पोखरा । गत आइतबार (१३ जेठ) मा फेवातालमा वेपत्ता सुप्रिल लामा अझै भेटिएका छैनन् । आईतबार दिउँसो साढे तीन बजेतिर आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा सुप्रिल तालको बीच भागमै डुबेका थिए ।
गोताखोरको टोलीले घटनापछि लगातार खोजी कार्य जारी राखेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खोजीमा जुटेका वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए ।।भक्तपुरबाट पाँच जना साथीको समूह शनिबार पोखरा घुम्न आएका थिए । डुंगामै चट्याङ परेपछि सुप्रिल डुबेका थिए । साथीहरुले बचाउने प्रयास गर्दा समेत लाइफ ज्याकेटको तुना नबानेका कारण सुप्रिललाई तान्न खोज्दा पानीबाट तान्न नसकेको उनीहरुको भनाई छ ।
यसअघि, दुई वर्ष अगाडि २०७३ साउन २४ गते काठमाण्डौबाट पोखरा घुम्न आएका सात जना मध्ये दुई जनाको डुंगा पल्टिएर डुब्दा ज्यान गएको थियो । काठमाण्डौका १९ वर्षीय प्रतिक श्रेष्ठ र २३ वर्षीय एलिन केसीको मृत्यु भएको थियो । उनीहरुको शव पनि चार–पाँच दिनपछि मात्रै भेटिएको थियो । त्यस घटनामा पाँच जना मात्र बाँच्न सफल भएका थिए । छुट्टाछुट्टै दुर्घटनामा धेरैले ज्यान गुमाईसकेका छन् ।
https://www.facebook.com/gandaknews/videos/828923617299892/
यसरी भयो घटनाः
कक्षा १२ को परीक्षा भर्खरै मात्र सकियो। अब परीक्षाफल कुर्नुबाहेक अरु काम थिएन । मन मिल्ने साथीहरु कतै घुम्न निस्कने योजना बन्यो । स्कुलमा सँगै लामो समय पढेका साथीहरु विभिन्न क्याम्पसमा छरिएपनि दोस्ती उस्तै थियो । त्यसैले, स्कुले साथीहरु पोखरा घुम्न जान तयार भए ।
रामेछाप घर भई भक्तपुर सुर्यविनायक बस्ने १८ वर्षीय सुप्रिल लामा, सिन्धुली घर भई सोहि ठाउँ बस्ने १८ वर्षीय बिशाल थापा, भक्तपुरका १९ वर्षीय मन्दिप महत, सो ठाउँका १७ वर्षीय शुशिल कुँवर र काठमाण्डौ सितापाईला घर भएका १७ वर्षीय अनिल रोक्का सहित ५ जना शनिबार मोटरसाइकलमा भक्तपुरदेखि पोखरा हुईँकिए ।
पोखरा आएर शनिबार राति लेकसाइडको होली हेभन होटलमा बिताए । आईतबार दिउँसो फेवाताल घुम्ने योजना बन्यो । मौसम राम्रो थियो । पाँच जनाले एउटा डुंगा लिए । आफै चलाएर ताल घुम्न थाले । दिउँसो ३ बजेतिर एक्कासी पानी प¥यो । हावाहुरी र पानीले फेवातालमा छाल उठ्ने गर्दछ । पाँचै जना सुरक्षामा सजग भएर लाइफ ज्याकेट, हेल्मेट सहित लगाएका थिए । तर, चट्याङले डुंगाको पाइडल खियाइरहेका सुप्रिललाई नै हान्यो । उनी तालमा खसे । अझैसम्म वेपत्ता छन् ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीका अनुसार बाँकी चार जनाको भने सकुशल उद्धार गरिएको छ । ‘सेफ्टी तरिकाले नै गएका हुन् । जब मन्दिरको उत्तरतिर गए खपौदी र पामेको बीच भाग फेवातालको शिरतिर पुगे । चट्याङ हानेर डुब्न पुगेको साथीहरुले बताएका छन् ।’ डिएसपी कार्कीले भने– ‘एपीएफको उद्धार टीम तत्काल पुग्दा चारै जना रोईरहेका थिए । एक जना डुबिसकेका थिए ।’
उद्धार गरिएका चारै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगियो । डिएसपी कार्कीका अनुसार खोजी गर्दा हेल्मेट र लाइफ ज्याकेट मात्र भेटियो । ज्याकेटको तुना नै चुँडिएर एउटा साथी डुबेको उनीहरुको भनाई छ ।
सशस्त्र प्रहरी, आर्मीको रेस्क्यु टीम सहित प्रहरीले दिनभर खोजी गरेपनि लामाको अवस्थाबारे थाहा हुन सकेको छैन । सोमबार बिहानैदेखि पुनः खोजी गरिने डिएसपी कार्कीले बताए । चार जना साथी सुप्रिलको पखाईमा छन् । सुप्रिललाई जीवित भेटिने आश त छैन तर पनि उनीहरुलाई लागिरहेको छ ‘सुप्रिल टुप्लुक्क आइदिए कति खुशी हुन्थ्यौं। घर परिवारका अगाडि जस्तो लिएर आएको, उस्तै लैजान पाए ? ’
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो