पाेखराका मुख्य ६ चोकमा आकासे पुल बनाउने, कुन कुन चोक हुन् ?

पाेखराका मुख्य ६ चोकमा आकासे पुल बनाउने, कुन कुन चोक हुन् ?

6-lane-sadak-ko-aakashe-pool_bhairawa-01

पोखरा, १२ वैशाख । पोखरामा दैनिक २ लाख गाडी गुड्छन् । दैनिक ७० को हाराहारीमा गण्डकी अञ्चल यातायात कार्यालय गण्डकीमा गाडीदर्ता हुने गरेको कार्यालय बताउँछ । गण्डकी तथा धौलागिरी क्षेत्रमा चल्ने लगभग ७० प्रतिशत गाडी पोखरा हुँदै ओहोरदोहोर गर्छन् । समाधान दैनिकमा न्युज छ ।

देशैभरिबाट गाडी पोखरा आइपुग्ने गरेका छन् । भारतीय नम्बर प्लेटका गाडी पनि पर्यटकीय नगरी पोखरा उत्तिकै आइपुग्छन् । पृथ्वी, सिद्धार्थ र भूपीशेरचन राजमार्ग जोडिएको पोखरामा ठूला गाडीलाई मुख्य चोकसम्म नआईधरै छैन । किनकि यहाँ एक राजमार्गबाट अर्को राजमार्ग जाने वा मुख्य चोक नपुगी गन्तव्यसम्म जाने कुनै वैकल्पिक मार्ग छैन ।

जसले गर्दा ठूला–साना सबै खाले गाडीले पोखराका मुख्यचोकको व्यवस्थापन सकसपूर्ण बनेको छ । बेलाबेलामा वैकल्पिक मार्गको कुरा उठे पनि त्यो कुरामै सीमित भएका छन् । त्यसको असर पोखराको ट्राफिक व्यवस्थापनमाथि परेको छ ।

प्रादेशिक राजधानी बनेसँगै संसद, मन्त्रालय पोखरामै छन् । मुख्यमन्त्रीदेखि, मन्त्री, सभामुख र सांसदका गाडी यहीं गुड्छन् । तीनका अघिपछि हिँड्ने गाडीले पनि ट्राफिक जामको समस्या अझ बढेको छ । यसै पनि कुनै न कुनै भिआइपीको दिनहुँजसो पोखरा आगमन भइरहन्छ ।

तत्कालीन पोखरा उपमहानगरपालिकाले अहिले आउन सक्ने अवस्था ख्याल गर्दै फ्लाइओभरको योजना अगाडि सार्यो ।साँघुरा र पुरानै संरचनाका सडकले यातायात व्यवस्थान चुनौती थुपिँर्दै गएको भन्दै महानगरपालिकाले मुख्य ठाउँमा फ्लाइओभरको योजना अगाडि सारेको थियो ।

अमरसिंहचोकदेखि सिर्जनाचोकसम्म फ्लाइओभर निर्माणको सम्भाव्यता अध्ययन गर्न झन्डै ४० लाख रुपैयाँ बजेट पनि छुट्याइयो । उपमहानगरपालिकाकै परिषद्मा परेको योजना मानबहादुर जिसी महानगरपालिकाको मेयर भएर आएपछि यसको छिट्टै कार्यान्वयमा लैजाने कार्ययोजना सार्वजनिक गरियो ।

पहिलो चरणमा विज्ञ टोलीले यसको सम्भाव्यता अध्ययन गरी कस्तो, कसरी र कतिसम्मको बनाउन सकिन्छ भन्ने प्रतिवेदन पेस गर्ने र दोस्रो चरणमा फ्लाइओभर निर्माणको प्रक्रिया सुरु हुने बताइएको थियो । तर, अहिलेसम्म यसको विषयमा न छलफल नै भयो न सम्भाव्यता अध्ययनको तयारी नै गरियो ।

अहिले यसका लागि छुट्याइएको ४० लाख रुपैयाँ यत्तिकै छ ‘फ्लाइओभरको सम्भाव्यता अध्ययन गर्ने भनेका थियौं तर अघि बढ्नै सकेन । पैसा यतिकै छ,’ महानगरपालिका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले भने ।

फ्लाइओभरको सम्भाव्यता अध्ययन नै नगरी आर्थिक वर्ष बित्न लागेपछि महानगरपालिकाले अर्कै योजना अगाडि सारेको छ । हालै बसेको महानगरको कार्यपालिका बैठकमा मुख्यचोकमा आकासे पुल निर्माणको योजनाबारे छलफल भएको छ ।

पोखराका मुख्यचोकमा अहिले बाटो काट्दै सकस छ । पृथ्वीचोक, सभागृहचोक, महेन्द्रपुल, चिप्लेढुंगा पालिखेचोक लगाएकात ठाउँमा ट्राफिक जामले हैरान पारिरहेको छ । यी मुख्य ट्राफिक जाम हुने ठाउँमा महानगरपालिकाले आकासे पुल बनाउने योजनामाथि छलफल चलाएको हो ।

‘छिट्टै कार्यविधि बनाएर सम्भाव्यता अध्ययनका लागि जाने हाम्रो योजना हो,’ मेयर मानबहादुर जिसीले भने, ‘प्राविधिकलाई खाका तयार पार्नु भनेको छु । आउँदो बजेटमै योजना समावेश गरी जाने तयारी छ ।’

आकासे पुल, फ्याइओभर वा भूमिगत सडक के निर्माण गर्न सकिन्छ त्यसको सम्भाव्यता अध्ययन गरेर कार्यान्वयनमा जाने मेयर जिसीले जानकारी दिए । पोखराको बुद्धचोक, पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, चिप्लेढुंगा र महेन्द्रपुलमा आकासे पुल बनाउने योजनामाथि कार्यपालिका बैठकमा छलफलपछि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो ।

छिट्टै कार्यविधि बनाएर विज्ञसहितको टोली अध्ययनमा जाने र सम्भाव्यता अध्ययनका लागि कति रकम छुट्याउने भन्ने विषयमा छलफल भइरहेको मेयर जिसीले बताए ।

पोखरामा न गतिलो बसपार्क छ, न पार्किङस्थल । पार्किङस्थलको व्यवस्था नहुँदा नगरका गाडी तथा मोटसाइकल सडकमै पार्किङ गर्नुपर्दा सडक झनै साँघुरा बनेका छन् ।

पोखरा महानगरपालिकाले पार्किङ शुल्क उठाउने नाममा सडक नै ठेक्कामा दिएको छ । महानगरमा ट्राफिक लाइटको व्यवस्था अझैसम्म कतै छैन । पोखरा महानगरपालिका मेयर जिसीले ट्राफिक व्यवस्थापनका लागि पार्किङस्थलको पनि खोजी गरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ