रुसमा जारी विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र क्रोएसियाबिच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समय अनुसार राति पौने ९ बजे मस्कोको लुज्हनिकी रंगशालामा हुँदैछ ।
फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएर फाइनलमा स्थान बनाएको हो । फाइनल यात्रा तय गर्दासम्म फ्रान्सले अर्जेन्टिना, उरुग्वे र बेल्जियमलाई पराजित गर्दै आफूलाई उपाधिको प्रबल दाबेदारका रूपमा उभ्याएको छ।
यस्तै, इंग्ल्याण्डलाई २–१ ले हराउँदै क्रोएसियाले पहिलो पटक विश्वकपको फाइनलमा स्थान पक्का गरेको हो । गु्रप अफ डेथका रूपमा हेरिएको समूह ‘डी’ बाट विजेता बन्दै अघि बढ्ने क्रममा नाइजेरिया, अर्जेन्टिना र आइसल्यान्डलाई पराजित गरेको क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र क्वार्टरफाइनलमा आयोजक रूसको चुनौती पेनाल्टी सुटआउटमा समाप्त पारेको थियो। त्यस्तै क्रोएसियाले सेमिफाइनलमा इङ्ल्यान्डलाई अतिरिक्त समयमा निराश पारेको थियो।
फ्रान्सले यसअघि एकपटक विश्वकपको उपाधि उचालेको छ भने क्रोएसियाले उपाधि उचाल्न सकेको छैन । फ्रान्सले सन् १९९८ मा उपाधि उचालेको थियो तर सन् २००६ मा फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भएको थियो ।
ब्राजिल, अर्जेन्टिना, जर्मनी र इटालीमध्ये कुनै पनि टोली फाइनल प्रवेश नगरेको यो केवल दोस्रो पटक हो । यसअघि २०१० मा दक्ष्णि अफ्रिकामा सम्पन्न विश्वकपमा पनि यी ४ राष्ट्रमध्ये कुनेै पनि टोली फाइनल प्रवेश गर्न सकेका थिएनन्। २०१० मा स्पेनले नेदरल्यान्ड्सलाई निराश पार्दै विश्वकपको उपाधि जितेको थियो।
–यसअघि क्रोएसियासँग भएका ५ भिडन्तमा फ्रान्स अपराजित छ । ३ खेल फ्रान्सले आफ्नो पक्षमा पारेको थियो । महत्वपूर्ण प्रतियोगितामा पनि फ्रान्स र क्रोएसिया २ पटक आमने सामने भइसकेका छन् ।
–सन् १९९८ मा भएको विश्वकपको सेमिफाइनलमा फ्रान्स १–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै २–१ ले विजयी भएको थियो । त्यतिबेला लिलियन थुरामले निर्णायक गोल गरेका थिए । फ्रान्सबाट १ सय ४२ क्याप जितेका थुरामको त्यो नै करिअरकै एकमात्र गोल थियो ।
–युरो २००४ को समूहगत चरणमा फ्रान्स र क्रोएसियाले २–२ गोलको बराबरी खेलेका थिए ।
–युरो २००४ पछि फ्रान्स र क्रोएसिया २०११ को मार्चमा मैत्रीपूर्ण खेलका लागि भिडे । सो खेल साँच्चै नै मैत्रीपूर्ण रह्यो । अर्थात् गोलरहित बराबरीमा सकियो ।
–तीनपटक भन्दा बढी विश्वकपको फाइनलमा पुग्ने फ्रान्स छैटौं टोली हो । जर्मनी सर्वाधिक ८ पटक, ब्राजिल र इटाली ६–६ पटक, अर्जेन्टिना ५ पटक फाइनलमा पुग्दा नेदरल्याण्ड्सले पनि ३ पटक विश्वकपको फाइनल खेलेको छ ।
–फुटबलको महत्वपूर्ण प्रतियोगितामा फ्रान्सले फाइनल खेल्न लागेको यो छैटौं अवसर हो । युरोपेली च्याम्पियनसिपको फाइनल फ्रान्सले ३ पटक खेलिसकेको छ । पछिल्ला ५ फाइनलमध्ये फ्रान्सले ३ वटामा जित हात पारेको छ ।
–विश्वकपको फाइनलमा फ्रान्सले गरेको ४ मध्ये ३ गोल सेट पिसबाट निस्किएको थियो । २ वटा गोल कर्नरमार्फत् हुँदा एउटा पेनाल्टीबाट सम्भव भएको थियो ।
–जारी विश्वकपकमा गोल गर्ने ५ खेलाडीमध्ये फ्रान्सका ३ डिफेण्डर छन् । बेन्जामिन पभार्ड, राफेल भारान र स्यामुअल उमटिटी फ्रान्सेली डिफेण्डर हुन् जसले रुस विश्वकपमा आफ्नो नाममा गोल लेखाइसकेका छन् ।
–पछिल्लोपटक फ्रान्सका ३ जना डिफेण्डरले विश्वकपमा गोल गर्दा सन् १९९८ मा उसले ट्रफी आफ्नै घरमा राखेको थियो ।
–पेनाल्टी शुटआउटलाई छाड्ने हो भने विश्वकपका नकआउट चरणका १४ खेलमा फ्रान्सले एउटैमा मात्र हार बेहोरेको छ । ११ खेल फ्रान्सले आफ्नो पक्षमा पारेको थियो । २ खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । सन् २०१४ को क्वार्टरफाइनलमा भने फ्रान्स जर्मनीसँग १–० ले पराजित भएको थियो ।
–फ्रान्सले आज विश्वकप उचाले प्रशिक्षक डिडियर डेसच्याम्प्स खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बन्नेछन् । यसअघि मारियो जागालो र फ्राञ्च बेकनबरले यो उपलब्धि हासिल गरेका थिए ।
–किलियन एमबापेले आज गोल गर्न सके उनी विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो टिन एजर खेलाडी हुने छन् । यसअघि पेलेले टिन एजमै विश्वकपको फाइनलमा गोल गरेर कीर्तिमान बनाएका छन् । सन् १९५८ मा पेलेले ६ गोल गरेका थिए । एमबापेले जारी विश्वकपमा ३ गोल गरिसकेका छन् । आज गोल नगरे पनि एमबापे पेलेपछि विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाडी बनसकेका छन् ।
–विश्वकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो क्रोएसिया ।
–पहिलोपटक फाइपनल खेलेर पनि उपाधि उचाल्ने राष्ट्र फ्रान्स र स्पेन हुन् । फ्रान्सले १९९८ र स्पेनले २०१० मा पहिलो फाइनलमै राष्ट्रलाई विश्वकप दिलाएका थिए । क्रोएसिया पनि आज इतिहास दोहर्याउन चाहन्छ ।
–नकआउट चरणका सबै खेलमा पछि पर्नका बाबजुद विश्वकपको फाइनल पुग्ने एक्लो टोली हो क्रोएसिया ।
–क्रोएसियाले पछिल्ला ३ खेल अतिरिक्त समयसम्म खेलेको छ । आजको खेल पनि अतिरिक्त समयमा धकेलिए क्रोएसियाले एउटै विश्वकपमा लगातार ४ खेल अतिरिक्त समयसम्म खेल्ने कीर्तिमान बनाउने छ ।
–क्रोएसियाले जारी प्रतियोगितामा १२ गोल गरेको छ । आत्मघाती गोललाई समेत गन्ने हो भने क्रोएसियाबाट ७ खेलाडीले गोल गरिसकेका छन् ।
–जापानसँग २००६ मा गोलरहित बराबरी खेलेयता क्रोएसियाले विश्वकपका पछिल्ला १० खेलमा गोल गरेको छ ।
–क्रोएसियाले रुसमा खाएको ५ मध्ये ४ गोल सेट पिसमा सम्भव भएको थियो । एउटा पेनाल्टी, थ्रो ईन, र डाइरेक्ट तथा इनडाइरेक्ट फ्रि–किकमा क्रोएसियाले गोल खाएको छ ।
–क्रोएसियाले जारी प्रतियोगितामा ९९ वटा फउल खेलेको छ । उसका खेलाडीले १४ वटा पहेंलो कार्ड पाइसकेका छन् ।
यी दुईबीचको खेल लुज्निकी रंगशालामा राति पौने ९ बजे सुरु हुनेछ ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते