पोखरामा नेपालकै ठूलो फनपार्क बन्दै, ढुंगेसाँघु नजिक २४ करोडमा यस्तो बन्ने भो

पोखरामा नेपालकै ठूलो फनपार्क बन्दै, ढुंगेसाँघु नजिक २४ करोडमा यस्तो बन्ने भो

disney3

पोखरा, १ बैशाख । पोखरामा २४ करोडको लागतमा फनपार्क बन्ने भएको छ । हाईड्रोपावरमा लगानी गर्दै आईरहेका १३ जना युवाहरुको आयु ग्रुपले आयु ईन्टरटेनमेन्ट्स प्रालिको नामबाट पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ महतगौंडास्थित ढुंगेसाँघुमा फिस्टेल ड्रिमपार्क बनाउन लागेका हुन् ।

ड्रिमपार्क यसअघि ढुंगेसाँघु मेला लाग्ने स्थलको माथिल्लो क्षेत्रमा निर्माण गर्न लागिएको हो । तल्लो क्षेत्र खाली नै रहेकाले ढुंगेसाँघु मेलालाई भने आंशिक रुपमा मात्रै असर गर्नेछ । यो डि्रमपार्क निर्माण गर्न लागेको कम्पनीले पुवा खोला-१ जलविद्युत आयोजना, ओखलढुंगामा मलुन हाईड्रोपावर र दार्चुलामा छेतिगार्ड हाइड्रोपावर बनाइरहेको कम्पनीका कार्यकारी अध्यक्ष कदम केसीले जानकारी दिए । कम्पनीको शेयर होल्डर १३ जना रहेको र बोर्ड मेम्बर अध्यक्षसहित ५ जना रहेको केसीले बताए ।

एक वर्षभित्र बनाईसक्ने लक्ष्य राखिएको यो ड्रिम मपार्कको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले विहीबार शिलान्यास गरे । ६५ रोपनी क्षेत्रफलमा बन्ने यो डि्रमपार्कमा ३० वटा छुट्टाछुट्टै ईभेन्ट रहने जनाइएको छ ।

जहाँ वालवालिकाका लागि किड्स जोन, युवाहरुका लागि युथ जोन र उमेर पुगेकाहरुका लागि एडल्ट जोन बनाईनेछ । जसमा वाटर जोन छुट्टै हुनेछ । वाटर जोन पनि किड्स, युथ र एडल्ट तिनै उमेर समूहलाई हुनेगरी वाटर स्प्लास, वाटर स्लाईड बनाईनेछ ।

त्यस्तै थ्रीलर जोनमा फेरी हृविल (चर्खा), फ्रिफल, स्विङ, भाईकिङ सिट रहनेछ । यसैगरी पेन्डुलम राईड र प्लेन राईड पनि पार्कमा राखिने अध्यक्ष केसीले जानकारी दिए ।

पार्कमा पार्क नजिकैको भीरबाट जीप फ्लायर सञ्चालन गरिनुका साथै कभर्ड हल निर्माण गरेर ईनडुअर गेम खेल्नसक्ने बनाईनेछ । त्यस्तै, इनडुअर र आउटडुअर रक क्लाईम्विङ राखेर पर्यटकलाई मनोरञ्जन दिलाइने छ ।

पार्कमा ईलुजन जोन पनि हुनेछ जहाँ लि-बार कार, क्यारोजल राईडिङ, वेब पुललगायत रहनेछन् । पार्कको एक छेउमा मुभी जोन रहनेछ जहाँ एट डी, थ्री डी सिनेमा घर पनि हुने अध्यक्ष केसीले जानकारी दिए ।

बनाउन लागिएको डि्रमपार्क नेपालकै सबैभन्दा ठूलो फनपार्क बन्ने निर्माण कम्पनीको दाबी छ । यो पोखराकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने उनले बताए । उनले भने,’पोखरा आफैमा पर्यटकीय गन्तव्य हो, तर यहाँ समय बिताउने ठाउँ प्रशस्त छैन, अब यो ड्रिमपार्कले त्यसको पूर्ति गर्नेछ ।’

कुनैपनि पर्यटकलाई कम्तिमा पनि एक दिन बिताउनसक्ने खालको पार्क बनाइने उनले बताए । पार्कमा बच्चादेखी युवा/युवती, महिला वा बृद्धबृद्धा सबैलाई मनोरञ्जनको लागि उपयुक्त ठाउँ बन्ने उनको दाबी छ ।

कम्पनीले हाइड्रो बाहेक पहिलोपटक पोखराबाट फनपार्कमा हात हालेको कम्पनीका बोर्ड सदस्य नारायणप्रसाद पौडेलले बताए । उनले भने,’हामीले हाईड्रोबाट फनपार्कतर्फ अगाडि बढेका छौं, यो पहिलो पाइला हो र शुरुवात पनि ।’ पोखराबाट शुरु भएको फनपार्क निर्माण अभियान काठमाडौं हुँदै नेपालका प्रमुख सहरहरुमा पुर्‍याईने उनले बताए ।

फनपार्कमा वाषिर्क १ लाख ७० हजार भन्दा बढीले अवलोकन गर्ने लक्ष्य राखेर निर्माण शुरु गरिएको बोर्ड सदस्य पौडेलले बताए । पोखरा आएर फनपार्क घुम्नैपर्ने गन्तव्यका रुपमा विकास गर्ने बताउँदै उनले भने,’यहाँ आएर फनपार्क पुगिएन भने खल्लो हुन्छ, त्यहाँ त छुटाउनै हुँदैन भन्ने प्रमुख पर्यटकीय गन्तव्य बनाउँछौं ।’

शिलान्यास कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले बन्न लागेको डि्रमपार्क पोखराको पर्यटनका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले यस्तो प्रोजेक्ट निर्माणका लागि वडा कार्यालयको साथ र सहयोग सदैव रहने बताए ।

  • सन्देश श्रेष्ठ

(प्रतिकात्मक तस्विर)

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ