श्यामशितल परियार, लमजुङ । आँखै अगाडि ‘बादलुको’ घुम्टो ओडी मुसुक्क मुस्कुराएका हिमाल । शिरशिर चल्ने शितल पवन (हावा) । पवनसंगै विभिन्न चराचुरुङ्गीको मिठास आवाज । ऐतिहासिक तथा धार्मिक महत्वको चण्डीमाईको मन्दिर । चण्डीगढी । बेसीमा नागबेली चालमा सलल बगेकी मस्र्याङ्दी, दोर्दी, चेपे, पाउँदी अनि नाउँदी । समथर फाँट । सूर्योदय र सूर्यास्तको प्रत्यक्ष दृश्यवलोकन । यत्ति मात्र होईन । लमजुङसहित तनहुँ, गोरखाका विभिन्न मनोरम दृश्य समेत आँखैले चुम्न पाईन्छ, लमजुङको तार्कुकोटबाट ।
प्रकृतिले तार्कुकोटलाई फुर्सदैमा बनाएझैँ लाग्छ । फुर्सदमै सिँगारेझैँ लाग्छ । तार्कुकोटको प्राकृतिक सौन्दर्यमा जोकोही लट्ठिन्छन् । ‘वाउ ! तार्कुकोट’ शितल हावासंगै साईनो गाँस्दै चण्ढी मन्दिरको आँगन र चण्डीगढीबाट चारैतिर नियाल्न पाउँदा जोकोही तार्कुकोटको बयानमा यी शब्दहरु खर्चन कत्तिपनि कञ्जुस गर्दैनन् ।
लमजुङको सुन्दरबजार नगरपालिका–८, मा रहेको तार्कुकोट पुग्नेले स्वर्गकै अनुभूति गर्छन् । उकालो जंगलको बाटो हिँड्दा पसिनाले निथ्रुक्क रुझाउँछन् । तर ठाउँठाउँमा रहेको वरपिपलको शितल छहारीमा बस्दा । वरिपरिका प्राकृतिक सौन्दर्यता नियाल्दा । जंगलबाट आउने चराचुरुङ्गीको मिठो गीतले उकालो चढ्दै गर्दाको थकान पलभरमै भुलिन्छ । झनै उकालो चढ्ने आँट र उत्साह थपिन्छ, मनमा ।
तार्कुकोटको चण्डीमन्दिरका आँगन टेक्दै गर्दा नजिकै रहेका सल्लाघारीबाट आएका शितल पवनहरुले स्वागत गरिहाल्छन् । प्रकृतिमा रमाउँदा उकालो चढ्दाको पीडा कता भाग्छ कता !
छैनन् युवा, भएन पर्यटनको विकास
चण्डीगढीबाट लमजुङ हिमाल, मनास्लु हिमाल, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल देख्न सकिने स्थानीय खुशबहादुर गुरुङले बताए । उनका अनुसार यहाँबाट लमजुङको सुन्दरबजार, भोटेओडार, फेदीकुना, अर्चलबोटफाँट, धमिलिकुवा, गोरखाको पालुङटार, तनहुँको मानेचौका, दूधेकुना लगायतका ठाउँ देख्न सकिन्छ ।
चण्डीगढीबाटै लमजुङको पुरानोकोट, तर्लुङकोट, राईनासकोट, बजारकोट, गोरखाको लिगलिगकोट, तनहुँको मिर्लुङकोटलगायत थुप्रै कोटको पनि अवलोकन गर्न सकिन्छ । गुराँस फुल्ने समयमा यहाँको ऋप सामुदायिक वन रातो र गुलावी गुँरासले रातम्य हुन्छन् ।
तार्कुकोटलाई प्रकृतिले दिनुसम्म दिएको छ । गर्नु माया गरेको छ । यहाँ ग्रामिण पर्यटन विकासको उच्च सम्भावना छ । तर प्रचारप्रसारको अभाव र युवाशक्ति नहुँदा गाउँमा पर्यटनको विकास हुन सकेको छैन ।
गाउँमा विद्युत, खानेपानी, कच्ची भएपनि सडक पुगेको छ । तर गाउँमा मानिसको बसोबास कम छ । उर्वरभूमी जमिन पाती, वनमासा फुलेर त्यसै खेर गएको छ ।
गाउँमा पर्यटनको उच्च सम्भावना भएपनि गाउँमा जनशक्ति नहुँदा गाउँमा पर्यटन व्यावसाय सुरु हुन नसकेको स्थानीय सुरज सुनारले बताउनुभयो । उहाँका अनुसार चण्डीगढीमा कटेज बनाईएको छ । पार्क पनि निर्माण गरिएको छ । पछिल्लो समय पिकनिकका लागि यहाँसम्म विभिन्न ठाउँबाट मानिसहरु आउँछन् ।
कृषि र पशुपालनको उच्च सम्भवना
गाउँमा खेतीयोग्य जमिनका साथै पशुपालनका लागि आवश्यक चरण क्षेत्र पनि प्रशस्त छ । गाउँमा पर्यटनसंगै पशुपालन, कृषि विकासको पनि उच्च सम्भावना छ । पर्यटन, कृषि र पशुपालनको माध्यमबाट यहाँका नागरिकको जीवनस्तर उकासिने देखिन्छ । तर यस क्षेत्रमा आशातित काम भएको महसुस गर्न सकिदैँन ।
स्थानीय मंगली सुनारका अनुसार केही वर्षअघि गाउँमा बाक्लो बस्ती थियो । मानिसहरु खेतीपाती गर्थे । पशुपालन गर्थे । तर अहिले गाउँमा अधिकांश मानिसहरु बेसी (भोटेओडार, सुन्दरबजार, फेदीकुना) तिर बसाइँ सरेका छन् । हुनेखानेहरु विभिन्न ठाउँमा बसाइँ सरी गएका छन् । गाउँ दिनप्रतिदिन रित्तिदैँ गएको छ ।
गाउँ जंगलमा परिणत होला भन्ने चिन्ता !
गाउँमा आर्थिक अवस्था कमजोर भएका मानिसहरु मात्रै बाँकी रहेका छन् । भएका युवाशक्ति पनि विदेश भासिएका छन् । गाउँमा वृद्धवृद्धा मात्रै छन् ।
‘पहिले गाउँमा कोदो, मकै, काउनो, घैय्या लगायतको खेती गर्थे, गाईभैँसी, बाख्रा पाल्थे, टनाटन थिए मानिसहरु गाउँमा, अहिले त सबै सुखसुविधाको खोजीमा कता गए कता, गाउँ रित्तिदैँ गयो,’ चण्डीमाईको मन्दिरमा शितल ताप्दै गरेकी मंगलीले भनिन् ।
शिक्षा, स्वास्थ्य रोजगारी लगायतको सेवासुविधाको खोजीमा मानिसहरु गाउँ छोडी अन्यत्र गएको स्थानीयहरु बताउँछन् ।
मानिसहरुले गाउँ छोड्दै गएपछि अव बिस्तारै गाउँ नै जंगलमा परिणत हुने हो कि भन्ने चिन्ता छ, अर्का स्थानीय भीमबहादुर सुनारलाई ।
बाहुनथोक रित्तियो
तार्कुकोट नजिकै रहेको तामाङ समुदायका बसोबास रहेको बाहुनथोक त रित्तिसकेको धेरै वर्ष भयो । बाहुनथोकमा तामाङहरुको ७ घर थिए । उनीहरु सबै बसाइँ सरी अन्यत्रै गएका छन् ।
अहिले त गाउँ जंगलमा परिणत भईसकेको छ । तार्कुकोटमा पहिले झण्डै ६० घुरधुरी रहेकोमा अहिले जम्माजम्मी २० घरधुरी मात्रै रहेको खुशबहादुरले सुनाए । यहाँ गुरुङ, विक र ब्राह्मण समुदायको बसोबास रहेको छ ।
विकासमा युवा जुट
गाउँघर छोडी छाना, माना र नानाका लागि मुग्लान पसेका युवाहरु गाउँमै फर्की पर्यटन, कृषि र पशुपालनका क्षेत्रमा काम गर्न सके मनग्य कमाउन सकिने सम्भावना पनि उत्तिक्कै देखिन्छ ।
तार्कुकोट पुग्न भोटेओडारबाट पैदल हिँडेर २ घण्टा लाग्छ । गाडीबाट तार्कुकोट पुग्न एक घण्टा लाग्छ । कच्ची र घुमाउरो बाटो भएकाले गाडीमा पनि यात्राको समय केही लम्बिन सक्छ । गाउँमा सडकको स्तरोन्नती गर्नु आवश्यक छ । गाउँको विकासमा युवाशक्ति जुट्नु आवश्यक छ ।
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी