हिंसा सम्बन्धी मुद्धा दर्ता गराएको थियो ।

पर्वत जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको र पीडित बालिकाहरुसहित अभिभावकसँग घटना सम्बन्धी थप सोधपुछ र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी दिलिप घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ