पोखरा मासबार पोखरीपाटनको पोखरी ५७ लाखमा पुनर्निर्माण

पोखरा मासबार पोखरीपाटनको पोखरी ५७ लाखमा पुनर्निर्माण

20180210_121926

गण्डक न्युज पोखरा, २७ माघ / पोखरा ७ मासबार पोखरीपाटन स्थित पुरानो पोखरीलाई संरक्षण गर्ने ध्येयका साथ आधुनिक तबरले पुनर्निर्माण गरिएको छ । पोखरीको शनिबार सो क्षेत्रको प्रतिनिधिसभा सांसद रबिन्द्र अधिकारी तथा प्रदेशसभा सांसद कृष्ण थापाले समुद्घाटन गरे ।

पोखरीको निर्माण, बीचमा लक्ष्मी नारायण मन्दिर र वरपर फलामेबार तथा भित्रपट्टीको क्षेत्रमा बगैंचा, पानीटंकी निर्माण गर्दा ५७ लाख १६ हजार खर्च भएको पोखरी संरक्षण समितिले जनाएको छ । सांसद अधिकारीले नै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत झण्डै १५ लाख रकम छुट्याएका हुन् भने उनी सहितकै आग्रहमा पोखरा लेखनाथ महानगरपालिका कार्यालयबाट करीब २२ लाख, सदस्यता शुल्कबाट करीब १९ लाख, मुर्ति खरिदका लागि विष्णुमाया बरालबाट ९२ हजार संकलन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अधिकारीले पुराना सम्पदालाई संरक्षण गर्ने स्थानीयको सोचलाई आफूले सक्दो सहयोग गरेको जनाए । ‘मैले निर्वाचन क्षेत्र कार्यक्रममा बजेट छुट्याउँदा ५ कुरालाई ध्यान दिएँ । आवश्यकता, योजनाको सही छनौट, अनुगमन, पारदर्शिता, संरक्षण लगायतलाई बिशेष जोड थियो ।’ अधिकारीले भने– ‘पोखरी पुनर्निर्माण आवश्यकता थियो । स्थानीयको सक्रियता थियो अहिले सोचेबमोजिम कार्य भएको छ । एउटाबाहेक सबै योजनाले मूर्तरुप पाईसकेका छन् ।’ उनले फेवाताल सफाइ मेसिनका लागि ५० लाख छुट्टाएको स्मरण गर्दै अहिले यो योजना सफल बन्दा हर्षित भएको बताए ।

विशेष अतिथि प्रदेशसांसद थापाले प्रदेशको प्रशासकीय वडामा यति सुन्दर पोखरी र मन्दिर निर्माण हुँदा पर्यटन क्षेत्र समेत बन्न सक्ने भन्दै यसलाई सिंगार्ने, चिनाउने प्रयासमा लाग्न अनुरोध गरे । उनले फिर्के पारी वडा नं. ६ पर्यटकीय क्षेत्र बन्दा ७ किन बनाउन नसकिने भन्दै स्थानीय लाग्नुपर्ने र आफ्नो सहयोग रहने बताए ।

पोखरा लेखनाथ महानगरपालिका कार्यालयका प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले अब साँच्चैको पोखरी बनेको भन्दै पानी भर्ने जिम्मा महानगरपालिकाले लिने बताए । वडा नं. ७ अध्यक्ष रामचन्द्र बरालले फिर्केको करिडोर, फुटट्रयाक खोल्न लागिपरेको बताउँदै फुर्के पुल बनाउने योजना सुनाए । सो अवसरमा नागरिक समाजका संयोजक रामबहादुर पौडेलले पोखरी चौतारी जस्ता सम्पदा मास्न नहुने बताए । नेकपा एमाले कास्की सचिवालय सदस्य तेजनारायण अधिकारी, नेपाली काँग्रेस वडा एकाई सभापति सरोज बराल लगायतले बोलेका थिए ।

कार्यक्रममा ईञ्जिनियरहरु शारदामोहन काफ्ले, शिव बराल र हरि बरालका साथै दाता विष्णुमाया बराललाई सम्मान गरिएको थियो । समितिका अध्यक्ष नारायण बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लिलाभक्त बरालले स्वागत तथा सचिव नारायणप्रसाद बरालले कार्यक्रमको सञ्चालन गरेका थिए । समितिको साधारणसभा समेत रहेको सो कार्यक्रममा कोषाध्यक्ष जमुना बरालले आयव्ययबारे जानकारी गराईन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds