रञ्जन अधिकारी पोखरा, २४ फागुन / प्रदेश नं ४ को प्रदेशसभा भवनलाई तस्विरमा कैद गर्दा पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमाल । उत्तिकै आकर्षक भवनको डिजाइन । साराको मन लोभिने त्यो तस्विर गत फागुन २ गते पोखराका पत्रकार सन्तोष पोखरेलले फेसबुकमा अपलोड गरेपछि धेरैले मन पराए । शेयर गरे । अनि लेखे ‘यत्तिको संसद भवन संसारमै छैन ।’

तस्विर: उमेश पुन
अगाडिको पाटो सबैले देखे । चिटिक्क रंगरोगन गरेपछि आकर्षक बनेको त्यही भवनले छेकिएको पछाडिको क्रिकेट मैदान कसले देख्ने ? अभ्यास गर्ने ठाउँ नै निषेध गरेको विषयमा कसले बोल्ने ? सबै वाहवाही टोलीमा सामेल हुँदा क्रिकेटप्रेमीको गुनासो भने यस्तो थियो ।
पोखरा नदिपुर स्थित नगर विकास प्रशिक्षण केन्द्र प्रदेशसभा भवन रहने निर्णयसँगै मुल गेटबाटै भित्र पस्न निषेध गरियो । उनीहरु नेपाल क्रिकेट संघ (क्यान) कास्की अध्यक्षकहाँ पुगे, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष गुहारे, प्रदेश सांसद मन्त्रीलाई गुनासो पोखे तर क्रिकेट मैदान पुग्ने सुरक्षा घेरा भोलिका क्रिकेट खेलाडीका लागि खुलेन ।

नदिपुर क्रिकेट मैदान
पछिल्लो समय चर्चित राष्ट्रिय खेलाडी करण केसीले अभ्यास गरेर खेलमा निखार ल्याउन सहयोग पु¥याएको नदिपुर मैदान संकटमा परेपछि यहाँका क्रिकेटप्रेमी तातिए । केसीले नै गत साउनमा राइजिङ पोखरा क्रिकेट एकेडेमी खोलेर किशोरहरुलाई अभ्यास गराउँदै आएका थिए ।
हालै आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा क्यानडामाथि सनसनीपूर्ण जित निकाल्ने क्रममा आश्चर्यजनक खेलकौशल प्रदर्शन गरेका एकेडेमीका सञ्चालक करण केसी पोखरामा सम्मान थाप्न ब्यस्त रहे तर उनले सिकाउने थलो बन्द हुँदा खुलाउन पहल गर्ने कोहि भेटिएनन् । प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रामशरण बस्नेतले फागुन ९ गते खेलाडी सम्मान कार्यक्रममा प्रदेश सरकारले १ लाख दिने घोषणा नै गरे ।
रोचक कुरा त, विहीबार उनै पर्यटनमन्त्री बस्नेतले एक सार्वजनिक समारोहमा नदिपुर क्रिकेट मैदान तत्काल खुलाउने प्रतिबद्धता जनाएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले पोखरामा आयोजना गरेको ‘प्रदेश ४ मा खेल पर्यटनको सम्भावना’ विषयक अन्तक्र्रियामा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले नदिपुर स्थित क्रिकेट मैदाने खुलाउन खेलाडी तथा खेलप्रेमीको अनुरोध बमोजिम आफूले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको गुनासो गरे ।
माथिको आदेशले रोकिएको जवाफ पाएको जनाएपछि पौडेल पछि बोलेका मन्त्री बस्नेतले आफू कार्यक्रम सकिने बित्तिकै मैदान खुलाउन निर्देशन दिने घोषणा गरे ।
हेर्नुहोस् भिडियो:
https://www.facebook.com/gandaknews/videos/790063997852521/
लगत्तै सिडिओ र एसपीलाई यससम्बन्धमा जानकारी गराएपछि सकारात्मक जवाफ पाएको अध्यक्ष पौडेलले जानकारी दिए । प्रदेश सरकारको संसद भवन रहेका कारण सुरक्षाका कारण देखाएर त्यहाँ अभ्यास तथा खेलको लागि तीन महिना बढी समयदेखि निषेध छ । पछाडिको गेट प्रयोग गर्ने र बीचमा पर्खाल लगाएर खेल्न दिनुपर्ने क्रिकेटप्रेमीको माग छ ।

नेपाल क्रिकेट समर्थक समाज (एनसिसिएस), कास्की स्थापना गरेर अघि बढेका क्रिकेटप्रेमीहरु संस्थाका उपसंयोजक पवन लम्साल, खेलाडी दिपेश खत्री, क्रिकेटप्रेमीहरु विशाल गौतम, नवराज लामिछाने, कृष्ण बराल यो तीन महिनाबीचमा निरन्तर मैदानमा प्रवेश पाउनका लागि विभिन्न माध्यमबाट लागिरहे । विश्व क्रिकेटमा सहभागी हुँदै आएको नेत्रहीन क्रिकेट संघको पनि साथ रह्यो ।

क्यान कास्की का अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरामा रंगशाला स्थित रहेको जम्मा एउटा किक्रेट मैदानलाई अभ्यास मैदान बनाउन नमिल्ने भएकाले नदिपुरको मैदान प्रयोगका लागि रोक्न नहुने बताए ।

क्यान कास्की अध्यक्ष सञ्जयकान्त सिग्देललाई ज्ञापन पत्र बुझाउँदै
नगर विकास प्रशिक्षण केन्द्रको सो मैदान सुरुमा केन्द्रले घाँस काट्न ठेक्कामा दिँदै आएको थियो । तत्कालिन समयमा क्रिकेट मैदान नहुँदा पृथ्वीनारायण क्याम्पसमा खेलिने गरिन्थ्यो । क्याम्पसको मैदान समेत नपाएपछि क्रिकेट खेल्नेहरुले घाँस काट्ने ठेक्कामै मैदान लिन थाल्यो । २०६० सालतिर ८ हजारमा ठेक्का लिएका थिए ।
त्यो उपाय अपनाउँदा समेत स्थानीयबाट अवरोध भयो । घाँस काटेर स्थानीयलाई दिन थालेपछि क्रिकेट मैदानकै रुप धारण गर्ने मौका जुट्यो । त्यहाँ प्रतियोगिता नै हुन थाल्यो । वार्षिक रुपमा नविकरण गर्दै आएका थिए । पोखरा रंगशालामा एसीसी प्रोजेक्ट अनुसार क्रिकेट मैदान बन्ने भएपछि कम्तिमा १५ वर्षका लागि अभ्यास मैदान हुनुपर्ने भएकाले २०६७ सालमा वार्षिक १ लाख रुपैंया बुझाउने गरी अनुमति प्राप्त भयो ।
पछि नदिपुर मैदान भन्दा रंगशाला मैदानतर्फ नै ध्यान केन्द्रित भयो । पछिल्लो समय पोखरा राइजिङ क्रिकेट एकेडेमीले अभ्यास गर्दै आएको थियो ।

क्रिकेटर करण केसीलाई पोखरामा सम्मान गरिदैंँ, सोहि कार्यक्रममा पर्यटनमन्त्री रामशरण बस्नेतले १ लाख दिने घोषणा गरेका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो