पोखरामा प्रहरीले पत्रकारलाई कुटेको भिडियो भाइरल (भिडियो हेर्नुहोस्)

पोखरामा प्रहरीले पत्रकारलाई कुटेको भिडियो भाइरल (भिडियो हेर्नुहोस्)

Prakash Kutiye

रञ्जन अधिकारी पोखरा, २४ माघ / पृथ्वीनारायण क्याम्पसका विद्यार्थीलाई सोमबार साँझ पोखराको नगरबसले ठक्कर दिएर मृत्युपछि मंगलबार बिहानैदेखि क्याम्पसगेट क्षेत्र तनावपूर्ण रह्यो ।

यद्यपी, बुधबार मध्यान्हपछि भने शान्त भईसकेको छ । विद्यार्थीहरु आफ्ना साथीको मृत्युपछि आक्रोशित बन्दै दोषी चालकलाई कडा कारबाहीको साथ आन्दोलनमा उत्रेका थिए । मृतक स्याङ्जा आधिँखोला ६ निवासी २४ वर्षीय बोधराज ढकाल नेविसंघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति समेत हुन् ।

उनको मृत्युको कारण खोजी गर्दै नेविसंघले सबै विद्यार्थी संघ संगठनको साथ लागेर प्रहरी प्रशासन र पीडक विरुद्ध नाराबाजी सहित प्रदर्शन गरे । विद्यार्थीको आन्दोलनलाई समयमै नियन्त्रणमा लिन नसकेपछि प्रहरीसँग दिउँसो ३ बजेसम्मै झडप भयो । प्रहरीले पाँच राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो । प्रहरी प्रमुख, प्रवक्ता समेत हुलदंगा नियन्त्रणमा खटिएका थिए । प्रहरीको सशस्त्र प्रहरी गणको टोली, जिल्ला, वडा कार्यालय बगर, बैदामबाट समेत प्रहरी टोली परिचालित थिए ।

केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिएपछि आक्रोशित विद्यार्थीको भीडले बगरका विभिन्न ठाउँमा रोकिराखेका गाडीहरुमा तोडफोड गरे । दर्जनबढी गाडिको चावी नियन्त्रणमा लिए । सवारी आवागमन ठप्प बनेपछि प्रहरी पनि आक्रोशित बन्यो । त्यसपछि घटनाले यो रुप लिएको हो । पृथ्वीनारायण क्याम्पस भित्र विद्यार्थीहरु र गेट बाहिर प्रहरीबीच ढुंगा हानाहान भयो । यो क्रम लामो समय चल्यो । थप प्रहरी समेत परिचालित भएका थिए । दुई पक्षको झडपमा धेरै घाईते भएका छन् ।

प्रहरीको तर्फबाट ५ जना घाईते छन् भने विद्यार्थी दुई दर्जन भन्दा बढी घाईते भएका छन् । घाईते भएका ईन्स्पेक्टर बसन्त शर्मा, हवल्दार यम प्रसाद तिवारी, जवान हरिप्रसाद शर्मा, बलराम वली र चन्द्रबहादुर वली सामान्य उपचार पछि काममा फर्किए । घाईते विद्यार्थीको संख्या एकीन हुन सकेको छैन । प्रहरीले १६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । विद्यार्थीको निरन्तर दवावपछि नियन्त्रणमा रहेका विद्यार्थीहरु मंगलबार नै रिहा भए ।

प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गर्दा पत्रकार प्रकाश ढकाल घाईते भएका छन् ।

आदर्श समाज संवाददाता ढकाल घाँटीमा प्रेस कार्ड भिरेर गेट नजिकैको घरको पेटीमा बसिरहेका बेला उनलाई एक प्रहरी जवानले खुट्टामै लाठी प्रहार गरेका हुन् । ढकाल सहित त्यहाँ रहेका पत्रकारले पत्रकार हो भन्दा भन्दै तीन पटकसम्म नली खुट्टामै हानेका छन् । ‘हामी पत्रकार समाचार संकलनकै लागि ज्यानको पर्वाह नगरी गएका हौं । प्रहरीबाटै उल्टो आक्रमण भएको छ । सटर आडमा बसेका बेला पत्रकार हुँ भन्दा भन्दै हाने ।’ ढकालले भने ।

यस घटनाप्रति आदर्श समाज दैनिक र पत्रकारहरुले आपत्ति प्रकट गरेको छ । प्रहरी भने हुलुमुलमा परेको बताउँछ । स्थानीय घरहरुभित्र बाट बोत्तल प्रहार, छतबाट ढुंगा प्रहार भएपछि केहि एग्रेसिभ भएको हो तर विद्यार्थीकै बाइकहरु हामी सुरक्षा गरेर बसेका छौं । गेट बाहिर निस्कन चाहने विद्यार्थीलाई निर्वाध निकालेका छौं ।’

प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले भने – ‘पत्रकारलाई नियतवश पिटेको होईन । हुलमुलमा अवस्था एग्रेसिभ थियो । अचानक पिटिएपछि उहाँलाई प्रहरीबाटै सहयोग भएको तपाईंहरुले खिच्नुभएकै तस्विरहरुमा छ ।’ घटना दुःखद रहेको भन्दै अब यस्तो हुन नदिने तर्फ सचेत रहेको उनको भनाई छ ।

तनावलाई साम्य पार्न कास्की प्रहरीका प्रमुख एसपी अशोक सिंह आँफै बगर पुगेका थिए । मृतकका आफन्तले मंगलबार पनि शव बुझेनन् । सहमतिपछि बुधबार मात्र शव बुझे ।

पत्रकार ढकाल पिट्ने प्रहरीलाई कारबाही गर्न माग

कार्यसमिति सदस्य समेत रहेका प्रकाश ढकालमाथि मंगलवार प्रहरीले लाठी प्रहार गरि घाईते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्की शाखाले भत्र्सना गरेको छ ।

महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै सदस्य ढकालले पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै निर्घात कुटपिट गर्नु स्वतन्त्र प्रेसमाथि गरिएको आक्रमणको रुपमा लिएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा लेखिएको छ ‘घटनाको तत्काल छानविन गरी दोषीमाथि आवश्यक कारबाही गर्न जोडदार माग गर्दछौं । साथै, समाचार संकलनका क्रममा खटिएका पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासनलाई अनुरोध गर्दछौं ।’

यस्तै, पत्रकार ढकालमाथि कुटपिट गर्ने प्रहरीलाई यथाशीघ्र कारबाही गर्न नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले माग गरेको छ ।

आर्दश समाज दैनिकका संवाददाता, नेपाल पत्रकार महासंघ कास्की कार्यसमिती सदस्य प्रकाश ढकाललाई प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरिनु स्वतन्त्र प्रेसमाथिकै हमलाका रुपमा मञ्चले लिएको छ । अध्यक्ष केशव पाठकले एक विज्ञप्ती जारी गर्दै समाचार संकलनका क्रममा बिभिन्न समयमा प्रहरीबाट यस्ता कृयाकलाप भइरहेको अवस्थामा फेरी पनि पत्रकार ढकाल माथि उस्तै नियती दोहोरिएको उल्लेख छ ।

विज्ञप्तीमा लेखिएको छ – ‘पत्रकार माथी प्रहरीले गरेको ज्यादतीपूर्ण व्यवहारको भत्र्सना गर्दै तत्काल छानविन गरी दोषि माथी कारवाही गर्न माग गर्दछ ।’

यसैगरी, नेपाल प्रेस युनियनले पनि आफ्ना सदस्य प्रकाश ढकालमाथि भएको आक्रमणको घोर निन्दासहित भत्र्सना गरेको छ ।

केन्द्रिय सदस्य ऋषिकान्त पौडेल र कास्की शाखा अध्यक्ष शिरोमणि बरालले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै नागरिकलाई सुसुचित गराउने एकमात्र उदेश्यसहित कार्यमा खटिने क्रममा आफ्नो पत्रकार परीचय पत्र देखाउँदासमेत प्रहरीबाट कुटपिट गरिनु समग्र पत्रकारीता पेशामाथीको उपहास भएको युनियनले महशुस गरेको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ – राज्यद्धारा परिचालित सुरक्षाकर्मीहरुवाटै पत्रकारमाथी कुटपिट हुनु खेदजनक छ नै यस्ता घटनाले प्रेस स्वतन्त्रतामाथी धावा बोलेको ठानेका छौ । तसर्थ पत्रकार ढकाल माथी आक्रमण गर्ने प्रहरी अधिकारीलाई तत्काल कारवाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न गर्न पनि कास्की प्रहरीलाई आग्रह गर्दछौ । साथै निकट भविष्यमा समेत पत्रकारलाई निर्वाध ढङगले समाचार संकलन गर्ने वातावरण तय गर्न र यस्ता खालका घटना नदोहो¥याउने् प्रतिवद्धताको समेत माग गर्दछौ ।

प्रेस चौतारी कास्कीले पत्रकार महासंघ कास्कीका सदस्य तथा आदर्श समाज दैनिकमा कार्यरत पत्रकार प्रकाश ढकाललाई पृथ्वीनारायाण क्याम्पस गेट अगाडि मंगलबार प्रहरीले कुटपिट गरेको घटनाको घोर निन्दा र भत्र्सना गरेको छ ।

प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले जारी गरेको विज्ञप्तिमा सवारी दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी बोधराज ढकालको मृत्युको विषयलाई लिएर प्रहरी र विद्यार्थीबीच भएको झडपको समाचार संकलनमा खटिएका ढकाललाई कुटपिट गर्नु प्रहरी प्रशासनको दादागिरीको पराकाष्ठा भएको उल्लेख गरिएको छ ।

‘घाँटीमा परिचय पत्र भिरेर र आफू पत्रकार भएको बताउँदा बताउँदै निर्घात कुट्नु स्वतन्त्र प्रेस माथिको आक्रमण भएको प्रेस चौतारी कास्की ठम्याइ छ,’ विज्ञप्तिमा भनिएको छ,‘ घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न प्रेस चौतारी कास्की जोडदार माग गर्दछ । विज्ञिप्तमा समाचार संकलनमा खटिएका पत्रकारको सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासन समक्ष माग गरिएको छ ।

यसैबीच, नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य तथा कृयाशिल पत्रकार प्रकाश ढकालमाथि मंगलवार प्रहरीले लाठी प्रहार गरि घाईते वनाएको घटनाप्रति प्रेस सेन्टर नेपाल कास्कीले घोर भन्र्सना गरेको छ ।

अध्यक्ष विभु भुषाल र सचिव कृष्ण दवाडीले संयुक्त विज्ञप्ती जारी गर्दै परिचय पत्र देखाएर पत्रकार हुँ भन्दा भन्दै पनि कुटपिट गरिनुले प्रहरीको नियतमाथि समेत प्रश्न गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन् ।

यस्तै, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको पनि गम्भीर ध्यानाकर्षण भएको छ । ढकालमाथी भएको लाठी प्रहार अति निन्दनीय भएको अध्यक्ष एमबी आस्था मगरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी, मानवअधिकार पत्रकार संघ हुर्जा पश्चिमाञ्चलले मंगलवार बिहान पृथ्वीनारायण क्याम्पस गेट अगाडि भएको प्रहरी–विद्यार्थी झडपका सन्दर्भमा पत्रकार प्रकाश ढकालमाथि भएको आक्रमणप्रति निन्दनिय भएको भन्दै भत्र्सना गरेको छ ।

हुर्जाका अध्यक्ष राजेश पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचार संकलनका लागि खटिएका पत्रकारमाथि प्रशासनबाटै लाठी प्रहार हुनु सिंगो सञ्चार जगत्माथिको आक्रमण भएको भनिएको छ ।

यस्तै, प्रहरीले मंगलवार गरेको दूब्र्यबहार प्रति राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । अध्यक्ष इन्द्र प्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै यस्ता कार्य नदोहोराउन सचेत गराईएको छ ।

यस्तै, क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे), कास्की अध्यक्ष सरिता तिम्सिना पंगेनीले विज्ञप्ति जारी गर्दै प्रेसमाथिको आक्रमण क्षम्य नहुने बताएकी छन् । उनले दोषी प्रहरीलाई कारबाही गर्न माग गर्दै घाईते ढकालको शीघ्र स्वास्थ्यलाभको कामना समेत विज्ञप्ती मार्फत गरेकी छन् ।

यसैगरी, चलचित्र पत्रकार संघ कास्कीले क्रियाशील पत्रकार ढकालप्रति कुटपिट हुनु प्रहरीको दमनका रुपमा लिएको छ । अध्यक्ष रेम बिक र सचिव सुशन घिमिरेले संयुक्त विज्ञप्ती जारी गर्दै तत्काल छानविन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

यस्तै, रिपोर्टर्स क्लब कास्कीका अध्यक्ष बासुदेव मिश्रले पनि एक विज्ञप्ती जारी गर्दै प्रहरीबाट भएको दमनप्रति ध्यानाकर्षण जनाउँदै दोषीउपर कारबाही हुनुपर्ने माग गरेको छ ।

https://youtu.be/Goye0a2fLlQ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ