पोखरा, ९ चैत । बन्द भएको २६ वर्षपछि यहाँस्थित बलेवा विमानस्थल शुक्रबारदेखि नियमित सञ्चालनमा आएको छ ।
तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाडौं–बागलुङ पहिलो व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाडौंँबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड लागेको थियो ।
बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्कासहित जनप्रतिनिधि र स्थानीयवासीले बाजागाजासहित यात्रुको स्वागत गरेका थिए । विमान चालक सञ्जीव श्रेष्ठले विमान उडाउँदा सहज र रमाइलो अनुभव भएको बताए । “नियमित उडानका लागि विमानस्थल ठीक छ”, उनले भने, ‘मौसम पनि राम्रो भएकाले उडान रमाइलो रह्यो ।” यसअघि सोमबारको परीक्षण उडान पनि श्रेष्ठलगायतको चालक टोलीले गरेको थियो । विमानस्थल नियमित सञ्चालन गर्न कुनै प्राविधिक समस्या नरहेको उनको भनाइ छ ।
पहिलो उडानमा यात्रा गरेका बागलुङ नगरपालिका–३ का ८० वर्षीय कृष्णप्रसाद सापकोटाले खुशी व्यक्त गर्दै भने, “उपचारको लागि काठमाडौं गएको थिएँ, आज एकै छिनमा जहाज चढेर घर फर्कन पाइयो ।”
बन्द भएर जीर्ण विमानस्थल चल्नु ठूलो उपलब्धि भएको बताउँदै नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका प्रबन्धक इमनाथ अधिकारीले तत्कालका लागि सामान्य मर्मत सुधार गरेर विमानस्थल सञ्चालनमा ल्याइएको उल्लेख गरे ।
विमानस्थलको भौतिक पूर्वाधारको अवस्था पनि कमजोर अवस्थामा रहेको उनको भनाइ छ । अबदेखि साताको दुई पटक नियमित रुपमा काठमाडौं–बागलुङ उडान हुने जनाइएको छ । दोस्रो व्यावसायिक उडान यही चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्ने भएको छ । नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच सातामा दुई उडान गर्ने सहमति यसअघि नै भएको थियो ।
हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “विमानस्थल सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि सबै पक्षको सहयोगको खाँचो छ”, प्रमुख पौडेलले भने ।
उन्नाइस सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए नगरपालिकाले भार व्यहोर्ने भएको छ । यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सघाउने प्रमुख पौडेलले बताए । विसं २०४८ मा बन्द विमानस्थल पछिल्लो समय गौचरणमा परिणत भएको थियो । मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो । विसं २०२२ मा निर्मित विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि बन्द भएको थियो ।
सम्बन्धित खबर
बागलुङ बलेवाको गणेश मावि: जहाँ शहरका विद्यार्थी पढ्छन्
बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै
स्वास्थ्यमन्त्रीकै गृहजिल्लामा मनोचिकित्सक अभाव, उपचार प्रभावित
चार पटक म्याद थप्दासमेत सडक कालोपत्रे नभएपछि स्थानिय आन्दोलित
तरकारीखेती गरेर जीविकोपार्जन गर्दै बागलुङका किसान
सोलार जोडिएपछि उज्यालो बन्यो निसेलढोर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी