गण्डक न्यूज, पोखरा, ८ असार । सामाजिक सञ्जालमार्फत् ब्ल्याकमेलिङ, धाकधम्की, गाली बेइज्जती भएको उजुरी नौलो होइन । कास्की प्रहरीका अनुसार पछिल्लो समय यस्ता विषयमा धेरै नै उजुरी पर्न थालेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत बन्दै गएकाले कानुनी उपचार खोज्न सुरु गरेका छन् ।
कास्की प्रहरीमा विहीबार परेका तीन उजुरी मध्ये दुई उजुरीमा रवि लामिछानेबाट प्रभावित व्यक्तिहरु मुछिएका छन् ।
घटना १
पत्रकार रञ्जन अधिकारीले आफू रवि लामिछानेको समर्थनमा रहेको तर विधिको शासनमा सबै रहनुपर्ने भन्दै सुझाव दिइएको पोस्ट मुन्तिर अश्लिल शब्दका साथ ज्यान लिने धम्की आयो ।
प्रनुशा अफिसियलमा फोटो खिच्ने काम गर्ने पोखरा १ विन्ध्यवासिनीका निशद् श्रेष्ठले अत्यन्त आपत्तिजनक शब्दका साथ कमेन्ट गरिरहे ।

नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका सचिव, गण्डक न्युज डटकमका सम्पादक समेत रहेका पत्रकार अधिकारीले अपाच्य कमेन्ट आउने क्रम नरोकिएपछि उजुरी गरे । तत्काल प्रहरीकहाँ बोलाइयो ।
कास्की प्रहरी प्रमुख ओमबहादुर राना समक्ष आफूले गल्ती गरेको र अब नगर्ने भन्दै श्रेष्ठले माफी मागे ।
बाबुको याचनापछि अब यस्ता कार्य नगर्ने शर्तमा मुद्धा अघि नबढ्ने गरी पत्रकार अधिकारीले क्षमा दिए ।

घटना २
व्यंग्यात्मक पेज ‘ट्रोल पोखरा’ मार्फत पर्वतका सिडिओ गुरुदत्त ढकाललाई भातमारा भनेर फोटो सहित ट्रोल पोस्ट भयो । तर, पेजका एडमिनले फोटो भने ढकालको सट्टा कास्कीका सहायक सिडिओ गंगाबहादुर क्षेत्रीको राख्यो ।
पछिल्लो समय सिडिओ ढकाल दलितलाई दुव्र्यवहार गरेको आरोपमा आलोचित छन् । सिडिओ ढकालले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी कामी भएकै कारण हटाएको भन्दै उनको आलोचना भईरहेको छ । रवि लामिछानेको सिधा कुरा जनतासँगमा यो विषय उठान भएपछि एडमिनले ट्रोल बनाए ।

तस्विरवाला कास्कीका सहायक सिडिओ क्षेत्रीले मानहानी महसुस गरे । गृहमन्त्रालयबाट नै यसमा ध्यानाकर्षण भएको जनाउँदै कास्की प्रहरी समक्ष यसमा संलग्नलाई कारबाही गर्न सर्कुलर भयो ।
ट्रोल पोखरा सञ्चालक टीम नै कारबाहीमा ल्याउने तयारी गरियो । फेसबुकबाट नै ट्रोल पोखराका एक एडमिन आशिष पुरीलाई प्रहरीले बोलायो । उनले सुमन नेपालीको नाम मुछेपछि नेपालीलाई बोलाईयो ।
सुमनले सिधा कुरा जनतासँग हेरेपछि ट्रोल बनाएको, मैले कुनै पनि शब्द प्रयोग गरेको छैन भनेर एसपी ओमबहादुर राना समक्ष बयान दिए । त्यसपछि माथिको आदेश भन्दै अब साइबर क्राइम आकर्षित हुने भन्दै थुनामा पठाईदिए ।
तस्विर फरक यसरी हुन पुग्यो:
दलित भएकै कारण सुरक्षाकर्मी हटाएको भन्ने सिधा कुरा जनतासँगमा हेरेपछि एडमिन सुमन नेपालीको पारो तात्यो । उनी आफ्नै समुदायलाई हेय गरेका कारण दुःखित भए । र आफ्नो प्लेटफर्म युज गरे । उनले गुरुदत्त ढकालको नाम गुगल सर्च गर्न थाले । सुरुमै देखिएको तस्विर प्रयोग गरे ।
पर्वतको रेडियो शालिग्रामले आफ्नो अफिसियल वेबसाइट www.radiosaligram.com.np मा पर्वतको प्रजिअमा गुरुदत्त ढकाल आउँदै शीर्षकको समाचार गंगाबहादुर क्षेत्रीको तस्विर प्रयोग गरेको देखियो । सुमनले गुगलबाट सर्च गरेको फोटो सोहि साइटबाट तानेका रहेछन् । त्यसैले मानहानीको उजुरी गंगाबहादुर क्षेत्रीले समेत दिन मिल्ने भयो ।

घटना ३
प्रेस चौतारी नेपालका उपमहासचिव हीरामान लामालाई फेसबुकमा ज्यान मार्ने धम्की दिएपछि बुधबार कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसका २८ वर्षीय टौप्रसाद गुरुङ ‘पावेल गुरुङ’ पक्राउ परे ।
पावेल २ दिन कास्की प्रहरीको थुनामा जाक्किए । आफूले आवेगमा गल्ती गरेको र अब कहिल्यैं त्यस्तो गल्ती नगर्ने गरी लिखित रुपमा माफी मागेपछि शुक्रबार छुटेका छन् । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको सक्रियतामा यो मुद्धाको टुंगो लाग्यो । सांसद मनबहादुर गुरुङ, पावेलका दाजु तीर्थ र बरालको उपस्थितिमा पावेलले लिखित माफी मागेपछि प्रहरीले सांसद मनबहादुरको जिम्मा लगाएर छाडेको हो ।

कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले कुनै पनि व्यक्तिको जीवनमा असहज बनाउने काम कोहि कसैले गर्न नहुने भन्दै सामाजिक सञ्जाल दुरुपयोग गरेको पाईए कडा कारबाही गरिने बताए । प्रहरी इन्स्पेक्टर जगदिश रेग्मीले पछिल्लो समयमा सामाजिक सञ्जालमा दुरुपयोग सम्बन्धमा उजुरी बढ्दो मात्रामा रहेको बताए ।
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो