एउटी क्रुर आमाः आमाको नाममा कलंक, डिग्री पढेकी जसले नाबालक छोरालाई सधैं यातना दिइन्

एउटी क्रुर आमाः आमाको नाममा कलंक, डिग्री पढेकी जसले नाबालक छोरालाई सधैं यातना दिइन्

Child-torture-by-mum-biratnagar6

आइरनले डामेर बालकको शरिरभरि चोटैचोट । दायाँतर्फ माथि बालकलाई डाम्ने आमा । तस्बिर: किशोर बुढाथोकी

विराटनगर । शिक्षित महिलाबाटै आफ्नो सन्तानमाथि क्रुर, अमानवीय र कहालीलाग्दो घटना । छोराछोरीप्रतिको आमाको अपार मायाको उदाहरणलाई घृणा जगाउने गरी घटना भएको छ ।

अन्नपूर्ण बोर्डिङ स्कूल, विराटनगरमा युकेजीमा अध्ययनरत एक बालक सधैँजसो विद्यालय ढिला गरी आउँथे । मंगलवार पनि उनी विद्यालय आइपुग्न ढिलै भयो । विद्यालयकी शिक्षिकाले उनीसँग ढिला आउनुको कारण सोधिन् । त्यसपछि जब ती बालकले आफ्नो शरीरको आलो घाउ देखाए, तब शिक्षिकाको होस उँड्यो । ती बालकको शरीरभरी तातो आइरनले डामेको निसान थियो । खासमा उनलाई यसरी यातना दिने अरु कोही नभएर उनकी आमा  थिइन् ।

विराटनगर महानगरपालिका–३ की ३२ वर्षीया सरला पौडेल (काफ्ले) ले ६ वर्षीय छोरा समिपलाई तातो आइरनले शरीरभर डामेकी छन् । पारिवारिक स्रोतका अनुसार सरला त्रिभुवन विश्व विद्यालयबाट अर्थसास्त्रमा स्नातकोत्तर गर्दैछिन् ।

आमाबाट उनले यातना पाएको यो पहिलोपटक थिएन, त्यसअघि उनले यातना पाउने गरेका थिए । विद्यालयले ती आमालाई छोरा नकुट्न पटक-पटक आग्रह पनि गर्‍यो, तर उनले कहिल्यै मानिनन् । पटक-पटकको आग्रहलाई बेवास्ता गर्दै छोरालाई यातना दिन नछाडेपछि विद्यालय विराटनगर- ३ की सरला काफ्लेविरुद्ध प्रहरी प्रशासन गुहार्ने निष्कर्षमा पुग्यो ।

तातो आइरनले पोलेको घाउ बच्चाले देखाएपछि आफूहरू सहन नसकेर बच्चाका बाबु र प्रहरी प्रशासनलाई खबर गरेको विद्यालयका प्रिन्सिपल अमिस रेग्मीले बताए । छिमेकीले बच्चा नकुट्न आग्रह गरेपनि उनले झनै बढी यातना दिन थालेकी थिइन् ।

श्रीमान/श्रीमतीबीच आपसी झगडाको रिस उनले छोरामाथि पोख्ने गरेको छिमेकी सीता अर्याल बताउँछिन् । उनका श्रीमान् विक्रम काफ्ले काठमाडौंमा बस्छन् ।

बुढा भएका बाबुआमालाई पनि श्रीमतीले यातना दिएपछि उनले काठमाडौंमा आफूसँगै राखेका छन् । ‘बुढा भएका बाबुआमालाई सरलाले यातना दिएपछि काठमाडौं लगेँ, छोरोसँगै थियो, यस्तो भएछ,’ उनले भने ।

आमाबुबालाई यातना दिने, झै-झगडा गर्ने गरेका कारण आफूहरू छुट्टै बस्न थालेको र सम्बन्धविच्छेदका लागि मुद्दासमेत हालेको उनले बताए ।

आइरनले डाम्दा समिपको शरीरभरि घाउ भएको छ । अन्नपूर्ण एकेडेमी स्कुलमा युकेजीमा अध्ययरत छोरालाई मंगलबार विहान आमाले आइरनले डामेकी हुन् । आइरनले डामेर उपचारका लागि अस्पताल नलगी सरलाले छोरालाई स्कुल पठाएकी थिइन् ।

स्कुलमा बालकलाई दिउँसो १ बजे परीक्षा दिन पु¥याइएको थियो । बालक परीक्षा दिन सक्ने अवस्थाको देखेपछि प्रिन्सिपल अमिस रेग्मीले कपडा खोलेर हेर्दा शरीरभरि घाउ देखे ।

‘आमाले सहनै नसक्ने गरी आइरनले डामेर छोरालाई घाउ बनाइदिएको पाइयो’, रेग्मीले भने, ‘शरीरका सबै ठाउँमा आइरनले डामेका चोट मात्रै छन् ।’ त्यसलगत्तै स्कुलले जानकारी गराएपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको छ ।

‘यसअघि पनि बालकलाई आमाबाट बारम्बार यातना दिने काम भइरहेको थियो,’ स्थानीय राजनीतिकर्मी दिपक चापागाईँले भने, ‘हामीले यातना नदिन पटक पटक गरेको आग्रहलाई पनि बेवास्ता गरिँदै आएको थियो ।’

उनले बालबालिकालाई यातना दिन नहुने भनेर सम्झाउँदा पनि केही नलागेको बताए । अहिले कसैले सहनै नसक्ने घटना भएको उनको भनाइ छ । स्कुलले बच्चाको हत्या नै गर्ने उद्देश्यले आइरनले डामिएको जनाएको छ ।

एक वर्षदेखि सरलाले छोरा समिपलाई बारम्बार यातना दिने र कुटपिट गर्ने गरेको स्थानीय चापागाईँले बताए । दुई महिनाअघि पनि कुटेर उनले छोराको टाउको नै फुटाइदिएकी थिइन ।

समिप २०७२ सालमा स्कुलमा भर्ना भएका थिए । प्ले ग्रुपबाट विद्यालयमा भर्ना भएका उनको सुरुकै दिन देखि हात खुुट्टामा निल डाम देखिने गरेको प्रिन्सीपल रेग्मीले बताए ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले आमाले नाबालक छोरामाथि अमानवीय र डरलाग्दो व्यवहार देखाएको बताए । ‘छोरालाई आइरनले डाम्ने आमालाई नियन्त्रणमा लिइएको छ’, उनले भने ।

सरलाविरुद्ध बुधबार जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु गरिएको जानकारी बिसीले दिए । उनका अनुसार आइरनले डाम्ने क्रममा सरलाले छोरालाई विष खुवाएर र छतबाट खसालेर मारीदिन्छु भन्दै गाली समेत गरेको पाइएको छ ।

‘छोराछोरीप्रतिको आमाको अपार मायाको उदाहरणलाई घृणा जगाउने गरी घटना भएको छ,’ उनले भने, ‘बालकले पनि आमाले बारम्बार कुटपिट गर्ने र यातना दिने गरेको बताएका छन् ।’

सरलाको सात वर्ष अघि विक्रम काफ्लेसँग मागी विवाह भएको हो । उनीहरुबीच केही समयअघि सम्बन्ध विच्छेद भएको थियो । ६ वर्षीय छोरा भने सरलाकै साथमा बस्ने गरेका थिए ।

सरलासँग सम्बन्धविच्छेद भएपछि विक्रम काठमाडौंमा बस्दै आएका थिए । छोरामाथि आमाले गरेको अमानवीय व्यवहारबारे जानकारी पाएपछि उनी विराटनगर आएका छन् ।

प्रहरीले छोरालाई उनकै जिम्मा लगाएको छ । घाइते अवस्थाका बालकलाई विक्रमले नै उपचार गराइरहेका छन् । विक्रमले सरलाविरुद्ध जाहेरी दिएपछि प्रहरीलाई मुद्दा चलाउन र घटना अनुसन्धान गर्न सजिलो भएको एसपी बिसीले बताए ।

घटना स्वीकारिन्

प्रहरी नियन्त्रणमा रहेकी सरलाले घटना स्वीकार गरेकी छन् । उनले छोराले नपढेपछि आइरन तताएर डामेको बयान दिएको जानकारी एसपी बिसीले दिए।

प्रहरीले नियन्त्रणमा लिनुअघि स्थानीय महिलाहरुले कसैले पनि सहन नसक्ने घटना भन्दै सरलालाई कुटपिट समेत गरेका थिए । ‘नबालक छोरालाई मरणासन्न हुने गरी यातना दिनुको कारण खोतलिँदै छ’, उनले भने, ‘नपढ्ने कारणले मात्रै यातना दिएको हो भन्ने लाग्दैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ