१६ बर्ष मुनिकाले हेर्न नमिल्ने ‘भर्जिन कथा’ फागुन ४ गते पोखरामा

१६ बर्ष मुनिकाले हेर्न नमिल्ने ‘भर्जिन कथा’ फागुन ४ गते पोखरामा

Virgin

रामलाल जोशीको मदन पुरस्कार विजेता पुस्तक ऐनामा संग्रहित एउटा कथा छ ‘भर्जिन कथा’ । सोहि कथालाई पोखराका युवाहरुले नाटकमा ढाल्दैछन् ।

युथ क्रियशन थियटरले नाटक घर निर्माण सहयोगार्थ पोखरामा आगामी फागुन ४ गते नाटक मञ्चन गर्न लागेकोे हो । सौगात पोखरेलको निर्देशन र कपिल शर्माको सह निर्देशनमा उक्त नाटक पोखरा उद्योग वाणिज्य संघको हल, गैह्रापाटनमा अपरान्ह साढे चार बजे एक शो हुने आयोजकले जनाएको छ ।

नाटकको पटकथा तथा संवादमा भरत छन्त्याल, कास्टिङ डाइरेक्टरमा रेम बिक, व्यवस्थापकमा महेश्वर बस्ताकोटी छन् । एक हजार रुपैंया प्रवेश शुल्क तोकिएको छ । थियटरले यसअघि चार नाटक मञ्चन गरिसकेको छ । प्रचारप्रसारमा यहाँका युवा जोडतोडका साथ लागिरहेका छन् ।

यसै सन्दर्भमा मेसोमेलोमा प्रकाशित मन क्षत्री को लेखलाई यहाँ साभार गरिएको छ ।

एउटा बुक्रे घरको कोठाभित्र पस्नासाथ उसले आफ्नो मैलिएको निलो गामन माथिल्तिर सारी, सर्लक्कै । भुइँमा दरी बिछ्याइएको थियो । ऊ त्यसैमा उत्तानो परी ।
भनि –
‘ल ल, आउनु होस् चाँडो’
स्तन उसका पुष्ट थिए । खाइलाग्दो जिउ थियो, भरिलो डाँकुला जस्तो । जवानी त्यति निख्रेजस्तो लाग्दैनथ्यो । जिउ पनि उत्ति बिग्रेजस्तो लाग्दैनथ्यो । मात्तिएको भाषमा भन्ने हो भने ऊ बमपटाका जस्तै थिई । सेता कमनीय तिघ्रा देखाएर दोस्रो पटक अनुरोधको भाषामा अत्याई– ‘आउनुहोस् क्या चाँडो, पछि खाल्टो पुरिइ जान्छ । ओइ, चाँडो, चाँडो ।’
ऊ भुइँको दरीमा पल्टिएकै थिई ।…

भर्जिन–कथा, रामलाल जोशीको मदन पुरस्कारप्राप्त कृति ‘ऐना’ भित्रको एउटा कथा हो । भर्जिन कथाकै उठान हो प्रारब्धपनि । ‘भर्जिन कथा’ के ! कथा मात्र हो ? वा भर्जिन कथा कथा नै होइन ? हो, भर्जिन कथा खासमा कुनै कथा नै होईन । भुगोलको कुनै एक कुनाका मान्छेहरुको दैनिकी हो । निरन्तरतामा चलिआएको परम्पराजस्तो कर्म । जो गर्नैपर्नेछ । बाँच्नु जो छ र बाँच्नका लागि खानु जो छ । बाँच्नु र त्यसैका लागि खानु अनि खानका लागि निरन्तरतामा गरिदैँ आएको कर्म कसरी हुन्छ हँ कथा ?

धत्तेरी, यो कथा नै त हो, भर्जिन–कथा । समाजरुपी ऐनाको एक टुक्रा अनुहार । सवै मान्छे र भूगोलको टुक्रा ऐनाको यो अनुहारसंग मिल्दैन् । जरुरीपनि छैन् । मान्छेहरुसंग हिमाल चढेको कथा छ । जंगल घुमेको कथा छ । महासागरमा एक्लै एक्लै बरालिएको कथा छ । पुरुषार्थ र अभिमानका कैयन कथाहरुपनि छन् । विपरित, आफ्नी श्रीमतिका लागि ग्राहक खोज्नु र प्राप्त रुपैँयाले जिविकोपार्जन गर्ने पुरुषको पुरुषत्व कहाँ कमजोर छ ? भर्जिन कथा, कथा नै हो ।

चल्तिको सिनेमाको पटकथा जस्तो छ भर्जिन कथा । आवरणको रंगमाथी कुचि खेलाएका छन् रामलालले । खित्खिताएर शरिर बेच्नु र भर्जिन घुट्क्याउनु आवरण हो । चुरोटको सर्को तान्नु र सेता साप्रा देखाउनु कास्टिङ्ग हो । फिल्म त अर्कै छ । फिल्म बन्ने कैयन उपकथाहरु कथाभित्रै असहाय छन् । सेता साप्रामाथीको निलो नशा ग्राहकको चासोभित्र पर्दैन ।
भोकका दुई फरक परिभाषाले एकछिन मथिङ्गल भने हामी सवैको हल्लाउन सक्छ । बस् यत्ति हो–‘भर्जिन कथा’..।

भर्जिन कथामाथि पोखराका केहि तन्नेरीहरु नाटक गर्दैछन् । छन् केहि रम्ता जोगीजस्ता । बर्षौदेखि पोखरामा नाटकघरको सपना देख्दै रुमल्लिइरहेका । कहिलेकाँही लाग्छ यीनिहरु आफ्नै सपनाको ऐंठनमा छन् । कहिलेकाँही बौरिएर फेरि चकचक गर्छन । यीनिहरुको चक्चक् सृजनशिल लाग्छ, र लाग्छ, यीनिहरु निदाउन नदिने सपना देख्दैछन् । चक्चकेहरु यतिवेला भर्जिन कथालाई मञ्चन गर्ने अन्तिम तयारीमा छन् ।

पोखरेली नाटकमा यतिवेला केहि अभ्यासहरु भएका छन् । होमवर्क गरिरहेछन् यहाँका नाट्यकर्मीहरु । बेलाबेलामा बाह्य शिक्षकले दिने अतिरिक्त क्लासले नपुगेको महसुससम्म पुगे कि यीनिहरु ? शिक्षक विद्यार्थीको सिको आरम्भ स्वयं आनन्द लायक छ ।

युथ क्रियशन थियटरको यो चक्चक्मा कथाकार रामलाल जोशीको समर्थन छ । नागरिकता पाउने उमेर नभएकाहरुलाई प्रवेश निशेधको चर्को हल्ला गरेर सामाजिक सञ्जाल रंगीन बनाइरहेका एक दर्जन यूवाहरुले भर्जिन कथाको भर्जिनिटी जोगाईराख्लान या भाँङ्को भूजिया बनाउँछन् । हेर्न बाँकी नै छ । हेर्नुअघि यत्ति राखौं । कपिल शर्मा र सौगात पोखरेलहरुलाई अग्रिम बधाई । म त्यो दिन सारिकालाई हेर्न जानेछु ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ