डिफेन्डिङ च्याम्पियन मनाङलाई पुलिस तगारो, आजको खेल थ्रीस्टार Vs बरिन्धरा, बंगलादेश

डिफेन्डिङ च्याम्पियन मनाङलाई पुलिस तगारो, आजको खेल थ्रीस्टार Vs बरिन्धरा, बंगलादेश

Police

रञ्जन अधिकारी पोखरा, १६ माघ / डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई पहिलो खेलमै पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पुलिसले मनाङ विरुद्ध ३–१ गोल अन्तरको जीत निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । यस खेलसँगै सेमिफाइनल समिकरण पुरा भएको छ ।

सहारा क्लबले आयोजना गरेको क्याराभान सहित १७ पटकको प्रतियोगितामा यी दुवैले समान पाँच पटक उपाधि जितेका छन् । सिधै बाइ पाएर क्वार्टरफाइनल खेलेको मनाङलाई पहिलो खेलबाटै फर्काएपछि पुलिसले सर्वाधिक उपाधि जित्ने सम्भावना कायमै राखेको छ । अब पुलिसले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा बिहीबार धरान एफसीसँग प्रतिष्पर्धा गर्नेछ । धरानले आर्मीलाई टाइब्रेकरमा पराजित गरेको थियो ।

पोखरा रंगशालामा पहिलो हाफ गोलरहित खेलेको पुलिसले दोश्रो हाफमा लगातार ३ गोल गर्दा मनाङे टोली र समर्थक स्तब्ध बन्यो । मनाङले अन्तिममा सान्त्वना गोल फर्काएर पोखराको मैदानमा एक गोल भने गर्न सक्यो । पहिलो हाफमा फिनिसिङमा कमजोर देखिएको पुलिसका लागि दोस्रो हाफ सुरु भएको आठौं मिनेटमै निरकुमार राईले गोल गरे । ५३ औं मिनेटमा अग्रता लिएको पुलिसले चार मिनेटपछि नै दोस्रो गोल ग¥यो । ५७ औं मिनेटमा तेज तामाङको पासमा पेनाल्टी एरियामा रहेका दिनेश राजवंशीले हेडमार्फत गोल गरे । ७२ औं मिनेटमा निरकुमारको पासमा मध्यभाग नजिकैबाट विपक्षी डिफेण्डर सबै बिट भएको अवस्थामा सुमन लामाले सुन्दर गोल गरे ।

यसअघि, झापा विरुद्धको पहिलो खेलमा १–० गोलको कठिन जित निकाल्ने क्रममा सुमनले नै गोल गरेका थिए । म्यान अफ दि म्याच घोषित लामा दुई खेलमा दुई गोलका साथ प्रतियोगितामा उच्च गोलकर्ता हुन् ।

एकपछि अर्को गोल व्यहोरेपछि मनाङ आक्रामक बनेको थियो । तर, उसका एकपछि अर्को प्रहार असफल भयो । ८२ औं मिनेटमा क्याप्टेन अनिल गुरुङले मिलाईदिएको पासलाई पेनाल्टी एरियामा रहेका विशाल राईले सान्त्वना गोल फर्काए । त्यसपछि थप गोल भएन र मनाङ पुलिससँग ३–१ गोलले स्तब्ध बन्यो ।

खेलको सुरुदेखि नै दुवै टीम आक्रामक थियो । छरितो खेलमा दुवैले गरेका प्रहार खेर गए । पोखरेली अनिल गुरुङ, हेमन गुरुङले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने मनाङबाट खेल्नकै लागि जापानबाट आएका सन्तोष साहुखलले नोटिस गेम खेलेनन् ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले योजना अनुरुप नै खेलाडीले खेल खेल्दा जित सहज भएको बताए । उनले पुलिस लयमा फर्किएको दाबी गरे । खेल दौरानमा रेफ्रीले नै सचेत गराउनुपर्ने गरी किन चर्को आवाजमा खेलाडीलाई निर्देशन दिनुपरेको ? भन्ने प्रश्नमा उनले खेलाडीहरुलाई समय अपुग भएका कारण आफूले निर्देशन दिएको प्रतिक्रिया दिए । धरान विरुद्धको खेलमा राम्रो प्रदर्शन गर्ने उनको भनाई छ ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले विदेशी चार खेलाडी बिना नै मैदानमा उत्रिँदा त्यसको असर खेलमा परेको बताए । पहिलो हाफमा आफ्ना खेलाडीले खेललाई इजी लिएको भन्दै उनले दोस्रो हाफ जस्तै गरी खेलेको भए नतिजा उल्टन सक्ने जिकिर गरे । खेलमा जित हार स्वभाविक भएकाले आफू अचम्मित नभएको उनको भनाई थियो । मनाङ विगत चार पाँच वर्षदेखि रक्षापंक्तिमा विदेशी खेलाडीकै भर परेको उनको भनाई थियो । मंगलबारको खेलमा विदेशी खेलाडी भिक्टोर, मुसो, सोलोलगायतका खेलाडी खेल्न पाएनन् । वर्क परमिट नभएकालाई खेलमा प्रतिबन्ध लगाएपछि उनीहरुले खेल्न नपाएका हुन् । यसअघि, आयोजक सहारा, थ्रीस्टारका विदेशी खेलाडी पनि मैदान छिर्न पाएका थिएनन् ।

पहिलो सेमिफाइनलमा भने बुधबार थ्रीस्टारले उत्तर बरिन्धरा क्लब, बंगलादेश प्रतिष्पर्धा गर्नेछ । तीन दिन दिन अघि मात्रै मनाङलाई १–० गोलले हराउँदै इटहरी गोल्डकप जितेको थ्रीस्टारले सशस्त्रको एपीएफ विरुद्ध टाइब्रेकरमा नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

थ्रीस्टार चार पटकको विजेता हो भने उत्तर बरिन्धरा पहिलो पटक सहभागिता जनाएको हो । उसले क्वार्टरफाइनलमा सुदुरपश्चिम स्पोर्टिङ क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

आजको खेल
थ्रीस्टार क्लब उत्तर बरिन्धरा, बंगलादेश

Pic. Goalnepal

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ