खुर्कोट (पर्वत) — परिवारको पालनपोषण र शिक्षादीक्षाको सबै भार बोक्ने मुख्य अभिभावक नै थला परेपछि यहाँको एउटा परिवारको अवस्था दयनीय भएको छ । मजदुरी गरेर पालिएको कुश्मा २ खुर्कोटको गिरी परिवारमा यस्तो भएको हो । कान्तिपुरमा समाचार छ ।
२०७२ चैतमा बारीमा मकै लगाउन खेत जोत्न लाग्दा गोरुले हानेर लडेका ३० वर्षीय माधव गिरीको मेरुदण्ड भाँचिएको थियो । त्यसयता उनी फेरि काम गर्नसक्ने भएनन् । परिवार अहिले बिचल्ली परेको छ । दुर्घटनापछि कास्कीको हरियोखर्कमा तीन र मनिपाल अस्पतालमा तीन महिना उपचार गर्दा ४ लाख रुपैयाँभन्दा बढी खर्च भयो । दु:खजिलो गरेर जोडेको ६० हजार रुपैयाँबाहेक अरू पैसा थिएन । अहिले साढे ३ लाख रुपैयाँ ऋण छ । ‘२ वर्ष भयो । ब्याज पनि तिर्न सकिएको छैन,’ श्रीमती पार्वतीले भनिन्, ‘अहिले त ४ लाख पुग्यो होला ।’
दुर्घटनाको लामो समयसम्म निको हुने आस मेटिएन । आफन्त र नातागोतासँग हारगुहार गर्दै ऋण मागेर अस्पताल बसे । तर, न पैसा बच्यो, न उपचार भयो । ‘पैसाको खोलो बगेपछि बल्ल थाहा भयो, यो उपचार विश्वमै हुँदोरहेनछ,’
ओछ्यानबाट गिरीले गहभरि आँसु झार्दै भने, ‘अहिलेआफ्नोभन्दा परिवारको पीडाले छट्पटी हुन्छ । यस्तो पीडा कसैलाई नपरोस् ।’
दुर्घटनापछि श्रीमती पार्वती चौबीसै घण्टा श्रीमान्को स्याहारमाजुट्नुपर्छ । मेरुदण्डमा रड राखिएको छ । उनलाई सुताएरै भित्र–बाहिर गराउनुपर्छ । खाना खुवाउनेदेखि शौच गराउने, नुहाउने, सबै काम गर्दा पार्वतीलाई फुर्सद हुँदैन । जेठी छोरी सुष्मा १० वर्षकी छन् । उनैले खाना बनाउँछिन् । ७ वर्षीया बैहिनी र २ वर्षे भाइको स्याहारसुसार गर्ने जिम्मा सुष्माकै काँधमा छ । भाइबहिनीको स्याहार गर्दा उनको पढाइ पनि निरन्तर हुन सकेको छैन । ‘बिहान सबै काम सकेर स्कुल पुग्दा ११ बज्छ,’ सुष्माले भनिन्, ‘धेरैजसो स्कुल जानै पाइन्न ।’
करिब ४ वर्ष विदेशमा बिताएका गिरी ०७२ माघमा घर फर्किएका थिए । कतार, साउदी र ओमन । जुन देशमा गए पनि अपेक्षित पारिश्रमिक नपाएपछि परिवारसँगै बसेर गाउँमै उद्यम गर्न घर फर्किएको गिरी बताउँछन् । ‘विदेशमा गर्ने दु:ख घरमै बसेर गर्छु भनेर फर्किएँ,’ उनले भने, ‘फर्किएको २ महिनामै यस्तो भयो । दसाले डोर्याएछ ।’ वैदेशिक रोजगारमा जुटाएको केही रकमले परिवारमा लागेको ऋण तिरेको उनी बताउँछन् । ‘उमेर छ, पछिका लागि केही गरौंला भनेर सगोल (संयुक्त परिवार) मा लागेको ऋण तिरें, समस्या परेपछि सबै पराई भए ।’
गिरी पत्नी पार्वतीलाई अब छोराछोरीको पढाइ, उपचारमा लागेको ऋण तिर्ने र बिहान–बेलुकाको छाक जुटाउने चिन्ता छ । ‘यिनिहरूलाई राम्रो पढाउन पाए केही वर्षपछि अलि राहत हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले सबै चोट एकैपटक लाग्यो । पार लाउने कसरी ?’ ०७२ को भूकम्पले घर भत्किएपछि अस्थायी छाप्रामा बसेको यो परिवारलाई छिमेकीले एक तले घर बनाइदिएका छन् । अहिले बासको चिन्ता छैन । ओछ्यानमा एकोहोरो सुतिरहँदा टाउको दुख्ने, झमझम गर्ने, खान मन नलाग्नेलगायतका समस्या हुने गिरी बताउँछन् । घाँटीदेखि मुनिको अरू शरीर कसरी चल्छ उनलाई कुनै जानकारी छैन । ‘यस्तोगरी कहिलेसम्म बाँचिन्छ ?’ गिरीले दुखेसो व्यक्त गरे ।
आरामदायी बेड सहयोग
२ वर्षदेखि थलिएका गिरीलाई अस्पतालका कर्मचारीले फोल्डिङ बेड सहयोग गरेका छन् । कुश्मा २ घर भई जिल्ला अस्पताल पर्वतमा कार्यरत रघुनाथ रेग्मी र अस्पतालकै लेखा अधिकृत मित्रलाल शर्माको अगुवाइमा कर्मचारीहरूले आधुनिक फोल्डिङ बेड घरमै पुर्याएर हस्तान्तरण गरेका हुन् ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी